काठमाडौँ । सफ्टवेरिका कलेज अफ आईटी एन्ड ई-कमर्सले आफ्नो तेस्रो संस्करणको प्रविधि उत्सव ‘टेक एक्स: एलिभेट २०२५’ आयोजना गर्ने भएको छ । आउँदो ३२ असारदेखि ३ साउनसम्म चार दिन चल्ने उक्त कार्यक्रम कलेजकै परिसरमा आयोजना हुनेछ ।

यस कार्यक्रममा रोबोटिक्स तथा एआईमा आधारित परियोजना प्रदर्शनदेखि २५ भन्दा बढी आईटी कम्पनीको सहभागितामा रोजगार मेलासमेत आयोजना हुनेछ ।
कार्यक्रमको मुख्य आकर्षणको रूपमा २० भन्दा बढी रोबोटिक्स र एआईमा आधारित प्रोजेक्टहरू प्रदर्शन गरिनेछ । जसमा सहयोगी रोबोट ‘करुणा’, शैक्षिक प्रयोजनका लागि बनाइएको स्मार्ट इन्स्ट्रक्सनल रोबोट ‘मिरा’, सुरक्षा निगरानी गर्ने रोबोट ‘वारदोग’ र कृषिमा प्रयोग हुने एआईमा आधारित ‘तोमात्रों’ जस्ता नवीनतम प्रविधिहरू समावेश छन् ।
त्यसैगरी, कार्यक्रममा विद्यार्थी तथा पूर्व विद्यार्थीहरूले सञ्चालन गरेका २० भन्दा बढी स्टार्टअपहरूले आफ्ना व्यावसायिक मोडेल र उत्पादनहरू प्रस्तुत गर्नेछन् । यसले नेपालको उद्यमशीलताको वर्तमान अवस्थालाई प्रतिबिम्बित गर्ने कलेजले जनाएको छ ।

कार्यक्रमको अर्को महत्त्वपूर्ण आकर्षण दुई दिने रोजगार मेला (जब फेयर) हुनेछ, जसमा २५ भन्दा बढी प्रतिष्ठित आईटी कम्पनीहरूले सहभागी भई हजारौं रोजगारीका अवसरहरू उपलब्ध गराउने जनाइएको छ ।
यो मेला स्नातकदेखि स्नातकोत्तर तहसम्मका आईटी विद्यार्थीहरूका लागि सुनौलो अवसर बन्ने कलेजको विश्वास छ । यसका साथै, व्यवसाय सुरु गर्न चाहनेहरूका लागि स्थापित उद्यमी, लगानीकर्ता र मेन्टरहरूबाट ‘उद्यमशीलता मास्टर कक्षा’ पनि सञ्चालन हुनेछ ।
नेपालका सफल प्रविधिकर्मी तथा उद्यमीहरूले ‘इन्सपाएर टक्स’ मार्फत आफ्ना अनुभव र प्रेरणादायी विचारहरू बाँड्नेछन् भने विद्यार्थी समूहहरूबीच ‘आइरन क्ल्यास’ नामक प्रतिस्पर्धा पनि आयोजना हुनेछ ।
पछिल्लो अध्यावधिक: असार २७, २०८२ १६:३५
सामाग्री श्रोत :
टेक पाना