२०८२ श्रावण ३ शुक्रबार
LATEST NEWS
२०८२ श्रावण ३ शुक्रबार

नेपालमा सीओपीडी: के हामी पुरानो श्वासप्रश्वास रोगको केन्द्र बन्दैछौं ?

नेपालमा पुरानो श्वासप्रश्वास सम्बन्धी रोग अर्थात् क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी) को भार दिनानुदिन गहिरिँदो देखिन्छ। स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) र ग्‍लोबल बर्डन अफ डिजिज (जीबीडी) २०१९ को प्रतिवेदनअनुसार नेपालमा कुल मृत्युमध्ये ७० प्रतिशतभन्दा बढी मृत्यु नसर्ने रोगका कारण भएको देखिन्छ। तीमध्ये मुटु सम्बन्धी रोगले करिब २४ प्रतिशत र सीओपीडीले २१ प्रतिशत जनशक्ति गुमाएको छ। यो तथ्यांक स्वयंमा एउटा चेतावनी हो कि नेपालजस्तो मध्यम आय भएका देशहरूमा श्वासप्रश्वाससम्बन्धी रोग अब केवल वृद्धहरूमा सीमित नरही, एक सार्वजनिक स्वास्थ्य संकट बन्दै गएको छ।

सीओपीडी सामान्यतया फोक्सोको दीर्घकालीन क्षति र श्वासप्रश्वासको कठिनाइसँग सम्बन्धित  छ । रोगको मुख्य लक्षणहरूमा लगातार खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, र सामान्य काम गर्दा समेत थकाई लाग्ने जस्ता समस्या पर्छन् । यो अवस्था दीर्घकालीन हुन्छ, र प्रायः उपचार सम्भव हुँदाहुँदै पनि जनचेतना, पहिचान, र समयमै उपचार नपुग्दा रोग गम्भीर चरणमा पुग्ने गर्छ ।

संक्रामक रोगहरुमा जस्तो यो रोगमा एकपटक औषधी सेवन गरेर पूरा निको भने हुँदैन । लामो समयसम्म औषधी सेवन, दैनिकी जीवनको उचित व्यवस्थापन एवम् केही थेरापीको समेत आवश्यकता पर्न सक्दछ । 

नेपालमा सीओपीडी को प्रमुख कारणहरू मध्ये घरेलु वायु प्रदूषण पहिलो स्थानमा आउँछ । दाउरा, गोबर, परालजस्ता परम्परागत इन्धनको प्रयोग अझै पनि ग्रामीण क्षेत्रमा व्यापक छ, जसको सीधा असर विशेषतः महिलाहरूको श्वासप्रश्वास प्रणालीमा पर्ने गरेको छ। त्यस्तै, सहरी क्षेत्रमा भने बाह्य वायु प्रदूषण (सवारी साधन, निर्माण कार्य, र इँटाभट्टाहरू) प्रमुख कारक बनेका छन्। अध्ययनहरूमा उल्लेख गरिएको छ कि सहरी वायुमा हुने सूक्ष्म कण (पीएम २.५) को मात्रा विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको सीमा भन्दा दोब्बरभन्दा बढी छ ।

धूम्रपान अर्को गम्भीर समस्या हो। विशेषतः पुरुषहरूमा धूम्रपानको प्रचलन व्यापक छ। अनुसन्धानहरूले देखाएका छन् कि नेपालमा सीओपीडी बिरामीमध्ये झण्डै ६० प्रतिशत हाल पनि धूम्रपान गर्नेहरू हुन्। महिलाहरूमा पनि परोक्ष धूम्रपान -सेकेन्डहेन्ड स्मोक) को असर गम्भीर रूपमा देखिएको छ। यो रोग खासगरी ४० वर्षमाथिका व्यक्तिमा बढी देखिन्छ, तर पछिल्लो समय युवावर्गमा पनि प्रारम्भिक लक्षणहरू देखिन थालेका छन्। यसले जनाइरहेको छ कि जोखिम कारकहरू अझै नियन्त्रणमा छैनन्, र समस्या थप जटिल बन्दैछ।

सीओपीडीको वृद्धिको अर्को खतरनाक पक्ष भनेको यसले अन्य गैर-संक्रामक रोगहरूसँग जोडिएर देखा पर्ने प्रवृत्ति हो। उच्च रक्तचाप, मुटु सम्बन्धी रोग, मधुमेह आदिसँग यस रोगको सहअवस्थिति काे-मर्विलिटी हुनाले मृत्यु दर अझै उच्च हुने गरेको पाइन्छ। साथै, यसले उत्पादक उमेरका व्यक्तिहरूलाई असर गर्दा राष्ट्रिय श्रमशक्ति र अर्थतन्त्रमा पनि प्रत्यक्ष असर पार्ने गर्छ।

सन् २०२३ मा जेएएमए नेटवर्क ओपनमा प्रकाशित अध्ययनले २०५० सम्ममा सीओपीडी का समस्याहरु २३ प्रतिशतले बढ्ने भविष्यवाणी गरेको छ। यसले स्पष्ट पार्छ कि नेपालजस्ता मध्यम तथा अल्पविकसित देशहरूमा जोखिम अझ बढी रहन्छ, जहाँ वायु प्रदूषण र स्वास्थ्य सेवा पहुँचको अभाव छ। नेपालमा हालसम्म सीओपीडी का लागि कुनै स्पष्ट नीतिगत कार्यक्रम देखिएको छैन, र जनस्वास्थ्यका लागि यो एक मौन महामारी बन्दै गएको संकेत मिलेको छ।

अहिलेको परिस्थितिमा समाधानका उपायहरू बहुआयामिक हुन आवश्यक छ। पहिलो, सार्वजनिक चेतनामूलक कार्यक्रम सञ्चालन गरेर रोगको सुरुवाती लक्षणबारे जानकारी दिनुपर्छ। दोस्रो, स्वास्थ्य संस्थाहरूमा स्पाइरोमेट्रीजस्ता परीक्षण उपकरणहरू सरल रूपमा उपलब्ध गराइनुपर्छ ताकि प्रारम्भिक अवस्थामा रोगको पहिचान गर्न सकियोस्। तेस्रो, वायु प्रदूषण नियन्त्रणका लागि कडाइका साथ वातावरणीय नियमहरूको कार्यान्वयन गरिनुपर्छ। सहरी योजनामा हरियाली प्रवर्द्धन, सार्वजनिक यातायातको सुधार, र निर्माण व्यवसायमा  धुलो नियन्त्रण अनिवार्य गर्नुपर्ने देखिन्छ।

सरकार, नागरिक समाज, र जनस्वास्थ्यका सरोकारवालाहरूको साझा प्रयासबिनाको सीओपीडी नियन्त्रण असम्भवप्रायः छ। यदि हामीले अहिलेबाटै सतर्कता नअपनाउने हो भने, केही दशकपछि नेपाल दक्षिण एशियामै सीओपीडी को केन्द्र बन्न सक्ने गम्भीर सम्भावना देखिन्छ। त्यसैले, सीओपीडी विरुद्धको लडाइँ अब चिकित्सा क्षेत्रसम्म सीमित नरही, नीतिगत प्राथमिकता र सामुदायिक क्रियाशीलताको सवाल बन्न पुगेको छ।

(लेखक आयुर्वेद चिकित्सक एवं स्वास्थ्य अनुसन्धानकर्ता हुन्  )

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट