२०८२ श्रावण २ बिहीबार
LATEST NEWS
२०८२ श्रावण २ बिहीबार

सांसद‌को ‘चुम्बन’ भिडिओ फेसबुकमा राखेपछि ज्ञानेन्द्र शाहीका सचिवालय सदस्यमाथि साइबर अपराधको मुद्दा

काठमाडौँ । माओवादीकी एक सांसदको ‘चुम्बन’ गरेको फोटो/भिडिओ फेसबुकमा राखेपछि राप्रपाका युवा नेतामाथि साइबर अपराधको मुद्दा परेको छ । साइबर ब्युरोले गरेको अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयले राप्रपा युवा नेता रमेशबहादुर बागविरुद्ध जिल्ला अदालत काठमाडौँमा साइबर अपराधको मुद्दा दायर गरेको हो ।

यसअघि गएको २० असारमा ती सांसदले आफ्नो व्यक्तिगत फोटो, भिडिओको साथमा जथाभाबी लेखेर पोस्ट गरी चरित्रहत्या गर्ने लगायतका कार्य गरेको भन्दै ब्युरोमा उजुरी दिएकी थिइन् । त्यसको दुई दिनपछि पक्राउ परेका बागमाथि ब्युरोले अनुसन्धान थालेको थियो ।

डोटीको आदर्शनगर-७ का ३१ वर्षीय बागले १८ असारका दिन महिला सांसदका विभिन्न फोटोहरू जोडेर बनाइएको भिडिओ राखेका थिए । जसको क्याप्सनमा लेखिएको थियो, “… मावबादी समानुपातिक सांसद…को किसिङ पछाडिको अपार सफलता पछि टिकट पनि आयछ भिडियो बिस्तारै आउँछ रे ।”

बागको सोही पोस्टलाई लिएर सांसदले साइबर ब्युरोमा उजुरी दिएकी हुन् । यसबाट आफ्नो चरित्रहत्या, अपमान र बेइज्जत गरेको उनको भनाइ छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा अभियुक्त बागले प्रहरीसमक्ष आफ्नो गल्ती स्वीकार गरेका छन् । महिला सांसदको चुम्बन गरेको तस्बिरसहितको भिडिओ जनआस्था साप्ताहिक लगायतका पत्रपत्रिकाहरूमा प्रकाशित भएको र सांसद स्वयंले बनाएर आफ्नो टिकटक अकाउन्टबाट पोस्ट गरेको उनको भनाइ छ । “पोस्ट गरेको देखेपछि उक्त टिकटक अकाउन्टबाट तस्बिर सहितको भिडिओ डाउनलोड गरी मैले प्रयोग गर्दै आइरहेको सामाजिक सञ्जाल फेसबुकको वालमा पोस्ट गरेको हुँ,” उनले भनेका छन् ।

यसअघि १८ असारमा ती महिला सांसदले फेसबुकमा पोस्टमार्फत जनआस्थाको समाचारको खण्डन गरेकी थिइन् । जनआस्था पत्रिकाले आफ्नो चरित्रहत्या गर्ने नियतले काल्पनिक नामबाट एआई प्रविधिको दुरुपयोग गरी प्रकाशन गरिएको फोटो सहित झुटो समाचार राखेको उनको भनाइ थियो । तर बागविरुद्ध साइबर ब्युरोमा दायर उजुरीमा भने उनले कतै पनि एआई प्रविधि प्रयोग गरी उक्त फोटो बनाइएको उल्लेख गरेकी छैनन् ।

बाग सुदूरपश्चिम प्रदेशका लागि राप्रपाको सूचना तथा सञ्चार प्रविधि प्रमुख र राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ युवा सङ्गठनका केन्द्रीय सदस्य हुन् । पछिल्लो समय उनी सांसद ज्ञानेन्द्र शाहीको निजी सचिवालय सदस्यको रूपमा समेत रहेका थिए ।

प्रतिनिधिसभामा राप्रपाको प्रमुख सचेतकसमेत रहेका ज्ञानेन्द्र शाहीले फेसबुकमा लेख्दै उल्टै माओवादीकी सांसदमाथि दोष लगाएका छन् । उनले भनेका छन्, “… समानुपातिक सांसदले काण्ड आफै मच्चाउने, उक्त काण्डको भिडिओ, आफैँ पोस्ट गर्ने, एउटा राष्ट्रिय साप्ताहिक पत्रिकामा लेख्न आफैँ लगाउने । तर उक्त लेखेको लेख र भिडिओ के हो भनी प्रश्न गर्दा मान्छेलाई थुन्ने, यस्ता लोकतान्त्रिक गतिविधिको हामी घोर भर्त्सना गर्दछौँ ।”

बाग पक्राउको विषयलाई लिएर राप्रपाले विज्ञप्ति नै निकालेको थियो । २३ असारको उक्त विज्ञप्तिमा सञ्चार माध्यममा प्रकाशित सामग्री सामाजिक सञ्जालमा शेयर गरेकै आधारमा पक्राउ गरिएको भन्दै पार्टीले आफ्ना कार्यकर्ताको रिहाइको माग गरेको थियो । 

अभियोग पत्रमा बागले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ (१) बमोजिमको कसुर गरेको ठहर छ । उक्त दफामा कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरूमा गैरकानुनी सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबिचको सम्बन्ध खलल पार्ने किसिमका सामग्री प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गराउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

सरकारी वकिल कार्यालयले बागलाई सोही ऐनबमोजिम सजाय गर्न, उनको साथबाट बरामद भएको मोबाइल जफत गर्न र पीडित सांसदलाई मनासिव क्षतिपूर्ति भराउन मागदाबी लिएको छ ।

पछिल्लो अध्यावधिक: साउन १, २०८२ १४:४१





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट