काठमाडौं- प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले बबरमहलस्थित ‘होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालि’का पाँच जनालाई नियन्त्रणमा लिएको छ।
होप फर्टिलिटीमा किशोरीहरुको डिम्बको अवैध व्यापार हुने गरेको विषयमा अनुसन्धानपछि प्रहरीको टोलीले पाँच जनालाई नियन्त्रणमा लिएको हो।
नि:सन्तान दम्पतीलाई आइभीएफ लगायतका विभिन्न प्रविधिको सहयोगमा बच्चा जन्माउन सहयोग गर्ने संस्थाबाट नै १८ वर्ष मुनीका किशोरीको डिम्बको कारोबार भइरहेको फेला परेपछि पाँच जनालाई नियन्त्रणमा लिएको सिआइबी स्रोतले जानकारी दियो।
‘१८ वर्षमुनिका किशोरीको डिम्ब निकाल्ने र उनीहरुलाई केही रकम दिएर पठाउने गरेको कुरा देखिएको छ,’ सिआइबीका एक प्रहरीले भने, ‘किशोरीहरुलाई फकाएर यस्तो कारोबार गरेको पाएपछि थप अनुसन्धानका लागि पाँच जनालाई नियन्त्रणमा लिइएको हो।’
ती प्रहरीका अनुसार सिआइबीका उक्त कारोबार हुने गरेको विषयमा उजुरी परेको थियो। प्रहरीले सोही उजुरीका आधारमा अनुसन्धान गरेको थियो।
होप फर्टिलिटीबाट प्रहरी नियन्त्रणमा रहेका पाँच जनाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। ‘यस विषयमा सिआइबीले थप अनुसन्धान गरिरहेको र छिट्टै नै नाम सहित विवरणहरु सार्वजनिक गर्ने छ,’ सिआइबीका एक प्रहरीले भने।
ती प्रहरीका अनुसार होपले १८ वर्षभन्दा कम उमेरका किशोरीलाई विभिन्न प्रलोभनमा पारेर क्लिनिकमा बोलाउने र डिम्ब निकाले राख्ने गरेको थियो। क्लिनिकमा आएका किशोरीहरुलाई होपले १० हजार रुपैयाँ दिएको पनि देखिएको उनले जानकारी दिए।
सामाग्री श्रोत :
swasthyakhabar

