काठमाडौँ । एआई प्रविधिको चरम दुरुपयोग गर्दै एक व्यक्तिले आफ्नी पूर्व प्रेमिकाको नक्कली अश्लील तस्बिर र भिडिओ बनाएर भाइरल बनाइ दिए । त्यसपछि ‘पोर्न स्टार’को नक्कली चरित्र खडा गरी पैसा समेत कमाउन थाले ।

यो घटना छिमेकी देश भारतको हो । आसाम प्रहरीले उक्त घटनामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । आसामको दिब्रुगढ पुलिसले प्रितिम बोरा नामक ती व्यक्तिलाई पक्राउ गरेको हो । बोराले सामाजिक सञ्जालमा ती फोटो तथा भिडिओ फैलाएको र त्यसबाट लाखौँ रुपैयाँ कमाएको बताइएको छ ।
सामाजिक सञ्जालमा बेबी डल आर्ची तथा इश्तारा अमिरा नामले परिचित एक काल्पनिक पात्रको पछाडि लुकेको यो घटनाको खुलासा भएको छ । इन्स्टाग्राममा यो नामको पेजमा एडल्ट सामग्रीहरू भरिएका छन्, जसलाई १४ लाख भन्दा बढी मानिसहरूले फलो गरेका छन् ।
केही समय अघि अमेरिकी एडल्ट फिल्म स्टार केन्द्रा लस्टसँग बेबी डल आर्चीको तस्बिर सार्वजनिक भएपछि आर्ची पोर्न उद्योगमा सामेल हुन लागेको चर्चा चलेको थियो । केन्द्रा लस्टले उक्त नक्कली पेजसँग इन्स्टाग्राममा सहकार्य समेत गरेकी छिन् । जब कि उनको आफ्नै इन्स्टाग्राममा ८.६ मिलियन भन्दा बढी फलोअर्स छन् ।

आरोपी प्रितिम बोराले बेबी डल आर्चीका केही पोस्टहरूमा अमेरिकाको लोकेसन समेत राखेर फ्यानहरूलाई युवती अमेरिका बसाई सरेको भ्रममा पारेका थिए । १७ जुलाई, २०२३ मा सोही पेजमा एउटा पोस्ट राखिएको थियो, जसमा आर्चीलाई ६ वर्षसम्म वेश्यावृत्तिमा बाध्य पारिएको र २५ लाख रुपैयाँ तिरेपछि मुक्त भएको दाबी गरिएको थियो ।
यो पोस्टमार्फत आरोपीले आर्ची एक यौनकर्मी भएको र अब उनले सो काम छोडेको देखाउन खोजेका थिए । त्यो पनि पूर्ण रूपमा झूटो रहेको पाइएको छ ।
प्रहरीका अनुसार आरोपी प्रितिम बोरा एक मेकानिकल इन्जिनियर हुन् । उनले आफ्नी पूर्व प्रेमिकासँग बदला लिनका लागि एआईको सहायताले उनको तस्बिरहरूको गलत प्रयोग गरेका थिए । बोराले पूर्व प्रेमिकाको एउटा मात्र तस्बिर प्रयोग गरेर थुप्रै अश्लील र पोर्नोग्राफिक सामग्रीहरू बनाए ।
सुरुमा प्रतिशोधका लागि यो अपराध सुरु गरे पनि पछि उनले यसैबाट पैसा समेत कमाउन थाले । त्यसपछि यो कार्यलाई निरन्तरता दिँदै गए । द फ्रि प्रेस जर्नलमा प्रकाशित रिपोर्ट अनुसार आरोपीले यी नक्कली भिडिओहरूबाट कम्तीमा १० लाख भारु (१६ लाख रुपैयाँ) कमाएको स्वीकार गरेका छन् ।
प्रारम्भिक सोधपुछबाट नक्कली तस्बिरहरू बनाउनका लागि मिडजर्नी डिजायर र ओपन आर्ट जस्ता एड्भान्स एआई टुलहरू प्रयोग गरेको पत्ता लागेको छ । यस्ता तस्बिरहरूलाई ‘डाक्टर्ड फोटो’ भनिन्छ, जसको अर्थ धोका दिनका लागि गलत तरिकाले बनाइएका तस्बिरहरू हुन् ।
आरोपीलाई वास्तविक पीडित अर्चिता फुनकन नामक युवतीले एफआईआर दर्ता गराएपछि पक्राउ गरिएको हो । दिब्रुगढका एसपी सिजल अग्रवालले यस घटनामा एआई प्रविधिको पूर्ण प्रयोग भएको र पीडित पोर्न उद्योगमा सामेल भएको देखाउन खोजीएको बताए । तर त्यो पूर्ण रूपमा नक्कली पाइएको उनको भनाई छ ।
प्रहरीले आरोपीको साथबाट दुई मोबाइल फोन, एक हार्ड डिस्क, एक ल्यापटप, एक ट्याब्लेट, एक पेनड्राइभ र कयौँ सिमकार्ड बरामद गरेको छ । आरोपी प्रितिम बोरालाई हाल प्रहरी हिरासतमा राखिएको छ र उनीमाथि साइबर उत्पीडन, मानहानि, अश्लीलता र गोपनीयतामाथि आक्रमणको कसुरमा मुद्दा दायर गरिएको छ ।
छिमेकी देशको यो घटनाले एआई प्रविधिको दुरुपयोगले व्यक्तिगत गोपनीयता र प्रतिष्ठामाथि कति गम्भीर असर पार्न सक्छ भन्ने देखाएको छ । एआईको युगमा ‘जे देखिन्छ, त्यो सत्य नहुन सक्छ’ भन्ने कुराको यो एक एक ज्वलन्त उदाहरण हो ।
पछिल्लो अध्यावधिक: असार ३१, २०८२ १९:९
सामाग्री श्रोत :
टेक पाना