काठमाडौँ । घुस लेनदेनको ‘डिल’ अडियो प्रकरणमा विवादित बनेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले अन्ततः पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि गुप्ताले मंगलबार बालुवाटार पुगेर राजीनामा बुझाएका हुन् ।

राजीनामापछि गुप्ताले सामाजिक सञ्जालमार्फत आफूमाथि लागेको आरोपको निष्पक्ष छानबिनका लागि सहयोग गर्न राजीनामा दिएको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, “कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ, म अहिले त्यसैको शिकार भएँ । अब लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य बाहिर आउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्रीसमक्ष मन्त्री पदबाट राजीनामा गरेको छु । प्रविधिको उच्चतम प्रयोगको शिकार अब अरू कोही पनि नबनुन् भन्ने अपेक्षा गर्दै आजसम्म विभिन्न रुपले आफूलाई सहयोग गर्नु हुनेहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।”
अडियो सार्वजनिक भएपछि गुप्तामाथि चौतर्फी आलोचना बढेको थियो । भूमि आयोग कास्कीको अध्यक्ष नियुक्तिका लागि २५ लाख र मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख घुसको ‘डिल’ भएको आरोप लागेपछि उनलाई राजीनामा दिन दबाब बढेको थियो ।

सत्तापक्ष र प्रतिपक्ष दुबै तर्फबाट गुप्ताको राजीनामा र निष्पक्ष छानबिनको माग उठिरहँदा उनले प्रविधिको दुरुपयोग गरेर उक्त अडियो सिर्जना गरिएको बताउने गरेका छन् ।
पछिल्लो अध्यावधिक: असार ३१, २०८२ ११:४७
सामाग्री श्रोत :
टेक पाना