काठमाडौँ । विश्वकै चर्चित सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकको मातृ कम्पनी मेटाले आफ्नो प्लेटफर्ममा नक्कल गर्ने तथा अनओरिजिनल सामग्री पोस्ट गर्ने अकाउन्टहरू माथि थप कडाइ गर्ने भएको छ । युट्युबले ‘नक्कली’ र ठुलो मात्रामा उत्पादित तथा दोहोरिएका भिडिओबारे नयाँ नीति लिएसँगै मेटाले यस्तो घोषणा गरेको हो ।

मेटाका अनुसार यस वर्ष मात्रै ठुला कन्टेन्ट क्रियटरहरूको नाममा बनाइएका १ करोड नक्कली अकाउन्ट बन्द गरिसकिएको छ । साथै, ‘स्पामी व्यवहार’ वा ‘नक्कली इङ्गेजमेन्टमा संलग्न ५ लाख अकाउन्टहरूमाथि कारबाही गरिएको छ ।
जसमा यस्ता अकाउन्टहरूका कमेन्टलाई निरुत्साहित गर्ने र उनीहरूको सामग्रीको वितरण घटाएर आम्दानी गर्नबाट रोक्ने जस्ता उपायहरू सामेल छन् । मेटाको मुख्य ध्यान अरूको सामग्रीलाई रिःपोस्ट गर्ने, विशेष गरी स्पाम अकाउन्ट वा मौलिक क्रियटरको नक्कल गर्ने अकाउन्टहरूमा केन्द्रित छ ।
कम्पनीले बारम्बार अरूको कन्टेन्ट दुरुपयोग गर्ने अकाउन्टहरूले निश्चित अवधिका लागि फेसबुकको मनिटाइजेसन कार्यक्रममा पहुँच गुमाउने र उनीहरूका पोस्टहरूको वितरण घट्ने बताएको छ ।

मेटाले यी परिवर्तनहरू आउँदो महिनाहरूमा बिस्तारै लागु हुने बताएको छ, ताकि फेसबुक क्रियटरहरूले समायोजन गर्न समय पाऊन् । यदि क्रियटरहरूलाई उनीहरूको कन्टेन्ट वितरण भइरहेको छैन जस्तो लागेमा फेसबुकको प्रोफेसनल ड्याशबोर्डमा नयाँ पोस्ट-लेभल इनसाइट्समा गएर कारण हेर्न सक्नेछन् । क्रियटरहरूले आफ्नो पेज वा प्रोफेसनल प्रोफाइलको मेन मेनुबाट सपोर्ट होम स्क्रिनमा कन्टेन्ट सिफारिस वा मनिटाइजेसन पेनाल्टीको जोखिममा छन् कि छैनन् भनेर पनि हेर्न सक्नेछन् ।
मेटाले सामान्यतया आफ्नो त्रैमासिक ट्रान्सपरेन्सी रिपोर्टहरूमा कन्टेन्ट हटाउनेबारे जानकारी शेयर गर्छ । पछिल्लो त्रैमासिकमा, मेटाले विश्वभर फेसबुकका मासिक सक्रिय प्रयोगकर्ताहरू मध्ये ३ प्रतिशत फेक अकाउन्ट रहेको बताएको थियो । जनवरीदेखि मार्च २०२५ सम्ममा १ अर्ब नक्कली अकाउन्टहरूमाथि कारबाही गरिएको थियो ।
पछिल्लो अध्यावधिक: असार ३१, २०८२ १३:५४
सामाग्री श्रोत :
टेक पाना