काठमाडौँ । भोलि १ साउनदेखि देशका दुई ठुला वालेट कम्पनी आईएमई पे र खल्ती मर्ज हुँदैछन् । मर्जरपछि आधिकारिक नाम ‘खल्ती’ नै रहने गरी सञ्चालन हुने वालेटमा हाल कम्पनीले डेटाहरू स्थानान्तरण गर्ने काम गरिरहेको छ ।

यो मर्जरसँगै खल्तीका भेरिफाइड प्रयोगकर्ताको सङ्ख्या ५० लाखभन्दा बढी पुग्ने बताइएको छ । योसँगै चुक्ता पुँजी र प्रयोगकर्ता आधार दुवै हिसाबले नेपालको सबैभन्दा ठुलो र बलियो डिजिटल वालेटको रूपमा खल्ती स्थापित हुने दाबी गरिएको छ ।
के तपाईँ खल्ति र आईएमई पे दुवै वालेट चलाउनु हुन्छ वा आईएमई पे मात्रै प्रयोग गरिरहनु भएको छ ? वालेट कसरी मर्ज हुन्छ अनि आफूले के गर्नुपर्छ भन्ने सोचिरहनु भएको होला । आज हामी आईएमई पे वालेटलाई खल्तीमा मर्ज गर्ने तरिका बताउँदै छौँ ।
तर यहाँ बुझ्नुपर्ने कुरा भनेको यदि तपाईँ खल्ती एप मात्रै प्रयोग गरिरहनु भएको छ भने छुट्टै केही गरिरहनु पर्दैन । आईएमई पेमा भएका अतिरिक्त फिचहरू पनि नयाँ अपडेटसँगै खल्तीको विद्यमान एपमै प्रयोग गर्न पाउनुहुनेछ ।

तर यदि तपाईँ आईएमई पे वालेट मात्र प्रयोग गर्नुहुन्छ वा दुवै वालेट प्रयोग गर्नुहुन्छ भने तपाईँले आफ्नो आईएमई पेको खाता खल्तीमा मर्ज गर्नुपर्ने हुन्छ । यसका लागि कम्पनीले दुवै वालेटमा मर्जको विकल्प दिइसकेका छन् । मर्जर भइसकेपछि तपाईँको आईएमई पेमा भएको रकम, ब्याज र रिवार्ड पोइन्ट स्वत: खल्तीमा आउने छ ।
आईएमई पे वालेटलाई खल्तीसँग मर्ज गर्ने तरिका
– सुरुमा आफ्नो आईएमई पे एप खोल्नुहोस् । त्यहाँ ‘आफ्नो IME Pay Wallet’ लाई आजै Khalti Wallet सँग मर्ज गर्नुहोस्’ भनेर लेखिएको सन्देशसँगै भएको ‘merge now’ विकल्पमा ट्याप गर्नुहोस् । यदि खल्ती एपबाट मर्ज गर्न चाहनुहुन्छ भने एपभित्र गएर स्क्रिनको सबैभन्दा माथि दायाँतिर रहेको आईएमई पेको लोगोमा ट्याप गर्नुहोस्
– यसपछि स्क्रिनमा खल्ती एपमा मर्ज भइसकेपछि हुने फाइदाहरूका विषयमा जानकारी दिइएको पेज खुल्छ । उक्त पेजको सबैभन्दा तल दायाँतिर भएको रातो एरोमा ट्याप गर्नुहोस् ।
– अब तपाईँको खाताको विवरण; नाम, नम्बर, ईमेल, जन्म मिति सहित तपाईँका परिचयपत्रहरू देखा पर्नेछन् । त्यहाँ स्क्रिनको तल भएको ‘Proceed’ आइकनमा ट्याप गर्नुहोस् ।
– यति गरिसकेपछि खल्ती एपतर्फ रिडाइरेक्ट गरिन्छ । त्यहाँ पनि ‘Proceed’ अप्सनमा ट्याप गर्नुहोस् ।
– अब तपाईँको मोबाइल नम्बरमा एउटा ओटीपी कोड आउँछ । उक्त कोड राखेर ‘Continue’ अप्सनमा ट्याप गर्नुहोस् ।
– ओटीपी भेरिफाई भइसकेपछि तपाईँको डेटा माइग्रेट हुनका लागि तयार भयो भन्ने पेज देखिन्छ । तर यदि तपाईँको डेटा एकअर्कासँग मेल खाएन भने तल तस्बिरमा देखाइएको जस्तो पेज खुल्छ । त्यहाँ गएर तपाईँले म्यानुअल भेरिफिकेसनका लागि अनुरोध गर्न सक्नुहुन्छ । यसका लागि भने केही समय लाग्नसक्छ । तपाईँको अुनरोधको आधारमा कम्पनी प्रतिनिधिले तपाईँलाई सम्पर्क गर्नेछन् ।
– डेटा मेल खाएको खण्डमा भने अन्तिम पटक आफ्नो विवरण रुजु गर्न अनुरोध गरिन्छ । सबै विवरण जाँच गरेर ‘Confirm’ मा ट्याप गर्नुहोस् ।
– यति भएपछि पुन: स्क्रिनमा आईएमई पेबाट खल्तीमा के के माइग्रेट भयो भन्ने जानकारी आउँछ । जहाँ वालेटको रकम, केवाईसी विवरण, कारोबारको विवरण र रिवार्ड पोइन्ट रहनेछन् । अब फेरि ‘Confirm’ मा ट्याप गर्नुहोस् ।
– स्क्रिनमा खाता मर्ज गर्ने सहमतिको रूपमा एउटा पपअप सम्झौतापत्र जस्तो आउँछ, जसमा भएको दुवै अप्सनमा टिक गरेर ‘confirm’ मा ट्याप गर्नुहोस् ।
– अब ‘Start the Journey’ मा ट्याप गर्नुहोस् । यसरी तपाईँले आफ्नो आईएमई पे वालेटको खाता खल्तीमा मर्ज गर्न सक्नुहुन्छ ।
अहिलेसम्म युजर इन्टरफेसमा केही परिवर्तन देखिएको छैन । यद्यपि एपमा केही नयाँ फिचरहरू थप भएको देख्न सकिन्छ । खल्ती प्रयोगकर्ताहरूका लागि खास केही नौलो देखिने कुराहरू छैनन् । यद्यपि आफ्नो प्रोफाइल आइकनसँगै आईएमईपेको ब्याज रकम देख्न सकिनेछ । योसँगै अन्य फिचरहरू पनि थप हुने वा इन्टरफेस परिवर्तन हुनसक्ने अनुमान गर्न सकिन्छ ।
पछिल्लो अध्यावधिक: असार ३२, २०८२ १६:४५
सामाग्री श्रोत :
टेक पाना