२०८२ भाद्र १३ शुक्रबार
२०८२ भाद्र १३ शुक्रबार

काठमाडौँ । प्रहरीले अनलाइन जुवा खेलाउने पाँच जना व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले असार ३० गते मण्डनदेउपुर नगरपालिका वडा नं. ७ नगरकोट स्थित नालडुम भिलेज रिसोर्ट र ग्रिन पिस रेस्टुरेन्टमा अनलाइन जुवा खेलाई रहेको छ भन्ने विशेष सूचनाको आधारमा ती व्यक्तिहरूलाई जुवा खेलाइरहेको अवस्थामा पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा भक्तपुर जिल्लाअन्तर्गतको भक्तपुर नगरपालिका वडा नं. ८ ईमाटोल बस्ने बर्ष ३२ को दिगज नकर्मी, सोही नगरपालिकाको वडा नं. ४ कमलविनायक बस्ने बर्ष २८ को संजिब कुशी र बर्ष २४ को रोशन प्रजापति, सूर्यविनायक नगरपालिका वडा नं. ७ कटुन्जे बस्ने बर्ष २९ को एलिस कुश्म र काठमाडौँ महानगरपालिका वडा नं. १६ शान्तीनगर बस्ने बर्ष ३१ को रोजन महर्जन रहेका छन् ।  

प्रहरीले उनीहरूबाट पाँच थान ल्यापटप र १८ थान मोबाइल बरामद गरेको छ । हाल उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

पछिल्लो अध्यावधिक: असार ३१, २०८२ २२:४७





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो व्यक्तिगत वेबसाइट सञ्चालनमा ल्याएकी छिन् । भण्डारीको सचिवालयले एक प्रेस विज्ञप्ति जारी गर्दै वेबसाइटको बारेमा जानकारी दिएको हो ।

मङ्गलबार औपचारिक रूपमा सार्वजनिक विद्याभण्डारी डटकम डट एनपी (bidyabhandari.com.np) नामक उक्त वेबसाइटमा उनको सार्वजनिक जीवन, राजनीतिक योगदान, राष्ट्रपतिको रूपमा निर्वाह गरेका भूमिका, अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागिता, विचार तथा अभिव्यक्ति लगायतका सामग्री राखिएका छन् ।

यो वेबसाइट पूर्व राष्ट्रपति भण्डारीको समग्र राजनीतिक यात्राको दस्तावेजीकरण मात्र नभएर लोकतान्त्रिक मूल्य, समावेशी राजनीति, लैङ्गिक समानता, समाजवाद उन्मुख मार्गचित्र तथा अन्तर्राष्ट्रिय मित्रता प्रवर्द्धनमा उनले पुर्‍याएको योगदानलाई स्मरणीय र सन्दर्भयोग्य बनाउने उद्देश्यले तयार पारिएको सचिवालयले जनाएको छ ।

समकालीन राजनीति र इतिहासमा चासो राख्ने शोधकर्ता, विद्यार्थी, पत्रकार तथा आमनागरिकका लागि यो वेबसाइट सन्दर्भ सामग्रीको भरपर्दो स्रोत बन्ने विश्वास लिइएको छ । साथै वेबसाइटमा समावेश सामग्रीहरू समयानुकूल थप, परिमार्जन र अद्यावधिक गरिँदै लैजाने योजना समेत रहेको बताइएको छ ।

पछिल्लो अध्यावधिक: असार ३१, २०८२ २२:२०





सामाग्री श्रोत :
टेक पाना

 

काठमाडौँ । पछिल्लो करिब चार वर्षको अवधिमा नेपालभर एक लाख ७० हजारभन्दा बढी स्मार्टफोन हराएका छन् । नेपाल प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६/७७ देखि चालु आर्थिक वर्ष २०८१/८२ को फागुनसम्ममा कुल एक लाख ७० हजार ६५८ थान स्मार्टफोन हराएको भनी प्रहरीमा निवेदन परेको हो ।

यो अवधिमा हराएकामध्ये जम्मा ३५ हजार १७६ थान अर्थात् करिब २०.६१ प्रतिशत मोबाइल मात्र फेला परेका छन् । यसको अर्थ नेपालमा औसतमा १० ओटा स्मार्टफोन हराउँदा जम्मा दुई ओटा मात्र भेटिने गरेका छन् । 

देशकै राजधानीमा पनि फोन हराउने, चोरी हुने र पकेटमारी तीव्र छ । जिल्ला प्रहरी परिसर काठमाडौँले उपलब्ध गराएको विवरण अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा मात्रै काठमाडौँ जिल्लामा १४ हजार ५५० ओटा मोबाइल फोन खोजीका लागि निवेदन परेको छ ।

परिसरका अनुसार तीमध्ये सात हजार ६३ ओटा फोन चोरी भएको, चार हजार ७१७ ओटा हराएको र दुई हजार ७७० थान पकेटमारी भएको उजुरीमा उल्लेख छ ।

हराएका वा चोरी भएका यी मोबाइलमध्ये प्रहरीले चार हजार ९८ थान फेला पारेको छ । बाँकी १० हजार ४५२ फोनको खोजतलास कार्य जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) अपील राज बोहराले जानकारी दिए । काठमाडौँमा हराएका फोन भेटिने दर करिब २८ प्रतिशत देखिन्छ, जुन राष्ट्रिय औसतभन्दा केही बढी हो । यद्यपि हराएका सबै फोनबारे पीडितले निवेदन दिन्छन् भन्ने हुँदैनन् । यहाँ उल्लेख भएका तथ्याङ्क औपचारिक रूपमा प्रहरी कार्यालयमा दिएका निवेदनमा आधारित छ ।

