काठमाडौँ । युट्युब-टिकटक लगायतका माध्यममार्फत विभिन्न व्यक्ति तथा संस्थालाई लक्षित गरी अपशब्द प्रयोग गरेको आरोपमा पक्राउ परेका ‘ड्राइभर रेशम’ उर्फ रेशमराज पौडेल धरौटी रकम बुझाउन नसकेपछि कारागार चलान भएका छन् । काठमाडौँ जिल्ला अदालतले शुक्रबार उनलाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिए पनि उक्त रकम तिर्न नसक्दा उनी थुनामा पठाइएका हुन् ।

बागलुङको निसीखोला गाउँपालिका-४ का ३६ वर्षीय पौडेललाई प्रहरीको साइबर ब्युरोले २ असारमा नेपालगञ्जबाट पक्राउ गरेको थियो । ‘ड्राइभर रेशम’ नामक युट्युब, टिकटक र फेसबुक आईडीमार्फत उनले विभिन्न सार्वजनिक व्यक्तित्व, नेता, मन्त्री तथा कानुन व्यवसायीहरूलाई लक्षित गरी निरन्तर रूपमा अश्लील तथा आपत्तिजनक शब्द प्रयोग गर्दै आएको आरोप छ ।
पौडेलले सञ्चालन गरेको ‘ड्राइभर रेशम’ नामक युट्युब च्यानलमा ९ महिनाको अवधिमा ३७६ ओटा भिडिओ अपलोड भएका थिए, जसका १७ हजारभन्दा बढी सब्स्क्राइबर थिए ।
च्यानलको विवरणमा आफू भूमिगत रहेर भारतीय नागरिकमार्फत भिडिओ अपलोड गर्ने गरेको उल्लेख थियो । उनका अधिकांश भिडिओहरू आक्रोशपूर्ण, सन्देशविहीन र मनोरञ्जनात्मक नभएको प्रहरी अनुसन्धानको निष्कर्ष छ ।

आफूलाई राजावादी दाबी गर्ने पौडेलले विभिन्न पार्टीका नेतालाई विभिन्न आरोप लगाउँदै अपशब्द प्रयोग गरेका थिए । साइबर ब्युरोले पौडेलमाथि तथ्यहीन र आधारहीन विषयमा भ्रमपूर्ण तरिकाले नकारात्मक धारणा फैलाएको भन्दै विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धान पूरा भएपछि ब्युरोले २६ असारमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । शुक्रबार न्यायाधीश श्यामविहारी मौर्यको इजलासले उक्त मुद्दामा पुर्पक्षका लागि ५० हजार रुपैयाँ धरौटी माग गरेको थियो । तर, पौडेलले उक्त रकम जम्मा गर्न नसकेपछि उनलाई कारागार पठाइएको साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले जानकारी दिए । अब उनी धरौटी रकम बुझाएपछि वा मुद्दाको अन्तिम टुङ्गो लागेपछि मात्र रिहा हुनेछन् ।
पछिल्लो अध्यावधिक: असार २७, २०८२ २१:५४
सामाग्री श्रोत :
टेक पाना