काठमाडौँ । आइतबारदेखि डाउन भएको त्रिभुवन विश्वविद्यालयको वेबसाइट अहिलेसम्म पनि सञ्चालनमा आउन सकेको छैन । आइतबार राति १० बजेदेखि बन्द भएको tu.edu.np को वेबसाइट सञ्चालनमा ल्याउने प्रयास भइरहेको विश्वविद्यालयले जनाएको छ ।

त्रिवि आईटी सेन्टरका ६ जना प्राविधिकहरूले यसलाई पुन सञ्चालनमा ल्याउने प्रयास गरिरहेका त्रिवि सेवा आयोगका प्रमुख विष्णु अर्यालले बताए । उनले भने, “दिउँसो २ बजेसम्ममा पुन सञ्चालन हुने गरि काम गरिएको थियो तर त्यो सम्भव भएन ।” उनका अनुसार आज सोमबार साँझसम्ममा रिकभर गरिने गरि प्रयास गरिएको थियो ।
यो समस्या मुख्यतया त्रिभुवन विश्वविद्यालयको केन्द्रीय सर्भरमा होस्ट गरिएको एकीकृत वेबसाइटमा देखिएको हो । जसका कारण tu.edu.np बाट सुरु हुने वेबसाइट सबै डाउन छन् । बाहिरबाट होस्ट गरिएका व्यवस्थापन विभाग, पाठ्यक्रम विकास केन्द्रका वेबसाइटहरू भने चलिरहेका छन् ।
यसले विशेष गरि त्रिवि सेवा आयोगको विभिन्न परीक्षाका आवेदन फारम भर्नुपर्ने सेवाग्राही मर्कामा परेका छन् । उनले भने, “सेवा आयोगका केही अनलाइन फारम भर्ने अन्तिम मिति हिजो, आज र भोलि तोकिएका पनि थिए ।” वेबसाइट नचल्दा आवेदकहरू समस्यामा परेपछि उनीहरू मर्कामा नपर्ने गरि म्याद थप गर्ने उनले बताए ।

“आज दिउँसोसम्म समस्या समाधान हुन सकेको भए म्याद थप्नु पर्दैन थियो होला । अब प्राविधिक समस्यालाई मध्यनजर गर्दै आवेदकका लागि नयाँ सूचना निकाल्छौँ,” उनले भने ।
पछिल्लो अध्यावधिक: असार ३०, २०८२ १८:६
सामाग्री श्रोत :
टेक पाना