काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो व्यक्तिगत वेबसाइट सञ्चालनमा ल्याएकी छिन् । भण्डारीको सचिवालयले एक प्रेस विज्ञप्ति जारी गर्दै वेबसाइटको बारेमा जानकारी दिएको हो ।

मङ्गलबार औपचारिक रूपमा सार्वजनिक विद्याभण्डारी डटकम डट एनपी (bidyabhandari.com.np) नामक उक्त वेबसाइटमा उनको सार्वजनिक जीवन, राजनीतिक योगदान, राष्ट्रपतिको रूपमा निर्वाह गरेका भूमिका, अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागिता, विचार तथा अभिव्यक्ति लगायतका सामग्री राखिएका छन् ।
यो वेबसाइट पूर्व राष्ट्रपति भण्डारीको समग्र राजनीतिक यात्राको दस्तावेजीकरण मात्र नभएर लोकतान्त्रिक मूल्य, समावेशी राजनीति, लैङ्गिक समानता, समाजवाद उन्मुख मार्गचित्र तथा अन्तर्राष्ट्रिय मित्रता प्रवर्द्धनमा उनले पुर्याएको योगदानलाई स्मरणीय र सन्दर्भयोग्य बनाउने उद्देश्यले तयार पारिएको सचिवालयले जनाएको छ ।
समकालीन राजनीति र इतिहासमा चासो राख्ने शोधकर्ता, विद्यार्थी, पत्रकार तथा आमनागरिकका लागि यो वेबसाइट सन्दर्भ सामग्रीको भरपर्दो स्रोत बन्ने विश्वास लिइएको छ । साथै वेबसाइटमा समावेश सामग्रीहरू समयानुकूल थप, परिमार्जन र अद्यावधिक गरिँदै लैजाने योजना समेत रहेको बताइएको छ ।

पछिल्लो अध्यावधिक: असार ३१, २०८२ २२:२०
सामाग्री श्रोत :
टेक पाना