काठमाडौँ । काठमाडौँमा नेपालकै ‘पहिलो’ एआई ह्याकाथन सम्पन्न भएको छ । शनिबार आयोजित उक्त ह्याकाथनमा सहभागीहरूले एक घण्टाभित्रै १४ ओटा मोबाइल एप तयार पारे ।

नेपालमा एआई क्षेत्रमा काम गर्दै आएको प्लेटफर्म एआईनोभेटर्सले सिङ्गापुरमा मुख्यालय रहेको एआई कम्पनी म्यानस एआईसँगको सहकार्यमा ‘थिङ्क, बिल्ड, एन्ड स्केल’ (सोच्नुहोस्, बनाउनुहोस् र फैलिनुहोस्) भन्ने नाराका साथ उक्त ह्याकाथन कार्यक्रम आयोजना गरेको थियो ।
यो नेपालमा आयोजित यस प्रकारको पहिलो एआई ह्याकाथन भएको आयोजकको दाबी छ । जहाँ सहभागीहरूले एजेन्टिक एआईबारे सिकेर सीमित अवधिमै एआईको मद्दतले आफ्ना आइडियाहरूलाई एपमा परिणत गरे । सामान्यतया ह्याकाथनहरूमा सहभागीहरू कोडर र प्रोग्रामरहरू हुने गर्छन्, तर यस कार्यक्रममा भने अधिकांश सहभागीहरू प्रोग्रामिङ भन्दा बाहिरी विधाका व्यक्तिहरू थिए ।
जसले पहिले कहिल्यै कम्प्युटरमा कोड लेखेका थिएनन् । कार्यक्रमको उद्देश्य कुनै एपको बारेमा आइडिया भएको व्यक्तिले आफैले कोड नलेखिकनै एआईलाई प्रम्प्ट दिएको भरमा एप बनाउनु थियो । कार्यक्रमको पहिलो चरणमा सहभागीहरूलाई म्यानस एआईसँग परिचित गराइएको थियो । जहाँ उनीहरूले म्यानस प्लेटफर्ममा आफ्नो अकाउन्ट बनाउनुका साथै च्याटजीपीटी प्रयोग गरेर आफ्नो प्रम्प्टलाई थप सुधार गर्न सिकेका थिए ।

दोस्रो चरणमा भने सहभागीहरूले च्याटजीपीटी प्रयोग गरेर थप सुधारिएको प्रम्प्टलाई म्यानस एआईमा राखे । र, म्यानस एआईले सहभागीहरूले दिएको प्रम्प्टअनुसार एप निर्माण गर्यो । यस प्रक्रियालाई सहज बनाउन म्यानसले कार्यक्रम अवधिभर सम्पूर्ण सहभागीहरूलाई महँगो शुल्क तिरेर खरिद गर्नुपर्ने ‘प्रो अकाउन्ट’ निःशुल्क उपलब्ध गराएको थियो ।
सहभागीहरू आफैले कुनै कोड नै नलेखी म्यानस एआईमार्फत एक घण्टाको समयभित्र कुल १४ ओटा एप तयार पारेको आयोजकले जनाएको छ । सहभागीहरूले तयार पारेका एपहरू सामाजिक सञ्जालमा गलत सूचना ट्र्याक गर्ने र एआईमा आधारित फिटनेस कोचदेखि लिएर स्मार्ट कृषि सल्लाहकार र एक-द्वार सरकारी सेवा प्लेटफर्मसम्मका थिए ।
विभिन्न क्षेत्रमा कार्यरत ३० भन्दा बढी युवाहरू यस कार्यक्रममा सहभागी भएका थिए । सहभागीहरूमा एआईसँग साधारण रूपमा परिचित व्यक्तिदेखि लिएर एआईमा पीएचडी गरिरहेका व्यक्तिहरूसम्म थिए । कार्यक्रमले सहभागीहरूलाई प्रोग्रामिङ ल्याङ्वेज नसिकेर अनि व्यक्ति आफैँले नै कोड नलेखेरै पनि सफ्टवेयर निर्माण गर्न सकिन्छ भन्ने महसुस गराएको थियो।
हाल अधिकांश प्रयोगकर्ताहरूले एआई भन्ने बित्तिकै च्याटजीपीटी बुझ्ने गरेको पाइन्छ । साथै, च्याटजीपीटी नै प्रयोग गरिरहेका भए पनि धेरैजसोले यसको सतही प्रयोग मात्र गरेका छन् । सामान्यतया कुनै कुरा लेख्न र रिसर्च गर्नमा मात्रै एआईको प्रयोग सीमित छ । अधिकांशले अझै पनि एआई पूर्ण क्षमतामा प्रयोग गर्न बाँकी नै छ। यस कार्यक्रममा सहभागीहरूले एक कदम अगाडि बढेर प्रम्प्ट लेखेरै यस्ता एप निर्माण गरे, जसलाई मानिसले नै कोड लेख्नु परेको भए केही जनाको टिमलाई हप्तौँ वा महिनौँसम्म लाग्न सक्थ्यो।
नयाँ नयाँ प्रविधिहरू तीव्र गतिमा विकसित भइरहेको अहिलेको युगमा एआई टुलहरू प्रयोग गर्न जान्ने र नजान्नेबिच भिन्नता देखा पर्न थालिसकेको छ । त्यसैले कार्यक्रमको मूल मन्त्र नै “म र एआई > म” (Me & AI > I) रहेको थियो । जसको अर्थ हो: एआई प्रयोग गर्न जान्ने मानिसहरूले निश्चित रूपमा एआई नजान्नेहरूभन्दा बढी फाइदा लिनेछन् । एआई मानिसहरूलाई प्रतिस्थापन गर्न विकसित भएको होइन । तर एआई प्रविधिले गर्दा संसारभर रोजगारीको सङ्कट उत्पन्न भइरहेको यस परिवेशमा सबैले आफूलाई एआई युगका लागि तयार पार्नुपर्ने आवश्यकता टड्कारो रूपमा देखिएको छ ।
पछिल्लो अध्यावधिक: असार ३१, २०८२ १०:१४
सामाग्री श्रोत :
टेक पाना