काठमाडौँ । छात्राको जन्मदिनमा अनुपयुक्त मेसेज पठाएपछि रौतहटमा एक शिक्षक पक्राउ परेका छन् । रौतहटको गरुडा नगरपालिका-९ श्रीपुर स्थित श्री माविका शिक्षक रविन्द्रप्रसाद साहलाई प्रहरीले पक्राउ गरेको हो।

४९ वर्षीय शिक्षक साहले कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई मेसेन्जरमा ‘ह्याप्पी बर्थ डे मेरी जान’ भन्दै मेसेज पठाएका थिए । शिक्षकको उक्त मेसेज छात्राले आफ्नो परिवारलाई सुनाएकी थिइन् । इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक ओमप्रकाश यादवका अनुसार शिक्षक साहले गत महिना नै उक्त मेसेज पठाएका हुन् ।
“३० जेठमा नानीको बर्थ डे रहेछ । त्यही दिन मेसेज पठाएका रहेछन् । उनको अरू बेलामा पनि छात्राहरूसँग व्यवहार ठीक नभएको र केही विवाद भएका पनि रहेछन्,” प्रहरी निरीक्षक यादवले टेकपानासँग भने ।
विद्यार्थीलाई मेसेज पठाएको घटनापछि छात्राका परिवार र स्थानीय आइतबार विद्यालय पुगेका थिए । उनीहरूले विद्यालयमा तोडफोड र शिक्षकमाथि कुटपिट पनि गरेका थिए । विद्यालयको अवस्था तनावग्रस्त बनेपछि इलाका प्रहरी कार्यालय गरुडाको टोली पुगेर अश्रुग्यास प्रहार गरी स्थिति नियन्त्रणमा लिएको थियो । साथै शिक्षक साहलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ ।

शिक्षक पक्राउपछि छात्राका परिवार, आफन्त र वडाका जनप्रतिनिधि पनि इलाका प्रहरी कार्यालयमा पुगेका छन् । अन्य छात्राहरूलाई समेत शिक्षक साहले अभद्र व्यवहार गरिएको सुनिएपनि हालसम्म उजुरी नपरेको प्रहरीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: असार २९, २०८२ १६:४६
सामाग्री श्रोत :
टेक पाना