प्रहरीका अनुसार हराएका मोबाइलको खोजी नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस (एमडीएमएस) प्रणालीमार्फत गरिन्छ । सेवाग्राहीले प्राधिकरणको वेबसाइटमा ‘लस्ट/स्टोलन रजिस्ट्रेसन’ फाराम भरेपछि प्रहरीले अनुसन्धान अघि बढाउँछ ।

हराएको मोबाइलमा नयाँ सिम प्रयोग भएमा प्राधिकरणले सोको जानकारीसहितको विवरण प्रहरीलाई उपलब्ध गराउँछ । त्यही नम्बरका आधारमा प्रयोगकर्ता पहिचान गरी प्रहरीले थप अनुसन्धान गर्दछ । तर, प्राधिकरणको एमडीएमएस प्रणालीमा दर्ता नभएका मोबाइल हराएमा भने खोजी गर्न नसकिने प्रहरीले स्पष्ट पारेको छ ।

फोन हराए के गर्ने ?

गुगलको फाइन्ड हबको प्रयोग !

गुगल फाइन्ड हबको प्रयोग फोन वा स्मार्ट डिभाइस हराउनासाथ प्रयोग गर्न सक्नुहुन्छ । घरमै कतै नदेखिने ठाउँमा परेको छ वा कता राखें भन्ने बेलादेखि हरायो भन्ने विश्वस्त हुनका लागि यो एप प्रयोग गर्न सकिन्छ । तर, पहिले नै तपाईंले एन्ड्रोइड डिभाइसमा विभिन्न सेटिङ सेट गर्नुपर्ने हुन्छ ।

गुगलको ‘फाइन्ड हब’ले एन्ड्रोइड डिभाइसको क्राउडसोर्स नेटवर्क प्रयोग गर्दछ । यस नेटवर्कमा तपाईँका एन्ड्रोइड डिभाइसले ब्लुटुथ प्रयोग गरी नजिकका वस्तु स्क्यान गर्छन् र पत्ता लागेका स्थानलाई इन्क्रिप्टेड रूपमा फाइन्ड हबमा पठाउँछन् ।

यसका लागि तपाईँको डिभाइसमा पिन, प्याटर्न वा पासवर्ड सेट गरिएको हुनुपर्छ । अफलाइन खोज्नका लागि विभिन्न सेटिङ उपलब्ध छन् । जसमा ‘With network in high-traffic areas only’ रहेको छ । डिफल्ट रूपमा उपलब्ध हुने यो सेटिङले एयरपोर्ट वा व्यस्त फुटपाथ जस्ता हाई-ट्राफिक भएका क्षेत्रहरूमा हराएको डिभाइस फेला पार्न मद्दत गर्छ ।

त्यस्तै ‘With network in all areas’ सेटिङले हाई-ट्राफिक र लो-ट्राफिक दुवै क्षेत्रमा हराएको डिभाइस पत्ता लगाउन मद्दत गर्छ । यो सुविधा सक्रिय राख्नका लागि फोन बन्द हुँदाको समयमा ब्लुटुथ र लोकेसन अन रहेको हुनुपर्छ । एन्ड्रोइड ८.० वा सोभन्दा तल्ला भर्सनका डिभाइसका लागि भने ‘Store recent location’ सेटिङ अन गर्नुपर्छ ।

फाइन्ड हबको सहयोगमा अब हेडफोन र ब्लुटुथ ट्र्याकर ट्यागहरू जस्ता सहायक उपकरणलाई पनि ट्र्याक गर्न सघाउनेछ । फास्ट पेयर (Fast Pair) प्रयोग गरेर हेडफोनहरू जोड्न सकिन्छ । जबकि ब्लुटुथ ट्र्याकर ट्याग पेयरिङ पूरा भएपछि स्वतः थपिन्छन् । ट्र्याकर ट्याग चाबी, झोला, साइकल जस्ता सामानहरू ट्र्याक गर्न प्रयोग गर्न सकिन्छ ।

फाइन्ड हब सेट अप गर्ने तरिका

तपाईँको मोबाइल डिभाइस हराउनु अघि फाइन्ड हब तयार राख्न निम्न कामहरू गर्नुपर्ने हुन्छ । त्यसका लागि सबैभन्दा पहिले यहाँ क्लिक गरेर एप इन्स्टल गर्नुहोस् ।

हराएको डिभाइस पत्ता लगाउन र सुरक्षित गर्न:

फाइन्ड हब (फाइन्ड माई डिभाइस) को सहयोगमा आफ्नो हराएको फोन तथा अन्य एन्ड्रोइड डिभाइस फेला पार्न निम्न चरणहरू अपनाउनु पर्ने हुन्छ ।

फाइन्ड हब बन्द गर्ने तरिका

यदि कुनै कारणले तपाईँ फाइन्ड हब सुविधा प्रयोग गर्न चाहनु हुन्न र एक्टिभ भएको अवस्थामा त्यसलाई बन्द गर्न चाहनु हुन्छ भने निम्न चरण अपनाउन सक्नु हुन्छ । 

चोरी भएको हो वा हराएकै हो भन्ने भएमा के के गर्ने ?

मोबाइल हराउनु वा चोरी हुनु सामान्य भए पनि फेला पर्ने सम्भावना कमै हुन्छ । तर, एमडीएमएस (MDMS) प्रणाली र अन्य प्रविधिको सही प्रयोगले हराएको फोन पत्ता लगाउन सकिन्छ ।

क) आईएमईआई नम्बरको महत्त्व

हरेक मोबाइलको एउटा छुट्टै पहिचान नम्बर हुन्छ जसलाई आईएमईआई (International Mobile Equipment Identity) भनिन्छ । हराएको वा चोरी भएको मोबाइल फेला पार्न यो नम्बर अत्यन्त महत्त्वपूर्ण छ । यो नम्बर मोबाइल किन्दाको बक्समा वा फोनको डायलप्याडमा *#06# डायल गरेर थाहा पाउन सकिन्छ । यो नम्बरलाई सधैँ लेखेर सुरक्षित राख्नुहोस् । फोन हराएपछि यहाँ उल्लेख भएको प्रक्रिया अपनाएर नेपाल दूरसञ्चार प्राधिकरणमा जानकारी दिनुहोस् । हराएको फोन रिपोर्ट गर्नुपर्‍यो भने यहाँ क्लिक गरेर गरेर दूरसञ्चार प्राधिकरणको हराएको फोन रिपोर्ट गर्ने पेजमा जानुहोस् ।

ख) सामसङको फाइन्ड माई मोबाइल

सामसङ ग्यालेक्सी फोन प्रयोगकर्ताका लागि यो एक प्रभावकारी सुविधा हो।

ग) आईफोन हराउँदा के गर्ने ?

आईफोन हराउनुअघि नै केही महत्त्वपूर्ण सेटिङहरू मिलाएर राख्नुभयो भने पछि त्यसलाई फेला पार्न र आफ्नो डेटा सुरक्षित राख्न निकै सजिलो हुन्छ:

चोरी भएको आईफोनमा ‘Stolen Device Protection’ एक्टिभ गर्नुहोस्:

आईफोन हराएमा वा चोरी भएमा तुरुन्तै गर्नुपर्ने काम

यदि तपाईंको आईफोन हरायो वा चोरी भयो भने तुरुन्तै यी काम गर्नुहोस् !

फाइन्ड माई (Find My) एपबाट लोकेसन पत्ता लगाउनुहोस्:

आवाज बजाउनुहोस्:

लस्ट मोड (Lost Mode) मा राख्नुहोस्:

यदि आईफोन फेला पार्न सकिएन भने के गर्ने ?

यदि तपाईंलाई आईफोन फेला पर्दैन भन्ने लाग्यो भने आफ्नो व्यक्तिगत जानकारी सुरक्षित राख्न यी कदमहरू चाल्नुहोस्:

डिभाइसको डेटा मेटाउनेः 

महत्त्वपूर्ण: यदि तपाईंको ‘AppleCare+ with Theft and Loss’ बीमा छ भने दाबी स्वीकृत नभएसम्म आफ्नो डिभाइसलाई फाइन्ड माईबाट नहटाउनुहोस् । हटाउँदा ‘Activation Lock’ निष्क्रिय हुन्छ, जसले गर्दा चोरले डिभाइस प्रयोग गर्न वा बेच्न सक्छ ।

एन्ड्रोइड वा आईफोन हराउना साथ तुरुन्त गर्नुपर्ने काम

मोबाइल हराउँदा वा चोरी हुँदा ठुलो क्षति हुनबाट बच्न तत्काल निम्न उपायहरू अपनाउनुहोस्:

क) सिम कार्ड ब्लक गर्नुहोस्

आफ्नो मोबाइल सेवा प्रदायक (जस्तै: नेपाल टेलिकम, एनसेल) लाई तुरुन्त सम्पर्क गरी सिम कार्ड ब्लक गराउनुहोस् । यसले तपाईंको नम्बरबाट हुन सक्ने दुरुपयोग रोक्छ ।

ख) महत्त्वपूर्ण एपको पासवर्ड बदल्नुहोस्

मोबाइल बैंकिङ, ईमेल, सामाजिक सञ्जाल (फेसबुक, इन्स्टाग्राम) जस्ता महत्त्वपूर्ण एपको पासवर्ड तुरुन्तै परिवर्तन गर्नुहोस्, ताकि तपाईंका व्यक्तिगत विवरण दुरुपयोग हुनबाट बचून् ।

ग) बैंक तथा वित्तीय संस्थालाई खबर गर्नुहोस्

यदि मोबाइलमा बैंकिङ तथा वालेट एप थिए भने तुरुन्त आफ्नो बैंकमा सम्पर्क गरी मोबाइल बैंकिङ सेवा बन्द गर्न अनुरोध गर्नुहोस् । यसले अनाधिकृत कारोबार रोक्न मद्दत गर्छ । डिजिटल वालेट हो भने सिम ब्लक गरेर नयाँ सिम निकाल्नुहोस् अनि अर्को फोनमा वालेटको खाता खोल्नुहोस् । 

घ) परिवार र साथीभाइलाई जानकारी दिनुहोस्

आफ्नो फोन हराएको बारेमा परिवार र साथीलाई जानकारी दिनुहोस् । किनभने फोन भेट्टाउने व्यक्तिले तपाईंको नम्बर वा सामाजिक सञ्जाल प्रयोग गरी उनीहरूसँग पैसा वा व्यक्तिगत विवरण मागेर ठगी गर्न सक्छ ।

ङ) आफैँ फोन फिर्ता लिने प्रयास नगर्नुहोस्

यदि तपाईंले प्रविधिको मद्दतले फोनको लोकेसन पत्ता लगाउनुभयो भने पनि सुरक्षाका लागि आफैँँ उक्त स्थानमा गएर फोन फिर्ता लिने प्रयास नगर्नुहोस् । प्रहरीलाई सो लोकेसनको जानकारी दिएर सहयोग माग्नुहोस् । खासगरी फोन फेला पार्ने व्यक्तिलाई उसको लोकेसन ट्रयाक गर्ने लिङ्क पठाएर लोकेसन फेला पार्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असार ३१, २०८२ १४:३





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ । एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा आयोजना गरेको ‘लीग अफ क्रिएटर्स’ प्रतियोगितामा ललितपुरका अमन महर्जनले १० लाख रुपैयाँ बराबरको एक वर्षको ब्रान्ड डिल जित्न सफल भएका छन् । उनले प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै पुरस्कार स्वरूप यो डिल हात पारेका हुन् । 

कम्पनीले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस विषयमा जानकारी दिएको हो । विज्ञप्तिमा उल्लेख भए अनुसार आफूलाई म्याडम्वाजेल क्रिएटरका नामले चिनाउने काठमाडौँकी प्रभा श्रेष्ठले प्रतियोगितामा दोस्रो स्थान हासिल गर्दै पाँच लाख रुपैयाँको ब्रान्ड डिल जितिन् भने बागलुङका मनीष रुचेलले तेस्रो बन्दै दुई लाख ५० हजार रुपैयाँको ब्रान्ड डिल पुरस्कार जितेका छन् । त्यसैगरी बुटवलका प्रशान्त पाण्डेले चौथो स्थान हासिल गरि अपट्रेन्डली पीकका रूपमा एक लाखको ब्रान्ड डिल जितेका छन् ।

गत शुक्रबार काठमाडौंमा आयोजित ग्रान्ड फिनाले कार्यक्रममा विजयी क्रिएटरहरुलाई पुरस्कार प्रदान गरिएको थियो । देशभरिका डिजिटल स्टोरीटेलर्स (कथा वाचक) लाई सशक्त बनाउने उद्देश्य सहित एनसेलले यो प्रतियोगिता आयोजना गरेको थियो । 

प्रतियोगितामा सहभागी हुन प्राप्त भएका भिडियोहरू मध्येबाट उत्कृष्ट ५० जना क्रिएटरहरुलाई पाँच जना मेन्टरहरु सञ्जोग कोइराला, प्रतिमा अधिकारी, मिस्टर फूडी नेपाल, पराक्रम राणा र एकता तण्डुकारले छानेका थिए । उनीहरुलाई १०/१० जनाको समूहमा ५ जना मेन्टरहरुमार्फत विशेष प्रशिक्षण र मेन्टरशिप प्रदान गरिएको थियो । सहभागीहरूले सामग्री योजना, सिर्जना प्रक्रिया, सन्देश प्रवाह, ब्रान्ड समक्ष आफू प्रस्तुत गर्ने रणनीति लगायतका बारेमा प्रशिक्षण पाएका थिए ।  

निर्णायक मन्डलमा नेपालका लागि अमेरिकी राजदूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्कर, चलचित्र निर्देशक सिमोस सुनुवार, एनसेलकी मार्केटिङ, कम्युनिकेशन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर पुनम सिंह र अपट्रेन्डलीका प्रमुख कार्यकारी अधिकृत मोनायक कार्की रहेका थिए ।

पछिल्लो अध्यावधिक: असार ३१, २०८२ १७:३४





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं- स्वास्थ्य सेवा विभाग अन्तर्गतको उपचारात्मक सेवा महाशाखाकी निर्देशक डा सुधा देवकोटाको सरुवा गर्ने निर्णय भएको छ।

डा देवकोटालाई डडेल्धुरा अस्पतालमा सरुवा गर्ने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रशासन स्रोतले जानकारी दियो।

डा देवकोटा महाशाखामा गत वर्षको असोजमा निर्देशक भएर आएकी थिइन्। त्यसअघि उनी कोशी प्रदेशको स्वास्थ्य सचिव थिइन्।

डा देवकोटाको उपचारात्मक सेवा महाशाखाबाट डडेल्धुरा अस्पतालमा सरुवा भएपछि रिक्त रहेको उक्त पदमा भने कसलाई ल्याउने भन्ने विषयमा अझै निर्णय नभएको स्रोतले जानकारी दियो।

यसैगरी, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काम गर्ने गरी ११ औं तहका डा राजिव रिजालको सरुवा भएको छ।
 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । एआई प्रविधिको चरम दुरुपयोग गर्दै एक व्यक्तिले आफ्नी पूर्व प्रेमिकाको नक्कली अश्लील तस्बिर र भिडिओ बनाएर भाइरल बनाइ दिए । त्यसपछि ‘पोर्न स्टार’को नक्कली चरित्र खडा गरी पैसा समेत कमाउन थाले ।

यो घटना छिमेकी देश भारतको हो । आसाम प्रहरीले उक्त घटनामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । आसामको दिब्रुगढ पुलिसले प्रितिम बोरा नामक ती व्यक्तिलाई पक्राउ गरेको हो । बोराले सामाजिक सञ्जालमा ती फोटो तथा भिडिओ फैलाएको र त्यसबाट लाखौँ रुपैयाँ कमाएको बताइएको छ ।

सामाजिक सञ्जालमा बेबी डल आर्ची तथा इश्तारा अमिरा नामले परिचित एक काल्पनिक पात्रको पछाडि लुकेको यो घटनाको खुलासा भएको छ । इन्स्टाग्राममा यो नामको पेजमा एडल्ट सामग्रीहरू भरिएका छन्, जसलाई १४ लाख भन्दा बढी मानिसहरूले फलो गरेका छन् ।

केही समय अघि अमेरिकी एडल्ट फिल्म स्टार केन्द्रा लस्टसँग बेबी डल आर्चीको तस्बिर सार्वजनिक भएपछि आर्ची पोर्न उद्योगमा सामेल हुन लागेको चर्चा चलेको थियो । केन्द्रा लस्टले उक्त नक्कली पेजसँग इन्स्टाग्राममा सहकार्य समेत गरेकी छिन् । जब कि उनको आफ्नै इन्स्टाग्राममा ८.६ मिलियन भन्दा बढी फलोअर्स छन् ।

आरोपी प्रितिम बोराले बेबी डल आर्चीका केही पोस्टहरूमा अमेरिकाको लोकेसन समेत राखेर फ्यानहरूलाई युवती अमेरिका बसाई सरेको भ्रममा पारेका थिए । १७ जुलाई, २०२३ मा सोही पेजमा एउटा पोस्ट राखिएको थियो, जसमा आर्चीलाई ६ वर्षसम्म वेश्यावृत्तिमा बाध्य पारिएको र २५ लाख रुपैयाँ तिरेपछि मुक्त भएको दाबी गरिएको थियो ।

यो पोस्टमार्फत आरोपीले आर्ची एक यौनकर्मी भएको र अब उनले सो काम छोडेको देखाउन खोजेका थिए । त्यो पनि पूर्ण रूपमा झूटो रहेको पाइएको छ ।

प्रहरीका अनुसार आरोपी प्रितिम बोरा एक मेकानिकल इन्जिनियर हुन् । उनले आफ्नी पूर्व प्रेमिकासँग बदला लिनका लागि एआईको सहायताले उनको तस्बिरहरूको गलत प्रयोग गरेका थिए । बोराले पूर्व प्रेमिकाको एउटा मात्र तस्बिर प्रयोग गरेर थुप्रै अश्लील र पोर्नोग्राफिक सामग्रीहरू बनाए ।

सुरुमा प्रतिशोधका लागि यो अपराध सुरु गरे पनि पछि उनले यसैबाट पैसा समेत कमाउन थाले । त्यसपछि यो कार्यलाई निरन्तरता दिँदै गए । द फ्रि प्रेस जर्नलमा प्रकाशित रिपोर्ट अनुसार आरोपीले यी नक्कली भिडिओहरूबाट कम्तीमा १० लाख भारु (१६ लाख रुपैयाँ) कमाएको स्वीकार गरेका छन् ।

प्रारम्भिक सोधपुछबाट नक्कली तस्बिरहरू बनाउनका लागि मिडजर्नी डिजायर र ओपन आर्ट जस्ता एड्भान्स एआई टुलहरू प्रयोग गरेको पत्ता लागेको छ । यस्ता तस्बिरहरूलाई ‘डाक्टर्ड फोटो’ भनिन्छ, जसको अर्थ धोका दिनका लागि गलत तरिकाले बनाइएका तस्बिरहरू हुन् ।

आरोपीलाई वास्तविक पीडित अर्चिता फुनकन नामक युवतीले एफआईआर दर्ता गराएपछि पक्राउ गरिएको हो । दिब्रुगढका एसपी सिजल अग्रवालले यस घटनामा एआई प्रविधिको पूर्ण प्रयोग भएको र पीडित पोर्न उद्योगमा सामेल भएको देखाउन खोजीएको बताए । तर त्यो पूर्ण रूपमा नक्कली पाइएको उनको भनाई छ ।

प्रहरीले आरोपीको साथबाट दुई मोबाइल फोन, एक हार्ड डिस्क, एक ल्यापटप, एक ट्याब्लेट, एक पेनड्राइभ र कयौँ सिमकार्ड बरामद गरेको छ । आरोपी प्रितिम बोरालाई हाल प्रहरी हिरासतमा राखिएको छ र उनीमाथि साइबर उत्पीडन, मानहानि, अश्लीलता र गोपनीयतामाथि आक्रमणको कसुरमा मुद्दा दायर गरिएको छ ।

छिमेकी देशको यो घटनाले एआई प्रविधिको दुरुपयोगले व्यक्तिगत गोपनीयता र प्रतिष्ठामाथि कति गम्भीर असर पार्न सक्छ भन्ने देखाएको छ । एआईको युगमा ‘जे देखिन्छ, त्यो सत्य नहुन सक्छ’ भन्ने कुराको यो एक एक ज्वलन्त उदाहरण हो ।

पछिल्लो अध्यावधिक: असार ३१, २०८२ १९:९





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं – म्याग्नस फर्मास्युटिकल कम्पनी मोमेटासोन न्याजल स्प्रे (नाकमा प्रयोग हुने औषधि) नेपालमै उत्पादन गर्न सफल भएको छ। कम्पनीले ‘मोमेकोर’ ब्रान्ड नाममा यो स्प्रे उत्पादन सुरु गरेको हो, जुन नेपालमै पहिलो पटक कुनै नेपाली फार्मा कम्पनीले निर्माण गरेको औषधि हो।

मोमेटासोन फ्युरोएट अणुमा आधारित यो न्याजल स्प्रे एलर्जिक राइनाइटिस (नाकको एलर्जी), नाकभित्रको पोलिप्स लगायतका समस्याको उपचारमा प्रभावकारी मानिन्छ। यसअघि यस्तो औषधि विदेशबाटै आयात गरिन्थ्यो, तर अब म्याग्नस फार्माले यसलाई स्वदेशमै उत्पादन गरेर औषधिमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्यमा योगदान गरेको छ। 

म्याग्नस फार्माका प्रबन्ध निर्देशक सुधीर प्रकाश मास्के भन्छन्, ‘हामी सधैं नवीनता र समाजका अपूरा आवश्यकता पूर्तिमा विश्वास गर्छौं। यही सोच अनुरूप हामीले नेपाली बजारमा पहिलोपटक मोमेटासोन न्याजल् स्प्रे उत्पादन सुरु गरेका छौं। यो मात्र सुरुवात हो – हामी एस्तै अन्य आधुनिक र गुणस्तरीय औषधिहरू नेपाली जनताको पहुँचमा ल्याउन प्रतिबद्ध छौं।’

हालसम्म नेपालको फर्मास्युटिकल क्षेत्रमा न्याजल स्प्रे उत्पादनको कुनै प्रयास नभएको अवस्थामा म्याग्नस फार्माको यो कदमले उद्योगमा नयाँ अध्याय सुरु गरेको जनाएको छ। स्वास्थ्य क्षेत्रमा आयातमा निर्भरता घटाउने मात्र होइन, नेपाली बजारमा सुलभ मूल्यमा गुणस्तरीय औषधिको पहुँचसमेत बढाउने अपेक्षा गरिएको छ।

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले देशमा इन्टरनेट प्रोटोकल संस्करण ६ (आईपीभी सिक्स) अनिवार्य गर्ने तयारी थालेको छ । बढ्दो इन्टरनेट प्रयोगकर्ता र भविष्यका प्रविधिहरूका कारण हाल प्रयोगमा रहेको आईपीभी फोरको ‘एड्रेस’ मा विश्वव्यापी संकट आएपछि प्राधिकरणले यस्तो कदम चाल्न लागेको हो ।

यसका लागि प्राधिकरणले ‘आईपीभी सिक्स माइग्रेसन विनियमावली, २०८२’ को मस्यौदामाथि सरोकारवाला पक्षबाट सुझाव संकलन गरिरहेको छ । यसअघि ३० दिनको समयसीमासहित सार्वजनिक गरिएको परामर्श पत्रमाथि प्राधिकरणले मंगलबार पुनः सूचना निकाल्दै सरोकारवाला, विज्ञ, अनुसन्धानकर्ता र अन्य इच्छुक पक्षहरूलाई १५ दिनभित्र सुझाव पेश गर्न आग्रह गरेको हो । 

प्रस्तावित विनियमावलीअनुसार तोकिएको समयसीमा र मापदण्डभित्र आईपीभी सिक्स प्रणालीमा नजाने इन्टरनेट तथा दूरसञ्चार सेवा प्रदायकहरूको इजाजतपत्र (लाइसेन्स) खारेज गर्नेसम्मको कडा कारबाही हुनेछ ।

हाल विश्वभर र नेपालमा समेत प्रयोग भइरहेको आईपीभी फोर प्रणालीले करिब चार अर्ब ३० करोड मात्र इन्टरनेट ठेगाना प्रदान गर्न सक्छ, जुन इन्टरनेटमा जोडिने अर्बौं मानिस र उपकरणका लागि अपर्याप्त भइसकेको छ । प्राधिकरणका अनुसार, यो ठेगाना अभावले इन्टरनेटको विस्तार, गुणस्तर र सुरक्षामा गम्भीर चुनौती थपेको छ । विशेषगरी, हरेक उपकरण इन्टरनेटमा जोडिनुपर्ने इन्टरनेट अफ थिङ्स र  फाइभजी प्रविधि आईपीभी फोरको सीमितताका कारण सम्भव छैन । यसको एकमात्र समाधानको रूपमा रहेको आईपीभी सिक्सले लगभग अनगिन्ती (३४० पछि ३६ वटा शून्य) ठेगानाहरू प्रदान गर्दछ, जसले गर्दा हरेक उपकरणले आफ्नै स्थायी र सुरक्षित ठेगाना पाउन सक्छन् ।

प्राधिकरणले सरोकारवालाबाट आएको सुझावपछि आईपीभी सिक्स माइग्रेसन विनियमावलीको मस्यौदालाई अन्तिम रूप दिने र कार्यान्वयन प्रक्रियामा बढ्ने जनाएको छ । 

यसकारण आवश्यक छ आईपीभी सिक्स ? 

हाल प्रयोगमा रहेको इन्टरनेट प्रोटोकल भर्सन ४ (आईपीभी फोर) ले प्रदान गर्ने इन्टरनेट ठेगाना (Address) विश्वव्यापी रूपमा समाप्त भइसकेका छन् । बढ्दो इन्टरनेट प्रयोगकर्ता, स्मार्ट उपकरणहरू र विशेषगरी फाइभजी तथा इन्टरनेट अफ थिङ्स जस्ता भविष्यका प्रविधिहरूको विस्तारका लागि आईपीभी फोर अपर्याप्त छ । 

आईपीभी फोर समाप्त भएता पनि अधिकांश इन्टरनेट सेवाप्रदायकहरू अहिले प्राइभेट एड्रेसिङलाई आधार मानेर नेटवर्क एड्रेस ट्रान्सलेसन (एनएएटी) प्रविधिबाट काम चलाइरहेका छन् । विश्वप्रसिद्ध जर्नल एमडीपीआईमा प्रकाशित अनुसन्धान प्रतिवेदनले पनि नेपालको ब्रोडब्यान्ड विस्तारका लागि चालु सरकारी परियोजना तथा सेवाप्रदायकले पुराना उपकरण तथा प्रविधि प्रयोग गरिरहेको तथ्य बाहिर ल्याएको थियो ।

अनुसन्धानले परियोजना कार्यान्वयनका सन्दर्भमा आईपीभी सिक्स प्रविधि आत्मसाथ गर्नु मुलुक, जनता र सेवाप्रदायक सबैको हितमा हुने उल्लेख गरेको छ । आईपीभी सिक्सले संसारभर जोडिएका हरेक उपकरणको सञ्चारका लागि युनिक राउटेबल पब्लिक एड्रेस असाइन गर्न अनुमति दिने भएकाले पनि यसको प्रयोग आवश्यक भएको हो ।

त्यतिमात्रै नभएर एनएटी प्रविधि आवश्यक नपर्ने हुँदा आईपीभी सिक्समा आईपीभी फोरको तुलनामा इन्टरनेट एक्सेस राम्रो हुन्छ । साथै सुरक्षाका दृष्टिकोणले समेत यसलाई बढी प्रभावकारी मानिन्छ । त्यसैले अबका दिनमा आईपीभी सिक्स प्रविधि आत्मसाथ गर्नुको विकल्प नभएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । त्यसैअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले यसको माइग्रेसनको अनिवार्यता महसुस  गरेको हो । 

विशेषगरी, नेपालमा फाइभजी र आईओटी बजारका लागि आईपीभी सिक्समा आधारित इन्टरनेट नेटवर्क अनिवार्य मानिएको छ । दूरसञ्चार ऐन, २०५३ को दफा ६२ अन्तर्गत प्राधिकरणले यो विनियमावली बनाउन लागेको हो । नेपालका टेलिकम तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई आईपीभी फोरबाट आईपीभी सिक्स प्रोटोकलमा स्थानान्तरणका लागि प्रोत्साहन गर्नु यसको मुख्य लक्ष्य हो  । यो विनियमावली नेपाल दूरसञ्चार प्राधिकरणबाट लाइसेन्सप्राप्त सेवा प्रदायकहरूमा लागु हुनेछ ।

मस्यौदामा सेवाप्रदायकहरूलाई आफ्नो नेटवर्कमा आईपीभी सिक्स अनिवार्य रूपमा कार्यान्वयन र सपोर्ट गर्नुपर्ने व्यवस्था गरिएको छ । यस्ता कम्पनीहरूले आईपीभी सिक्स अपनाउनको लागि समयसीमा पनि निर्धारण गर्नुपर्नेछ ।

सेवा प्रदायकले आईपीभी सिक्स एड्रेसलाई कुशलतापूर्वक प्रयोग गर्नुपर्ने र त्यसको रेकर्ड राख्नुपर्ने, सो अनुरूप फायरवाल, इन्ट्रुसन डिटेक्सन/प्रिभेन्सन सिस्टम (IDS/IPS) जस्ता सुरक्षा उपायहरू लागु गर्नुपर्ने, संवेदनशील डेटाको इन्क्रिप्सन जस्ता नियमहरू पनि पालना गर्नुपर्नेछ । 

यसका साथै नियमित सुरक्षा अडिट र मूल्यांकन गर्नुपर्ने, नेटवर्क डिभाइसहरूले आईपीभी फोर र आईपीभी सिक्स  दुवै प्रोटोकललाई एक साथ सपोर्ट गर्नुपर्ने, राउटर र स्विचहरू दुवै किसिमको ट्राफिक ह्यान्डल गर्न कन्फिगर गरिएको सुनिश्चित गर्नुपर्ने आवश्यकतालाई समेत यसले जोड दिएको छ । सेवा प्रदायकहरूले नियम पालना गरे/नगरेको सुनिश्चित गर्न नियमित अडिट र समीक्षा समेत गर्नेछ ।

विनियमावली पालना नगर्ने सेवाप्रदायकहरूलाई चेतावनीदेखि जरिबाना र दूरसञ्चार ऐन, २०५३ को दफा ४७ अनुसार लाइसेन्स निलम्बनसम्मको कारबाही हुन सक्नेछ । यद्यपि, यस किसमको कुनै पनि कदम चाल्नुअघि स्पष्टीकरणको मौका भने दिइनेछ ।

