२०८२ श्रावण ३ शुक्रबार
LATEST NEWS
२०८२ श्रावण ३ शुक्रबार

अब तपाईँको तर्फबाट फोन कल पनि गर्न सक्छ गुगलको एआई

 

काठमाडौँ । गुगलले आफ्नो सर्च इन्जिनमा नवीनतम आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सुविधा रोलआउट गर्न सुरु गरेको छ । यससँगै अब संयुक्त राज्य अमेरिकाभर रहेका प्रयोगकर्ताहरूले एआई प्रयोग गरी स्थानीय व्यवसायहरूमा फोन गर्न सक्नेछन् । यी नयाँ सुविधाले प्रयोगकर्ताहरूलाई समय बचाउन र थप जटिल जानकारी प्राप्त गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ ।

एआईमा आधारित फोन कल सुविधा

एआई प्रयोग गरेर स्थानीय व्यवसायहरूलाई फोन गर्न सकिने नयाँ विकल्प सर्चमा उपलब्ध गराइएको छ । जसले प्रयोगकर्ताहरूलाई फोनमा कुरा नगरिकन मूल्य वा उपलब्धताको जानकारी प्राप्त गर्ने कार्यमा एआईलाई लगाउने अनुमति दिन्छ ।

यद्यपि यो सुविधा हाललाई घरपालुवा जनावर ग्रुमर (जनावरहरूको कपाल काट्ने, नुहाइदिने, सफा गरिदिने स्थान), अटो पसल, ड्राइ क्लिनर लगायतका निश्चित प्रकारका व्यवसायहरूका लागि मात्र उपलब्ध छ । अब यसले कसरी काम गर्छ भन्ने बुझौँ ।

उदाहरणका लागि मानौँ तपाईँ ‘Pet groomer near me’ सर्च गर्नु हुन्छ । गुगलले व्यवसाय सूची अन्तर्गत नयाँ ‘have AI check pricing’ अर्थात् ‘एआईलाई मूल्य जाँच गर्न लगाउनुहोस्’ भन्ने विकल्प देखाउँछ ।

त्यसपछि गुगलले तपाईँको अनुरोधबारे थप जानकारी सोध्नेछ, जस्तै तपाईँसँग कस्तो प्रकारको घरपालुवा जनावर छ, त्यसको नस्ल र तपाईँलाई कस्ता सेवा चाहिन्छ आदि । यसले तपाईँलाई कहिले सेवा चाहिन्छ र कसरी अपडेट प्राप्त गर्न चाहनुहुन्छ (जस्तै ईमेल वा मेसेज) भनेर पनि सोध्छ ।

गुगल सर्चका प्रोडक्ट भीपी रोबी स्टेनका अनुसार कम्पनीको डुप्लेक्स मोडलले कल गर्नका लागि जेमिनाई प्रयोग गर्दछ । कल गर्ने टुलले आफूलाई ‘ग्राहकको तर्फबाट जानकारी प्राप्त गर्न खोज्ने गुगलको एआई’ भनेर चिनाउनेछ । एआईले आवश्यक जानकारी प्राप्त गरेपछि उपलब्ध समय वा मूल्यबारे टेक्स्ट वा ईमेल मार्फत तपाईँलाई अपडेट दिनेछ ।

फोन कल गर्न झन्झट मान्ने युवा प्रयोगकर्ताहरू माझ यो सुविधा लोकप्रिय हुन सक्ने अपेक्षा गरिएको छ । यद्यपि व्यवसाय धनीहरूले आफ्नो गुगल प्रोफाइल सेटिङहरूमा एआई कलहरू प्राप्त नगर्ने विकल्प रोज्न सक्नेछन् । यो फिचर अन्य देशमा विस्तार गर्ने बारेमा गुगलले स्पष्ट रूपमा खुलाएको छैन ।

गुगलले यस वर्षको सुरुमा एआई मोड सार्वजनिक गरेदेखि नै यसमा नयाँ नयाँ फिचर थप गर्दै लगिरहेको छ । ताकि पर्प्लेक्सिटी एआई र ओपनएआईको च्याटजीपीटी सर्च जस्ता लोकप्रिय प्लेटफर्महरूसँग प्रतिस्पर्धा गर्न सकियोस् ।

पछिल्लो अध्यावधिक: साउन १, २०८२ १७:५





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट