काठमाडौँ । सोमबारदेखि सामाजिक सञ्जाल टिकटक र फेसबुकमा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले प्रमुख बालेन्द्र शाह (बालेन) सँग माफी मागेको दाबी गरिएको एउटा भिडिओ भाइरल बनिरहेको छ ।

उक्त दाबीलाई विश्वासिलो देखाउन भिडिओमा विभिन्न क्लिपहरू जोडिएका छन् । तर, टेकपाना फ्याक्टचेकले उक्त भिडिओलाई भ्रामक ठहर्याएको छ । उपप्रमुख डङ्गोलले महानगरको बजेट ल्याउन ढिलाइ भएकोमा नगरवासीसँग माफी मागेको भनाइलाई तोडमोड गरेर बालेनसँग माफी मागेको जस्तो देखाइएको हो ।
दाबी
टिकटकमा अङ्केत युजरनेम र बीपी यादव नाम भएका प्रयोगकर्ताको अकाउन्टबाट १४ जुलाई २०२५ (३० असार २०८२) का दिन क्याप्सनमा ‘सही’ लेखिएको एउटा भिडिओ अपलोड भयो । भिडिओमा लेखिएको छ, “बल आखा खुलियो, सुनिता ज्यु लाई ।”

त्यसको तलपट्टि लेखिएको छ, “बालेन सरकार संग माफी माग्दै । सबै जना एक जुट भएर अगाडी बढ्नु पर्छ ।”
भिडिओमा सुनिता डङ्गोलले “बैठकका सभाध्यक्ष काठमाडौँ महानगरपालिकाका प्रमुख श्री बालेन्द्र शाह ज्यू, मेरो व्यक्तिगत तर्फबाट र नगरसभाका सदस्य ज्यूहरूको तर्फबाट महानगरवासी र सरोकारवाला निकाय समक्ष क्षमा याचना गर्दछौँ । हाम्रो सहयात्रा तीन वर्ष पुगिसकेको छ । जनताका अपेक्षाहरू धेरै छन् । अबका दिनमा हामी महानगरवासीलाई आफ्नो सामर्थ्यले भ्याए सम्मको काम गर्ने प्रण यसै सभा मार्फत गर्न चाहन्छु । आरोप प्रत्यारोप पनि भए । सबै कुरा मन्थन हुदै गइरहेको छ । समस्याको समाधान पनि निक्लदै गइरहेको छ र आज हामी फेरि एक ढिक्का भएर यस गरिमामय सभामा उपस्थित भएका छौँ ।”
यो सामग्री तयार पार्दासम्म उक्त भिडिओमा साढे ३४ हजार बढी लाइक, ८०० बढी कमेन्ट र ८४२ पटक शेयर भएको छ भने ६ लाखभन्दा बढी भ्युज छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनसट ।
अनुसन्धान
बीपी यादव नामक प्रयोगकर्ताले टिकटकमा राखेको भिडिओपछि टेकपाना फ्याक्ट चेक डेस्कले त्यस्तै प्रकृतिका अन्य भिडिओ खोज्यो । त्यस क्रममा सोमबार मध्यराति ‘एजीएस माउन्टेन’ नामक टिकटक अकाउन्टले भिडिओ राखेको फेला पर्यो । उक्त भिडिओको माथिपट्टि ‘३ महिना अघी’ लेखिएको छ । बीचमा ‘अहिलेः’ लेखिएको छ र उपप्रमुख सुनिता डङ्गोल देखिने नयाँ भिडिओ राखिएको छ ।
पहिलो भिडिओमा सुनिता डङ्गोलले “स्टन्ट गरेर देश बन्छ ? देश बनाउने हो भने योजना अनुरूप काम गर्नुपर्छ । काममा इमान्दारीता हुनुपर्छ” भनेको सुनिन्छ । यो वास्तविक भिडिओ हो । त्यसभन्दा तल अर्को नयाँ भिडिओ राखेर देखाइएको छ । उक्त भिडिओमा उपप्रमुख डङ्गोलले “काठमाडौँ महानगरपालिकाका प्रमुख श्री बालेन्द्र शाह जू, मेरो व्यक्तिगत तर्फबाट र नगरसभाका सदस्य ज्यूहरूको तर्फबाट महानगरवासी र सरोकारवाला निकाय समक्ष क्षमा याचना गर्दछौँ ।” भनेको देखाइएको छ । यो फ्याक्टचेक सामग्री तयार पार्दासम्म उक्त भिडिओमा ३१ हजार बढी लाइक, ९५२ कमेन्ट, २८९४ बढी शेयर र पाँच लाख ५० हजारभन्दा बढी भ्युज आएको छ । हेर्नुहोस् ओरिजिनल भिडिओ, आर्काइभ भिडिओ र स्क्रिनशट ।
यही भिडिओ फेसबुकमा ‘युनिक लम्साल’ नामक प्रयोगकर्ताले पनि राखेका छन् । सो भिडिओको क्याप्सनमा लेखिएको छ, “बालेन लाई घुडा टेकाउछु भन्ति अहिले आफैंले घुडा टेकिछे : केपी को नातिनी ।” यो सामग्री तयारी गर्दासम्म यसमा २८ हजार बढी लाइक, ८०७ कमेन्ट र ७ लाख १५ हजार बढी भ्युज आएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।
राजु अधिकारी नामक अर्का फेसबुक प्रयोगकर्ताले भिडिओ राख्दै लेखेका छन्, “बालेनलाई घुडा टेकाउछु भन्नेको हालत माफि मा सिमित रहयो । जब आफ्नो बौधिक्ताले सक्दैननि त्यहा बालेन काफि छ ।” हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।
फेसबुकमा ‘बालेन’, ‘सुनिता’, ‘माफी’ जस्ता कीवर्ड सर्च गर्दा यस्ता तमाम भिडिओ भेटिन्छन् । भिडिओ त्यही छ, तर राख्ने प्रयोगकर्ता अनेक छन् । ती भिडिओ र पोस्ट हेर्न यहाँ क्लिक गर्न सक्नुहुन्छ ।
यी भिडिओको दाबी प्रमाणित गर्न टेकपाना फ्याक्ट चेक डेस्कले आइतबारको काठमाडौँ महानगरपालिका नगरसभाको १७ औँ अधिवेशनमा आगामी आर्थिक वर्षको विनियोजन कार्यक्रमको प्रत्यक्ष प्रसारण भिडिओ विश्लेषण गर्यो । एक घण्टा २५ मिनेट बढीको लाइभ भिडिओमा उपप्रमुख डङ्गोल ५० मिनेट ३ सेकेन्डदेखि बोल्न सुरु गर्छिन् ।
५५ मिनेट ५ सेकेन्डदेखि ५० मिनेट १० सेकेन्डसम्म गरी उपप्रमुख डङ्गोलले प्रमुख बालेनलाई सम्बोधन गर्न जम्मा पाँच सेकेन्ड खर्चिन्छिन् । त्यसपछि नगरसभाका सदस्य, बैठकका सचिव, कर्मचारी लगायतलाई सम्बोधन गर्छिन् । यति भनिसकेपछि उनी सहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्छिन् ।
यसरी प्रमुख बालेनले आर्थिक वर्ष २०८२/०८३ बजेट तथा तथा कार्यक्रम, आर्थिक विधेयक २०८२ र विनियोजन विधेयक २०८२ प्रस्तुत गर्न अनुरोध गरेपछि उपप्रमुख डङ्गोल १ घण्टा २४ मिनेट ३० सेकेन्डसम्म बोल्छिन् । उनको वक्तव्य कूल ३४ मिनेट २७ सेकेन्डसम्म चल्छ । त्यस क्रममा उनले उच्चारण गरेको ‘क्षमा याचना’ शब्द ५२ मिनेट १६ सेकेन्डमा सुनिन्छ ।
जहाँ उनले समयमै आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट पेस गर्न नसकेकोमा आफ्नो व्यक्तिगत र नगरसभाका सदस्यहरूको तर्फबाट महानगरवासी र सरोकारवाला निकाय समक्ष क्षमा गरेकी छिन् ।
यसरी बालेनलाई सम्बोधन गरेपछिको भाग हटाएर सोझै बालेनसँग माफी मागेको देखाउन भिडिओ तोडमोड गरेको पाइयो ।
हेर्नुहोस् वास्तविक भिडिओ पनि ।
यस्तो छ उपप्रमुख डङ्गोलले सम्बोधनदेखि क्षमा याचना गरेकोसम्म बोलेको स्क्रिप्टः
ज्योज्योलप्पा, नमस्कार । बैठकका सभा अध्यक्ष काठमाडौँ महानगरपालिकाका प्रमुख श्री बालेन्द्र शाह ज्यु,नगर सभाका सदस्य ज्युहरू, बैठकका सचिव ज्यु, काठमाडौँ महानगरपालिकाका कर्मचारी मित्रहरू, विभिन्न क्षेत्रको प्रतिनिधित्व गरी नगर सभामा उपस्थित रहनुभएका सम्पूर्ण विशिष्ट महानुभावहरू, साङ्केतिक भाषाका माध्यम र अन्य माध्यमबाट यस कार्यक्रमलाई सम्प्रेषण गर्नुहुने सञ्चारकर्मी मित्रहरू, स्वदेश तथा विदेशबाट यस कार्यक्रमको प्रत्यक्ष प्रसारणमा जोडिनुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक स्वागत एवं न्यानो अभिवादन व्यक्त गर्दछु । सर्वप्रथम यसै महत्वपूर्ण अवसरमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनाका लागि आफ्नो अमूल्य जीवन आहुति दिनुहुने अमर सहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । आज हामी काठमाडौँ महानगरपालिकाको नगरसभाको १७ औँ अधिवेशनको पहिलो बैठकमा उपस्थित भएका छौँ । यस बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक नीति तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयक पेस गरी छलफल गर्ने क्रममा छौँ । सभा अध्यक्ष ज्यु तथा नगरसभाका सदस्य ज्युहरूआगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति, कार्यक्रम तथा बजेट पेस गर्ने सन्दर्भमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा भएको समय सीमाभन्दा हामी केही ढिला भएका छौँ । विगतका दिनहरूमा हामी बीच केही अविश्वास, केही तीता मिठा अनुभवहरूप्रस्तुत भए । आरोप प्रत्यारोप पनि भए । सबै कुरा मन्थन हुँदै गइरहेको छ । समस्याको समाधान पनि निक्लँदै गइरहेको छ । र आज हामी फेरि एक ढिक्का भएर यस गरिमामय सभामा उपस्थित भएका छौँ । समयमै आगामी आर्थिक वर्षको नीति कार्यक्रम र त्यसैगरी बजेट सभामा पेस गर्न नसकेकोमा मेरो व्यक्तिगत तर्फबाट र नगरसभाका सदस्य ज्युहरूको तर्फबाट महानगरवासी र सरोकारवाला निकाय समक्ष क्षमा याचना गर्दछौँ । ढिलै भए पनि आगामी आर्थिक वर्षको वार्षिक…
माथिको स्क्रिप्टमा बोल्ड गरिएको भागलाई जोडेर भिडिओ बनाइएको देखिन्छ ।
यस बाहेक कुनै पनि सञ्चार माध्यमले उपप्रमुख डङ्गोलले माफी मागेको भन्ने विषयमा समाचार राखेका छैनन । भाइरल भएको भिडिओमै पनि असान्दर्भिक र पुराना क्लिप बिरोलका रूपमा प्रयोग गरिएका छन् भने उपप्रमुख डङ्गोलले बोलेको सम्बोधनको भागबाट बालेन बाहेक अरूलाई सम्बोधन गरेको भाग हटाइएको छ र भाषणको सुरुवात बिचैमा अमिल्दो तरिकाले काटेर राखेको सुनिन्छ । यी विभिन्न पक्षलाई विश्लेषण गर्दा उपप्रमुख सुनिता डङ्गोलले प्रमुख बालेनसँग माफी मागेको जस्तो देखाउन भिडिओ एडिट गरिएको छ ।
दाबी
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले प्रमुख बालेन्द्र शाह (बालेन) सँग माफी मागिन् !
दाबीकर्ता
बीपी यादव, एजीएस माउन्टेन नामक टिकटक आईडी र युनिक लम्साल, राजु अधिकारी लगायतका फेसबुक प्रयोगकर्ता ।
तथ्य
भाइरल भिडिओमा जस्तो उपप्रमुख सुनिता डङ्गोलले प्रमुख बालेन शाहसँग माफी मागेकी छैनन् । उनले काठमाडौँ महानगरपालिकाको नगरसभाको १७ औँ अधिवेशनमा वार्षिक नीति, कार्यक्रम तथा बजेट तोकिएको समयभन्दा ढिलो पेस भएकोमा महानगरवासी र सरोकारवाला निकाय समक्ष क्षमा याचना गरेकी थिइन् । भाइरल भिडिओमा, उनले भाषणको सुरुमा प्रमुख बालेनलाई सम्बोधन गरेको अंश र करिब दुई मिनेटपछि बजेट ढिलाइबारे क्षमा मागेको अंशलाई जोडेर (एडिट गरेर) बालेनसँगै माफी मागेको जस्तो देखाइएको छ ।
निष्कर्ष
सुनिता डङ्गोलले बालेनसँग माफी मागेको भनी भाइरल भएको दाबी गलत र भ्रामक छ । भिडिओलाई तोडमोड (एडिट) गरेर उनले बजेट ल्याउन ढिलाई भएकोमा नगरवासीसँग मागेको माफीलाई बालेनसँग मागेको जस्तो देखाइ भ्रम फैलाइएको छ ।
प्रतिक्रिया
तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।
पछिल्लो अध्यावधिक: असार ३२, २०८२ १२:५९
सामाग्री श्रोत :
टेक पाना