काठमाडौँ । प्रमुख क्रिप्टोकरेन्सी बिटकोइन (BTC) को मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । प्रति बिटकोइनले एक लाख २३ हजार ९१ अमेरिकी डलर (करिब एक करोड ६८ लाख ६२ हजार रुपैयाँ) को कीर्तिमान कायम गर्दै अघिल्ला सबै रेकर्ड तोडेको हो ।

अमेरिकी ‘क्रिप्टो सप्ताह’ को सुरुवातसँगै आएको यो उछाल देखिएको छ । बजार विश्लेषकहरूले स्पट बिटकोइन ईटीएफमा भएको बलियो संस्थागत लगानी प्रवाह, बढ्दो अन-चेन गतिविधि र दीर्घकालीन लगानीकर्ताहरूले गरेको निरन्तरको खरिदलाई मुख्य कारण मानेका छन् । यसको २४ घण्टाको व्यापार मात्र एक खर्ब ७ अर्ब ४८ करोड अमेरिकी डलर रहेको छ ।
कोइनमार्केटक्यापको तथ्याङ्क अनुसार, विगत २४ घण्टामा बिटकोइन ११७,७३३.०२ देखि १२३,०९१ को दायराभित्र उतारचढाव भइरहेको देखिन्छ । यसको बजार पुँजीकरण २.४३ ट्रिलियन डलर पुगेको छ, जसले यसलाई बजार पुँजीकरणको आधारमा सबैभन्दा ठुलो क्रिप्टोकरेन्सी र अमेजन, सिल्भर, र अल्फाबेट (गुगल) जस्ता दिग्गज कम्पनीहरूलाई समेत पछाडि पार्दै विश्वव्यापी रूपमा पाँचौँ ठुलो सम्पत्तिको रूपमा स्थापित गरेको छ ।
जुलाई महिनामा मात्रै यसको मूल्य १३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । कूल क्रिप्टो बजार पुँजीकरण ३.७८ ट्रिलियन डलर नजिक पुग्दा इथेरियमको मूल्य ३ हजार ५७ डलर पुगेको छ ।

पछिल्लो अध्यावधिक: असार ३०, २०८२ १६:४९
सामाग्री श्रोत :
टेक पाना