विनियमावली मार्फत प्राधिकरणले आईपीभी सिक्समा परिवर्तनलाई बाध्यकारी मात्रै बनाएको छैन, सँगसँगै सेवाप्रदायकहरूलाई आईपीभी सिक्स अपनाउने प्रयासमा सहयोग गर्न आवश्यक स्रोत, तालिम, क्षमता विकास र प्राविधिक सहायता समेत प्रदान गर्नेछ । साथै, छिटो र प्रभावकारी माइग्रेसनलाई प्रोत्साहन गर्न आर्थिक प्रोत्साहन तथा अनुदान पनि प्रदान गरिने कुरा विनियमावलीमा उल्लेख छ । प्राधिकरणले प्रयोगकर्ता, व्यवसाय र संस्थाहरूलाई आईपीभी सिक्सको फाइदाबारे जनचेतना अभियान पनि चलाउनेछ । 

प्रस्तावित ‘आईपीभी सिक्स माइग्रेसन विनियमावली, २०८२’ ले नेपालका सबै इन्टरनेट तथा दूरसञ्चार सेवा प्रदायकहरूका लागि महत्त्वपूर्ण र बाध्यकारी व्यवस्थाहरू अघि सारेको छ:

पछिल्लो अध्यावधिक: असार ३१, २०८२ १७:५५





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं- १८ वर्ष मुनिका किशोरीहरुको डिम्बको कारोबार गरेको आरोपमा पक्राउ परेका बबरमहलस्थित होप फर्टिलिटी एण्ड डायग्नोस्टिक प्रालीका पाँच हाजिर जमानतमा छुटेका छन्। जसले आमजनमा डिम्ब भण्डारण अर्थात् ‘एग फ्रिजिङ’का बारेमा चासो बढेको छ। 

के हो डिम्ब फ्रिजिङ, कस्तो हुन्छ प्रक्रिया ?
एग फ्रिजिङ भन्नाले भविष्यमा प्रयोग गर्न मिल्नेगरी अण्डाहरू सुरक्षित तरिकाले जम्मा गरेर राख्ने प्रक्रिया हो।

१०–१२ दिनसम्म हर्मोनको इन्जेक्सन दिनुपर्छ, त्यसपछि सानो सर्जरीबाट अण्डा निकालिन्छ र फ्रिजमा सुरक्षित गरेर राखिन्छ।

३० वर्षको उमेरभन्दा अगाडि अण्डा फ्रिज गर्नाले सम्भवतः सबैभन्दा धेरै स्वस्थ अण्डाहरू प्राप्त हुनेछन्, यदि ३० देखि ३५ वर्षको उमेरका छन् भने यो संख्या अलि कम हुन्छ भने ३५ वर्षभन्दा माथिका छन् भने यो संख्या अझै कम हुन्छ।

३५ वर्षभन्दा माथिको उमेरमा पनि अण्डा फ्रिज गर्न सम्भव हुन्छ। तर सफलतापूर्वक गर्भधारणको सम्भावना बढाउनका लागि — धेरै संख्यामा अण्डा जम्मा गर्नु आवश्यक पर्न सक्छ किनभने एग फ्रिजिङ गरिएका डिम्बबाट बच्चा पाउने सम्भावना उमेरसँगै घट्छ।

डिम्ब फ्रिज गर्दा केही साइड इफेक्टहरू सामान्य देखिन्छन्। यी धेरैजसो हर्मोनको स्तर बढ्दा हुने प्राकृतिक प्रतिक्रिया हुन् – गम्भीर भने हुँदैनन्।

प्रक्रिया सुरू हुँदा मुड बदलिने, अचानक शरीर तात्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने जस्ता समस्या देखिन सक्छ भने अण्डा निकाल्ने प्रक्रियापछि केही महिलालाई पेट फुल्ने, पेट दुख्ने वा ऐंठन हुने, हल्का दुखाइ महसुस हुन सक्छ।

यी सबै लक्षणहरू प्रायः केही दिनमै निको हुन्छन्। तर असजिलो धेरै भएमा तुरुन्त चिकित्सकको सल्लाह लिनु पर्छ

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । शाशिला मोटर्स प्रालिले बुटवलको तिलोत्तमामा चार्जिङ स्टेसन स्थापना गरेको छ । १४ ओटा विद्युतीय सवारी एकैपटक चार्ज गर्न मिल्ने यो चार्जिङ स्टेसन देशकै सबैभन्दा ‘ठुलो’ भएको दाबी गरिएको छ ।

एक कार्यक्रमबिच २९ असारमा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बालकृष्ण खाँणले चार्जिङ स्टेसन उद्घाटन गरे ।

कम्पनीका महाप्रबन्धक सन्तोष खतिवडाका अनुसार यो स्टेसन १००० के‍भीए क्षमताको छ । प्रयोगकर्तालाई स्मार्ट चार्जिङ अनुभव दिनेगरी देशकै ठुलो ईभी चार्जिङ स्टेसन सञ्चालमा ल्याइएको उनले दाबी गरे ।

पछिल्लो अध्यावधिक: असार ३१, २०८२ १५:४५





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट