काठमाडौँ । भारतीय नागरिकले फोनपेमार्फत् २ अर्ब बढीको डिजिटल भुक्तानी गरेका छन् । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी फोनपेले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार, फोनपे नेटवर्कमार्फत क्रस-बोर्डर यूपिआई (UPI) काे कारोबार संख्या १० लाख नाघेको छ, जसअन्तर्गत् कुल २ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

भारतीय पर्यटकहरूले नेपाल भ्रमणको क्रममा यूपिआई सपाेर्ट गर्ने एप्स प्रयोग गरेर फोनपे क्यूआर स्क्यानमार्फत सहज रूपमा भुक्तानी गर्न थालेसँगै डिजिटल भुक्तानी प्रविधिको तीव्र अपनत्व देखिएको छ । यस प्रवृत्तिले नेपालमा क्रस-बोर्डर डिजिटल भुक्तानीको नयाँ युग प्रारम्भ भएको संकेत दिएको कम्पनीको विश्वास छ।
फोनपेका अनुसार हाल देशका सबै ७७ जिल्लामा सेवा विस्तार भइसकेको छ भने १ लाखभन्दा बढी व्यवसायी फोनपे नेटवर्कमा आबद्ध भइसकेका छन् । सबैभन्दा बढी कारोबार हुने स्थानहरूमा काठमाडौँ, कास्की र कैलाली जिल्लाहरू छन् । यस्तै यूपिआईमार्फत् कारोबार हुने प्रमुख क्षेत्रहरूमा रेस्टुरेन्ट, किराना पसल र होटल/रिसोर्ट रहेका छन् ।
फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवश कुमारले भारतीय ग्राहकहरूबाट प्राप्त विश्वासले नेपालमा डिजिटल अर्थतन्त्र विस्तारको सम्भावना अझ बलियो भएको बताएका छन् । “१० लाख युपिआई कारोबार पार गर्नु भनेको भारतीय ग्राहकहरूले देखाएको आत्मविश्वासको प्रमाण हो,” उनले बताए ।

फोनपेका अनुसार यूपिआई कारोबारमा आएको वृद्धिको मुख्य कारणहरूमा व्यापारीहरूमाझ डिजिटल भुक्तानी प्रति बढ्दो स्वीकार्यता, नेपाल आउने पर्यटकहरूको वृद्धि, र क्यूआर कोडमार्फत भुक्तानीको सहजता रहेका छन् ।
फोनपेले आगामी दिनमा थप डिजिटल नवप्रवर्तनसहित क्रस-बोर्डर भुक्तानी प्रणालीलाई अझ सहज र प्रभावकारी बनाउने योजना अघि सारेको जनाएको छ ।
पछिल्लो अध्यावधिक: असार ३०, २०८२ १३:४९
सामाग्री श्रोत :
टेक पाना