२०८२ भाद्र १३ शुक्रबार
२०८२ भाद्र १३ शुक्रबार

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डको सर्भरमा बारम्बार समस्या आउँदा देशकै जेठो अस्पताल, वीर अस्पतालमा उपचारका लागि पुगेका सेवाग्राहीले चरम सास्ती व्यहोर्नु परेको छ । सर्भर ‘डाउन’ हुने र चलेको समयमा पनि अत्यन्तै सुस्त हुँदा टिकट काट्नेदेखि औषधि लिनेसम्मका काममा घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता रहेको बिरामीहरूले गुनासो गरेका छन् ।

बिहानैदेखि लाइनमा बसेका काभ्रे तेमालका ६५ वर्षीय प्रेम बहादुर तामाङले आक्रोश पोख्दै भने, “बिहान ७ बजे गाडी चढेर उपचार गर्न आइयो । यहाँ टिकट काट्ने लाइनमै दुई घण्टा बित्यो । बल्ल पालो आउँदा ‘सर्भर चलेन, पछि आउनुस्’ भनेर फर्काइदिए । पैसा बचाउन बीमा गरेको, यहाँ आउने-जाने गाडी भाडा र दिनभरको सास्तीले झन् बिरामी बनायो ।”

अस्पतालका अनुसार स्वास्थ्य बीमाको प्रणालीमा देखिने यस्तो समस्या दैनिकजस्तै बनेको छ । जसका कारण बिरामी र अस्पताल प्रशासन दुवै मारमा परेका छन् ।

अस्पतालका प्रवक्ता सुरेश खड्काले स्वास्थ्य बीमा बोर्डबाट सञ्चालित सर्भर दिनमा एक-दुई पटक ‘डाउन’ हुने र चल्दा पनि अत्यन्त सुस्त गतिमा चल्ने गरेको बताए । उनले भने, “पाँच जना सेवाग्राहीको काम सकिनुपर्ने समयमा मुस्किलले एक जनाको काम हुन्छ, यसले गर्दा बिरामीको लाइन लम्बिँदै गएको छ ।”

वीर अस्पतालमा दैनिक ओपीडीमा मात्रै २,८०० भन्दा बढी बिरामी आउने गर्छन् । तर, सर्भरको समस्याले टिकट काट्न र औषधिको भुक्तानी गर्न समेत लामो समय लाग्दा बिरामीहरू आक्रोशित बन्ने गरेका छन् ।

यस समस्याले सेवाग्राहीलाई मात्र नभई अस्पतालको आर्थिक व्यवस्थापनमा समेत गम्भीर असर पारेको छ । अस्पतालले बीमा गरेका बिरामीको उपचार गरेबापत बोर्डबाट समयमै भुक्तानी नपाएको प्रवक्ता खड्काले बताए ।

“गत वर्षदेखि नै बोर्डले ४० करोड रुपैयाँभन्दा बढी भुक्तानी गर्न बाँकी छ,” उनले भने, “यसले गर्दा अस्पतालको आर्थिक व्यवस्थापन र कर्मचारीलाई समयमा तलब खुवाउनसमेत समस्या भएको छ ।”

यता, स्वास्थ्य बीमा बोर्डले भने सर्भरको क्षमता बढाउने काम भइरहेकाले प्रणालीमा समस्या देखिएको स्वीकार गरेको छ । बोर्डका सूचना अधिकारी विवेक मल्लले वीर अस्पतालको समस्याबारे जानकारी प्राप्त भएको र समाधानको प्रयास भइरहेको बताए ।

“नेपालभरका ४७५ वटा प्रथम सेवा बिन्दुमा यही प्रणालीबाट काम हुन्छ । सर्भरको क्षमता अभिवृद्धि गर्ने काम चलिरहेकाले बेलाबेलामा प्रणाली सुस्त हुने समस्या आएको हो,” मल्लले भने, 

“यसको मर्मतसम्भारका लागि हामीले कर्मचारी खटाइसकेका छौँ र छिट्टै समाधान गर्ने प्रयासमा छौँ ।” 


 

पछिल्लो अध्यावधिक: असार २९, २०८२ १४:४५





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ । नेपाली स्टार्टअप ‘वायुदृष्टि’ विश्वकै सबैभन्दा ठुलो मानिने विद्यार्थी स्टार्टअप प्रतियोगिता ‘हल्ट प्राइज’ को विश्वव्यापी प्रतिस्पर्धाका लागि छनोट भएको छ । १० लाख अमेरिकी डलर (करिब १३ करोड ७० लाख रुपैयाँ) पुरस्कार राशिको उक्त प्रतिष्ठित प्रतियोगिताको शीर्ष २० मा स्थान बनाउँदै वायुदृष्टिले ऐतिहासिक उपलब्धि हासिल गरेको हो ।

यो सफलतासँगै वायुदृष्टि हल्ट प्राइजको विश्वस्तरीय अन्तिम चरणमा पुग्ने पहिलो नेपाली टोली बनेको छ । वायुदृष्टिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सक्रीय पाण्डेका अनुसार यस वर्ष १३० देशका १५ हजारभन्दा बढी स्टार्टअपहरू र दुई लाखभन्दा बढी प्रतिस्पर्धीहरूले प्रतियोगितामा भाग लिएका थिए ।

आगामी ३ सेप्टेम्बरमा बेलायतमा आयोजना हुने अन्तिम प्रतिस्पर्धाअघि छनोट भएका टोलीहरूलाई ६ अगस्टदेखि एक महिना लामो विशेष इन्क्युबेसन कार्यक्रममा सहभागी गराइनेछ । उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय कम्पनीका सीईओहरू तथा लगानीकर्ताहरूसँग सिक्ने र सहकार्य गर्ने अवसर मिल्ने पाण्डेले बताए ।

“अहिलेसम्म कुनै पनि नेपाली स्टार्टअप यो चरणसम्म पुग्न सकेको थिएन । प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास छ,” उनले भने ।

विश्व मञ्चसम्मको यात्रा वायुदृष्टिको यो यात्रा सरस्वती बहुमुखी क्याम्पसको आन्तरिक प्रतिस्पर्धाबाट सुरु भएको थियो । क्याम्पस विजेता बनेपछि राष्ट्रिय स्तरमा पनि उत्कृष्ट हुँदै टोलीले क्षेत्रीय चरणमा स्थान बनाएको थियो । दक्षिण तथा मध्य एसियाका ५० प्रतिस्पर्धी स्टार्टअपलाई पछि पार्दै वायुदृष्टिले विश्वका शीर्ष २० टोलीमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

हल्ट प्राइजले फाइनलिस्ट टोलीको बेलायतमा भिसा, बसोबास र खानाको सम्पूर्ण खर्च बेहोर्नेछ भने हवाई टिकट खर्च टोली आफैँले व्यवस्था गर्नुपर्नेछ ।

के हो वायुदृष्टि ?

‘वायुदृष्टि’ वायु प्रदूषण मापन गर्ने सस्तो र बोक्न सजिलो उपकरण निर्माण गर्ने स्टार्टअप हो । यसले वास्तविक समयमा वायुको गुणस्तरको जानकारी दिनुका साथै एआईमार्फत सात दिनपछिको प्रदूषणको अवस्थाबारे भविष्यवाणी समेत गर्न सक्छ ।

१९ वर्षीय सक्रिय पाण्डे, २३ वर्षीया श्रीशा पाण्डे, २१ वर्षीया मञ्जिला पाण्डे र २५ वर्षीय विक्रम थापा सम्मिलित टोलीले यो उपकरण विकास गरेको हो । हाल बजारमा उपलब्ध ३० हजार डलर (करिब ४१ लाख रुपैयाँ) पर्ने महँगा उपकरणको तुलनामा वायुदृष्टिको उपकरणले मात्र २५० डलर (करिब ३५ हजार रुपैयाँ) मा नै भरपर्दो नतिजा दिने दाबी गरिएको छ ।

सम्बन्धित समाचार: नेपाली युवाले बनाए हातमै अट्ने वायु प्रदूषण मापन उपकरण, ४१ लाखको काम ३५ हजारमै

पछिल्लो अध्यावधिक: असार २९, २०८२ १८:४६





सामाग्री श्रोत :
टेक पाना

विद्यार्थीहरूलाई अनुशासित, दक्ष र सीपयुक्त बनाई छिटोछरितो रूपमा रोजगारी प्राप्त गराउने उद्देश्यले सीटीईभीटीले मान्यता प्राप्त संस्था मार्फत शिक्षा प्रदान गरिरहेको छ।

प्रत्येक वर्ष सीटीईभीटीले प्रवेश परीक्षा लिएर परीक्षाको प्राप्ताङ्कको आधारमा भर्ना गर्दै आएकोमा यस पटक भने एसईईको ग्रेडको आधारमा भर्ना लिने निर्देशन जारी गरेको छ। यस निर्णयले एसईईपछिको निरन्तर अध्ययन गर्ने परिपाटीमा बाधा पुग्न सक्ने चिन्ता उत्पन्न भएको छ।

उदाहरणका लागि, मोरङ निवासी एक साथी रोजगारको लागि कतारमा बसिरहनुभएको छ। उहाँका छोराले एसईई दिएपछि विराटनगरमा कोठा लिएर फार्मेसीको प्रवेश परीक्षाको तयारी गरिरहेका थिए। तर यसपटक सीटीईभीटीले परीक्षा नलिने जानकारी पाएपछि पढाइ छोट्याएर घरमै बस्न थाले।

त्यस्तै, उदयपुर निवासी एक छात्रा एसईईमा करिब २ जीपीए ल्याएर पास भएकी थिइन्। भर्ना नपाइएला कि भन्ने डरले उनले खुबै मेहनत गरी सीटीईभीटीको प्रवेश परीक्षामा नाम निकालिन्, भर्ना पाइन् र काउन्सिलको परीक्षा पनि पास गरिन्। अहिले उनी एक निजी अस्पतालमा हेल्थ असिस्टेन्टको रूपमा कार्यरत छन्।

धेरै समयपछि ती छात्रासँग भेट भयो। उनले नमस्कार भनिन्। मैले पनि नमस्कार फर्काउँदै भनेँ, ‘धेरै संस्कारी भएकी रहेछ्यौ, खुसी लाग्यो, सधैं यसैगरी रहनु।’
उनी थपिन्, ‘तपाईंले केवल पाठ्यक्रम मात्र होइन, संस्कार पनि सिकाउनुभयो, अनुशासनमा बस्न सिकाउनुभयो। पढ्दा रिस उठ्थ्यो, तर अहिले सम्झिँदा सबै हाम्रै हितको लागि थियो।’

अनि प्रश्न गरिन्, ‘सर, यसपाली सीटीईभीटीले प्रवेश परीक्षा नलिने रे? परीक्षा बिना कसरी मूल्यांकन हुन्छ त? के अब काउन्सिल पनि एसईईकै मार्क्सको आधारमा पास गरिने हो? चिकित्सा आयोग र सीटीईभीटीबीचको सम्बन्धले गर्दा ढिलो भएको हो?’ मैले स्पष्ट उत्तर दिन सकिनँ। तर आफ्नो व्यक्तिगत विचार भने बाँडेँ।

प्रवेश परीक्षा नलिँदा के हुन्छ?
सीटीईभीटीले २०८२ को निर्देशिकाको परिच्छेद ३, बुँदा ६, ‘क’ मा स्पष्ट रूपमा लेखिएको छ कि एसईईको प्राप्त जिपीएको आधारमा उम्मेदवारको योग्यता सूची तयार पारिने छ र यही आधारमा छनोट गरिने छ। अर्थात् प्रवेश परीक्षा नहुने छ।

परीक्षा नहुँदा विद्यार्थीहरूले एसईईमै राम्रो परिणाम ल्याउन कसरत गर्ने छन् भन्ने सकारात्मक पक्ष देखिन्छ। तर एउटै परीक्षाको अंक अर्को तहको भर्नाको लागि उपयुक्त आधार होलान् भन्न सकिन्न।

परिकल्पना गरौं, एसईईकै आधारमा भर्ना भई, अन्तिम परीक्षा पास गरेपछि सम्बन्धित काउन्सिलले सोही प्रतिशत अनुसार लाइसेन्स दिँदा कस्तो अवस्था आउला? अनि चिकित्सा आयोगले स्नातक तहमा पनि यस्तै आधारमा भर्ना लिँदा गुणस्तरको अवस्था के होला?

सीटीईभीटीले सीपलाई प्राथमिकतामा राखेर परीक्षा नराखेको हुनसक्छ। तर प्रवेश परीक्षा बिना भर्ना गर्दा त्यसको महत्त्व कम हुनसक्छ। अन्तिम परीक्षा पास नहुँदा विद्यार्थीको समय र अर्थ दुबै बर्बाद हुने सम्भावना रहन्छ।

कसरी मूल्यांकन गर्ने?
नेपालको संविधान २०७२ को भाग ३, बुँदा ३१ मा शिक्षाको हकको ग्यारेन्टी गरिएको छ। माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुनेछ भन्ने उल्लेख छ।
तर सीटीईभीटीको निर्देशिकामा सरकारी विद्यालयबाट एसईई पास गर्ने विद्यार्थीलाई १ अंक र निजी विद्यालयका लागि ०.८५ अंक दिनु अन्यायपूर्ण देखिन्छ।

०.१५ अंकको यो फरकले सरकारी विद्यालयका विद्यार्थीलाई निरुत्साहित तुल्याउँछ। निजी विद्यालयहरूले अधिक अंक ल्याउनका लागि विविध उपाय अपनाउँछन् भने सरकारी विद्यालयको अवस्था सर्वविदितै छ।

भर्ना सूचना ढिलो हुँदा के असर पर्छ?
धेरै उच्च माध्यमिक विद्यालयहरूमा कक्षा ११ सञ्चालन भइसकेको हुन्छ। तर सीटीईभीटी अन्तर्गतका स्वास्थ्य सम्बन्धी संकायहरूमा भर्ना अझै नटुंगिएको अवस्थामा विद्यार्थी अन्य संकायतिर मोडिन सक्छन्।

तीन वर्षीय नर्सिङ, एचए, फार्मेसीमा विद्यार्थी आकर्षित भए तापनि डिप्लोमा तहको ल्याब, रेडियोग्राफी, फिजियोथेरापी जस्ता विषयमा छात्र संख्या कोटा अनुसार पुग्न सक्दैन। यसले भर्ना प्रक्रिया नै कमजोर बनाउँछ।

सीटीईभीटी र चिकित्सा आयोगबीच समन्वय
सीटीईभीटी र चिकित्सा शिक्षा आयोगबीच समन्वय अभावका कारण सूचना ढिलो हुने, पाठ्यक्रम परिवर्तन अनिश्चित हुने जस्ता समस्या आइरहेका छन्। समयमै सूचना नआएमा विद्यार्थी र अभिभावक दुवै तनावमा पर्छन्।

विद्यार्थी र अभिभावकको चाहना
विद्यार्थी र अभिभावक सबैको चाहना भनेको समयमै प्रवेश परीक्षा भएर गुणस्तरीय शिक्षा प्राप्त गर्न पाउनु हो।

परीक्षा नै ज्ञान, सीप र गुणको मापनको माध्यम भएकाले, प्रवेश परीक्षा लिएर भर्ना गर्दा मात्र योग्य र सक्षम विद्यार्थी छनोट हुने सम्भावना रहन्छ। प्रवेश परीक्षा नहुनु भनेको गुणस्तर घटाउनु हो, जसले शिक्षाको गरिमा खस्कन सक्छ।

शिक्षा भनेको केवल प्रमाणपत्र होइन, व्यक्तित्व निर्माणको माध्यम पनि हो। त्यसैले शिक्षा प्रणाली समयसापेक्ष, प्रभावकारी र पारदर्शी हुन आवश्यक छ।

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । आगामी साउन १ गतेदेखि सबै सार्वजनिक निकायबाट हुने भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्नपर्ने भएको छ । आइतबार सबै मन्त्रालय, आयोग, संस्थान तथा समितिहरूलाई पत्राचार गर्दै अर्थ मन्त्रालयले उक्त व्यवस्था कार्यान्वयनका लागि आग्रह गरेको हो । 

मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले जारी गरेको पत्रमा आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमार्फत गरिएको नीतिगत व्यवस्थालाई कार्यान्वयन गर्न लागिएको उल्लेख छ । 

बजेटको बुँदा नम्बर ३३५ मा सार्वजनिक निकायबाट हुने सबै भुक्तानीलाई विद्युतीय प्रणालीमा आबद्ध गर्ने घोषणा गरिएको छ । “उक्त नीतिगत व्यवस्था बमोजिम आगामी २०८२ साउन १ गतेदेखि हुने सबै प्रकारको भुक्तानीलाई अनिवार्य रूपमा विद्युतीय प्रणाली मार्फत गर्ने व्यवस्था गर्न/गराउनु हुन मिति २०८२/०३/२७ को माननीय उपप्रधानमन्त्री एवं अर्थमन्त्रीस्तरीय निर्णयानुसार अनुरोध छ,” पत्रमा भनिएको छ । 

यो व्यवस्था लागु भएपछि सरकारी कोषबाट हुने तलब, भत्ता, खरिद, अनुदान लगायतका सबै कारोबार अनिवार्य रूपमा अनलाइनबाट मात्र हुनेछन् । मन्त्रालयले उक्त परिपत्रको बोधार्थ महालेखापरीक्षकको कार्यालय र महालेखा नियन्त्रक कार्यालयलाई समेत दिएको छ ।

पछिल्लो अध्यावधिक: असार २९, २०८२ १९:१७





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाल स्वास्थ्य क्षेत्रमा काम गरिरहेको गैरनाफामूलक संस्था काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई काठमाडौँमा बहुविशिष्टीकृत बाल अस्पताल निर्माणका लागि रु १ करोड रुपैयाँ सहयोग गरेको छ।

कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत उक्त आर्थिक सहयोग प्रदान गरिएको हो।

किओचको कार्यालयमा आयोजित कार्यक्रममा दुई संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। किओचको तर्फबाट संस्थापक अध्यक्ष मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला र नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले हस्ताक्षर गरेका हुन्।

काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–७ मा ‘हब’ अस्पतालका रूपमा बहुविशिष्टीकृत बाल अस्पताल किओच–काठमाडौँको निर्माण अन्तिम चरणमा पुगेको छ। अस्पतालको मूल भवन निर्माण भइरहँदा बिरामी बालबालिकालाई सेवा दिन तथा बाल स्वास्थ्य र नसर्ने रोगसम्बन्धी अनुसन्धान अघि बढाउन क्लिनिकल रिसर्च बिल्डिङ निर्माण भई सेवा सञ्चालन भइसकेको छ।

समारोहमा नेपाल लाइफका संचालक कमलेश कुमार अग्रवालले डा. कोइरालाको नेतृत्वमा अघि बढेको यस परियोजनाले नेपालका बालबालिकाको स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए। उनले यस किसिमका परियोजनाले राज्य नीतिलाई समेत सघाउ पुर्‍याउने र भविष्यमा निजी क्षेत्रको सहकार्यबाट देशभर नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन सकिने विश्वास व्यक्त गरे।

कम्पनीका सीईओ प्रवीण रमण पराजुलीले नेपाल लाइफले सामाजिक, आर्थिक, शैक्षिक र संस्कृतिक क्षेत्रमा रुपान्तरण ल्याउन संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत थुप्रै काम गर्दै आएको जानकारी दिए। उनले बाल स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने किओच परियोजनामा जोडिन पाउँदा खुसी व्यक्त गर्दै आगामी दिनमा राजधानी लगायत सातै प्रदेशमा सुविधासम्पन्न बाल अस्पताल स्थापनामा सहयोग गर्न कम्पनी प्रतिबद्ध रहेको बताए।

किओचका संस्थापक अध्यक्ष डा. भगवान कोइरालाले नेपाल लाइफको सहयोगप्रति आभार व्यक्त गर्दै यसले परियोजनालाई थप गति दिने बताए। उनले नेपाल लाइफजस्तो प्रतिष्ठित संस्थासँग सहकार्य गर्न पाउँदा संस्थालाई थप हौसला मिलेको र आगामी दिनमा समेत यस्तो सहकार्य जारी रहनेमा विश्वास व्यक्त गरे।

किओचले देशभरका प्रादेशिक बाल अस्पतालका लागि श्रोत केन्द्रको रूपमा केन्द्रीय बहुविशिष्टीकृत बाल अस्पताल सञ्चालन गर्ने लक्ष्य लिएको छ। हाल परियोजना अन्तर्गत पहिलो किओच–दमक बाल अस्पताल स्थापना भई सेवा सञ्चालनमा रहेको छ। यस अस्पतालबाट आकस्मिक, बहिरङ्ग, अन्तरङ्ग, शल्यक्रिया, प्रयोगशाला, रेडियोलोजी, पीआईसीयू, एनआईसीयू, एचडीयु लगायतका सेवा प्रदान भइरहेका छन्।

 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा विकृति फैलिएको भन्दै राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले तीन ओटा गीत विरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता गराएको छ । आइतबार संस्थाका अध्यक्ष चन्द्रमणि गौतम र सचिव कमल सरगम लगायतको टोलीले ब्युरोको कार्यालय पुगेर उजुरी दिएको हो ।

संस्थाले आफ्नो उजुरीमा पछिल्लो समय युट्युब, टिकटक जस्ता सामाजिक सञ्जालमा सार्वजनिक भएका केही गीतहरू अत्यन्तै अमर्यादित, अश्लील, द्विअर्थी र सांस्कृतिक मर्यादाविपरीत रहेको उल्लेख गरेको छ । यस्ता गीतले युवा पुस्तामा नकारात्मक प्रभाव पार्नुका साथै समाजमा अपसंस्कृति फैलाइरहेको संस्थाको ठहर छ ।

उजुरीमा तीन ओटा गीतलाई किटान गरिएको छ । पहिलो ‘गाई कालो’ बोलको गीत रहेको छ । यसमा धुर्व पुन र चन्द्र कुमारी शाहीको स्वर रहेको छ । 

त्यस्तै दोस्रोमा छ ‘सल्ला दमारमा’ । यसमा राजकुमार वली, अस्मिता थापा र लक्ष्मी थापाको स्वरमा रहेको छ । त्यस्तै अर्को गीत हो ‘लुकी लुकी’ । यसमा रामजी खाँण र शान्तिश्री परियारको स्वरमा रहेको छ भने सुनील क्षेत्री, विनय अधिकारी प्रियङ्का कार्की लगायतले अभिनय गरेका छन् ।

यी गीतहरूमा प्रयोग भएका शब्द, हाउभाउ र दृश्यले सामाजिक मर्यादा उल्लङ्घन गरेको, युवामा नकारात्मक सोच जन्माउने तथा सामाजिक सद्भाव भड्काउने किसिमको रहेको पत्रमा उल्लेख छ ।

“व्यापारिक लाभको उद्देश्यले बनाइएका यस्ता सामग्रीले हाम्रो मौलिकता, भाषा र संस्कृतिको मूल्य मान्यतालाई क्षति पुर्‍याइरहेको छ,” उजुरी पत्रमा भनिएको छ ।

संस्थाले ब्युरो समक्ष उक्त गीतहरूको निर्माण तथा प्रसारणमा संलग्न व्यक्तिलाई पहिचान गरी आवश्यक कानूनी कारबाही अगाडि बढाउन र भविष्यमा यस्ता सामग्री निर्माण नगर्ने कबुलनामा गराउन र सामाजिक सञ्जालबाट तत्काल हटाउन सम्बन्धित निकायलाई निर्देशन दिन माग गरेको छ ।

“नेपाली लोक संस्कृतिको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन हाम्रो साझा दायित्व हो,” अध्यक्ष चन्द्रमणी गौतमले भने, “सस्तो लोकप्रियताका लागि हाम्रो संस्कृतिमाथि प्रहार गर्ने कसैलाई छुट हुनुहुँदैन ।”

साइबर ब्युरोले उक्त उजुरी दर्ता नं. ३७९६ मा दर्ता गरी आवश्यक अनुसन्धान अगाडि बढाउने जनाएको छ । 

पछिल्लो अध्यावधिक: असार २९, २०८२ १८:४५





सामाग्री श्रोत :
टेक पाना

पाँचथर । आजभोलि प्रायःजसो युवाहरू आकर्षक रोजगारीका लागि विदेशिन लालायीत हुन्छन्। तर पाँचथरको याङवरक गाउँपालिका–६ रमितेका कमल तिम्सिना विदेश जाने सपना त्यागेर गाउँमै गोलभेँडा फलाइरहेका छन्। गोलभेँडा उत्पादनबाट तिम्सिनाको परिवारले मनग्य आम्दानी पनि गर्दै आएका छन्।
तिम्सिनाको दैनिकी आजभोलि सदाभन्दा केही फरक छ । बारीमा लटरम्म पाकेका गोलभेँडा टिपेर बाटोसम्म पुर्याउन उनको परिवारलाई भ्याइनभ्याइ छ। २० रोपनी क्षेत्रफलमा लगाइएको गोलभेँडाको एक टिपाइ नसकिँदै अर्को टिपाइको बेला भइसक्छ।
‘आजभोलि सधैँभन्दा धेरै काम गर्नुपर्छ। अरु बेलाचाहिँ काम त गर्नुपर्छ, तर धेरै र गाह्रो काम हुँदैन’, तिम्सिनाले भने, ‘गाउँघरमा कामले भने कहिल्यै छाड्दैन।’तिम्सिना परिवारले याङवरक गाउँपालिका–६ रमिते र हिलिहाङ गाउँपालिका–१ फेदापामा करिब ४० रोपनी क्षेत्रफलमा खेती गर्ने गरेको छ। यो जमिन केही तिम्सिना परिवारको आफ्नै हो भने केही बन्धकीमा लिइएको हो । यहाँ गोलभेँडा, खुर्सानी, सुन्तलालगायत नगदेबाली लगाइएको छ । दुवैतर्फ घर छन्, जहाँ पशुपालन पनि छ।
‘पाँच जनाको परिवारले सबै काम भ्याउँदै आएका छौँ’, २७ वर्षका कमलले भने, ‘सब्जीखेती र पशुपालनबाट हुने आम्दानीले हामी सन्तुष्ट छौँ।’तिम्सिनाको परिवार ११ वर्षअघि ताप्लेजुङको चाक्सिबोटेबाट बसाइँ सरेर पाँचथर आएको थियो । मेची राजमार्ग नजिकै बसोबास गरेको तिम्सिना परिवारले व्यावसायिक रूपमा गोलभेँडा खेती गर्न थालेको १० वर्ष भयो । एक टिपाइमा तिम्सिना परिवारले २० देखि ६० क्यारेटसम्म गोलभेँडा उत्पादन गर्ने गरेको छ । एक क्यारेटमा औसतमा २३ किलोग्राम गोलभेँडा हुन्छ । एकै बिरुवाबाट तीनदेखि सातपटकसम्म गोलभेँडा टिपाइ हुने गर्छ।
अहिले व्यवसायीहरूले प्रतिकिलो रु २० मा गोलभेँडा खरिद गरेर लगिरहेका छन् । तर १० वर्षको अवधिमा गोलभेँडाले कहिले प्रतिकिलो दुई रुपैयाँ ५० पैसा मूल्य पायो त कहिले ७० रुपैंयाँसम्म । ती सबै अनुभव यो परिवारसँग छ। गोलभेँडाको मूल्य बजारमा कहिलेमाथि हुन्छ भने कहिले निकै कम । तर कहिल्यै हिम्मत नहारी तिम्सिना परिवारले खेती गरिरहेको छ।
यहाँ गोलभेँडा फागनु, चैत र भदौमा गरी दुईपटक लगाउने गरिएको छ । गोलभेँडामा सामान्य विषादी हाल्ने गरिएको कृषक बताउँछन् । रोग कीराको अत्यधिक समस्या हुने भएकाले विषादी प्रयोग गर्ने गरिएको उनीहरूको भनाइ छ।
उत्पादन भएको कृषि उपज सस्तो मूल्यमा भए पनि बिक्री भने भइरहेको छ । यहाँ गोलभेँडा, खुर्सानीलगायत कृषि उपज उत्पादन गर्ने किसानहरूले प्रायः एकै व्यवसायीलाई आफ्ना उत्पादन बिक्री गर्ने गर्छन्, जसका कारण कम मूल्य भए पनि उत्पादित सामग्री उठ्ने गरेको छ।
हुन त कमलले विदेश जाने कुरा नसोचेको भने होइन। तर आकर्षक रोजगारीमा जान लगानी धेरै लाग्ने भएपछि कमलको मन गाउँमै अडियो । ‘विदेश जानचाहिँ खोजेको हुँ। तर पछि मन लागेन। लगानी धेरै लाग्छ भनेपछि गाउँमै खेती गर्छु भनेर यतै बसेँ’, कमलले भने, ‘गाउँमा पनि आम्दानी ठिकै थियो, परिवारसँगै बसेर केही आम्दानी हुँदैछ भने किन विदेश जाने भन्ने लाग्यो।’
कमलकी आमा टीकादेवी तिम्सिना छोरो विदेश नगई गाउँमै खेती गरिरहेकामा खुसी छन्। “विदेश गए पनि दुःख उत्तिकै गर्नुपर्छ होला भन्ने लाग्छ । विदेश जाँदा पैसाचाहिँ अलि बचत हुन्थ्यो होला”, टीकादेवीले भनिन्, “यहाँ जति आम्दानी भए पनि बचाउन मुस्किल पर्छ । तर घरमै बसेर पनि केही आम्दानी त भइरहेकै छ।”
हुन त यो क्षेत्रका सबैले सब्जी खेती गर्दछन् । प्रत्येक घरले दुईदेखि तीन पिकअप गोलभेँडा उत्पादन गर्ने गरेको कमलका छिमेकी दिलबहादुर राईको भनाइ छ । किसानले राम्रो उत्पादन गरे पनि कृषि उपजले मूल्य नपाउँदा बेलाबखत आफूहरू निराश हुने गरेको राईको भनाइ छ।
गत वर्ष एक सय ३० प्रतिकिलो बिक्री गरेको खुर्सानी अहिले प्रतिकिलो ३० मा बिक्री भइरहेको किसानहरू बताउँछन्। खुर्सानी टिप्ने कामदारले एक दिनमा ४० किलो खुर्सानी टिप्छन्। कामदारलाई दैनिक पाँच सय ज्याला दिनुपर्छ।
‘अहिले खुर्सानीले साँवा पनि नउठाउने स्थिति छ’, कमलले भने, ‘गोजीको पैसा लगाएर भए पनि बारीमा लगाएको खुर्सानी खेर जान दिनु भएन। बजारमा पठाउनु त पर्यो नै। अहिले किसानलाई गाह्रो छ।’ रासस

सामाग्री श्रोत :
deshparadesh

काठमाडौँ । छात्राको जन्मदिनमा अनुपयुक्त मेसेज पठाएपछि रौतहटमा एक शिक्षक पक्राउ परेका छन् । रौतहटको गरुडा नगरपालिका-९ श्रीपुर स्थित श्री माविका शिक्षक रविन्द्रप्रसाद साहलाई प्रहरीले पक्राउ गरेको हो।

४९ वर्षीय शिक्षक साहले कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई मेस‍ेन्जरमा ‘ह्याप्पी बर्थ डे मेरी जान’ भन्दै मेसेज पठाएका थिए । शिक्षकको उक्त मेसेज छात्राले आफ्नो परिवारलाई सुनाएकी थिइन् । इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक ओमप्रकाश यादवका अनुसार शिक्षक साहले गत महिना नै उक्त मेसेज पठाएका हुन् ।

“३० जेठमा नानीको बर्थ डे रहेछ । त्यही दिन मेसेज पठाएका रहेछन् । उनको अरू बेलामा पनि छात्राहरूसँग व्यवहार ठीक नभएको र केही विवाद भएका पनि रहेछन्,” प्रहरी निरीक्षक यादवले टेकपानासँग भने ।

विद्यार्थीलाई मेसेज पठाएको घटनापछि छात्राका परिवार र स्थानीय आइतबार विद्यालय पुगेका थिए । उनीहरूले विद्यालयमा तोडफोड र शिक्षकमाथि कुटपिट पनि गरेका थिए । विद्यालयको अवस्था तनावग्रस्त बनेपछि इलाका प्रहरी कार्यालय गरुडाको टोली पुगेर अश्रुग्यास प्रहार गरी स्थिति नियन्त्रणमा लिएको थियो । साथै शिक्षक साहलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ ।

शिक्षक पक्राउपछि छात्राका परिवार, आफन्त र वडाका जनप्रतिनिधि पनि इलाका प्रहरी कार्यालयमा पुगेका छन् । अन्य छात्राहरूलाई समेत शिक्षक साहले अभद्र व्यवहार गरिएको सुनिएपनि हालसम्म उजुरी नपरेको प्रहरीले जनाएको छ ।‍

 

पछिल्लो अध्यावधिक: असार २९, २०८२ १६:४६





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं- नेपालको स्वास्थ्य क्षेत्रको बढ्दो चाप र चुनौतीबीच, स्वास्थ्यकर्मीहरू माथि कार्यस्थलमा हुने हिंसाको भार र त्यससित सम्बन्धित कारक तत्वहरु पत्ता लगाउन एक अनलाइन राष्ट्रिय सर्वेक्षण सुरु गरिएको छ। सर्वेक्षणको उद्देश्य कार्यस्थलमा हुने हिंसाको भार, प्रकार र त्यसका बहुआयामिक कारणहरू बुझ्नु हो, जसले दीर्घकालीन नीतिगत समाधानमा योगदान पुर्‍याउनेछ।

सर्वेक्षणका प्रमुख अध्ययनकर्ता मुकेश अधिकारीले भने, ‘हामीले यो सर्वेक्षण सुरु गर्नुअघि कार्यस्थलमा शारीरिक हिंसा भोगेका १२ जना स्वास्थ्यकर्मीहरू माथि गुणात्मक अध्ययन गरेका थियौं। त्यस अध्ययनले देखायो कि कार्यस्थलमा हुने हिंसाका कारणहरू बहुआयामिक छन्। हामीले बाहिर देखे जस्तो सतही कारणहरु मात्र नभई भित्री कारणहरु पनि हुने रहेछन् । धेरै नतिजाहरु मध्ये एउटा चाखलाग्दो नतिजा चाँहि हामीले के पायौ भन्दाखेरी शक्ति वा पहुँच भएका बिरामी तथा तिनीहरूका आफन्तहरूले हिंसा गर्ने सम्भावना धेरै देखियो।’

अध्ययनका अर्का अध्ययनकर्ता डा. बोम बिसी, जो वरिष्ठ कन्सल्टेन्ट रेडियोलोजीस्टको रुपमा राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठानमा कार्यरत छन्, ले भने, ‘हिंसाले स्वास्थ्यकर्मीहरूमा शारीरिक, मानसिक र मनोवैज्ञानिक असर पार्न सक्छ। यसले उनीहरूबाट प्रदान गरिने स्वास्थ्य सेवाको गुणस्तरमा पनि गिरावट ल्याउन सक्छ।’

यस अघि गरिएको गुणात्मक अध्ययनले कारणहरू पत्ता लगाएको भए पनि, नेपालको सन्दर्भमा स्वास्थ्यकर्मीमाथि कार्यस्थलमा हुने हिंसाको भार सम्बन्धी राष्ट्रिय स्तरको तथ्यांकको अभाव रहेको भन्दै, सोही अभाव पूर्ति गर्न यो अध्ययन थालिएको हो।

नीतिगत सन्दर्भमा अध्ययनको महत्व
अधिकारीका अनुसार यो अध्ययनबाट प्राप्त हुने निष्कर्षहरूले नेपालमा स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्य वातावरण सुनिश्चित गर्नका लागि नीति निर्माणमा प्रत्यक्ष योगदान पुर्‍याउनेछ। कार्यस्थलमा हिंसाको प्रभावबारे वैज्ञानिक प्रमाण उपलब्ध गराएर स्वास्थ्य मन्त्रालय, अस्पताल प्रशासन र सुरक्षा निकायलाई ठोस रणनीति तयार गर्न सहज बनाउनेछ।

अधिकारीले जोड दिदै भने, ‘यो सर्वे मात्र तथ्य संकलन होइन, स्वास्थ्यकर्मीका आवाजलाई नीति निर्माणमा पुर्‍याउने पुल हो।’

सर्वेक्षणमा सहभागी हुनेबारे जानकारी
सर्वेक्षणमा नेपालका सबै स्वास्थ्यकर्मी (चाहे सरकारी, निजी वा स्वयंसेवी संस्थामा कार्यरत) सहभागी हुन सक्नेछन्। यो अध्ययन नेपाल स्वास्थ्य व्यवसायी परिषदको इथिकल रिभ्यू कमिटीबाट स्वीकृत भएको छ। सहभागिता पूर्ण रूपमा गोप्य रहने छ, र चाहे तपाईंले हिंसा भोग्नुभएको होस् वा नभएको, तपाईंको अनुभवले यस अध्ययनलाई अझ समृद्ध बनाउनेछ।

अध्ययनमा तल दिइएको लिंकमा क्लिक गरेर सहभागी हुन सकिनेछ ।  

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । ट्राफिक नियम उल्लङ्घन गरेपछि अनिवार्य लिनुपर्ने सचेतना कक्षा अब अनलाइन माध्यमबाटै लिन सकिने भएको छ । आइतबार आयोजित एक कार्यक्रममा गृहमन्त्री रमेश लेखकले ‘नागरिक एप’ मार्फत सञ्चालन हुने यस सेवाको औपचारिक सुरुवात गरेका हुन् ।

यो नयाँ व्यवस्थासँगै नियम उल्लङ्घन गर्ने चालकले अब जरिवाना तिरेपछि ट्राफिक प्रहरी कार्यालयमा भौतिक रूपमा उपस्थित हुनुपर्ने बाध्यता हटेको छ ।

प्रहरीका अनुसार, देशभर जरिवाना तिरेर पनि सचेतना कक्षा लिन बाँकी रहेका चालकको सङ्ख्या ८३ हजारभन्दा बढी छ । यही समस्यालाई समाधान गर्दै सेवालाई सहज र प्रविधिमैत्री बनाउन अनलाइन कक्षा प्रभावकारी हुने विश्वास लिइएको छ ।

के-के कसुरमा लिन सकिन्छ अनलाइन कक्षा ?

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतिमा हाँक्ने, लेन अनुशासन पालना नगर्ने र रातो बत्तीमा सवारी साधन चलाउने जस्ता कसुरमा कारबाहीमा परेका चालकहरूले यो अनलाइन कक्षा लिन सक्नेछन् ।

कसरी लिने अनलाइन कक्षा ?

यो सेवा नेपाल प्रहरी, नागरिक एप र ज्ञान बजार प्रालिको सहकार्यमा सञ्चालनमा ल्याइएको हो । अनलाइन कक्षा लिनका लागि निम्न प्रक्रिया पूरा गर्नुपर्नेछ:

परीक्षणका क्रममा ३९ हजारभन्दा बढीले यो प्रणाली भिजिट गरेको र पाँच हजारभन्दा बढीले सफलतापूर्वक अनलाइन कक्षा लिएको प्रहरीले जनाएको छ । 

यद्यपि ग्रामीण भेगमा प्रविधिको पहुँच, दक्ष जनशक्तिको अभाव र आम नागरिकमा प्रविधिको प्रयोगसम्बन्धी ज्ञानको कमी यसको कार्यान्वयनमा मुख्य चुनौती बनेर आएका छन् ।

 

 

पछिल्लो अध्यावधिक: असार २९, २०८२ १६:३२





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट