काठमाडौँ । डिजिटल वालेट खल्ती र आइएमई पेले एकीकृत कारोबार गर्ने दिन नजिकिँदै जाँदा मर्जरपछिको नयाँ लोगो सामाजिक सञ्जालमा लिक भएको छ । एक रेडिट प्रयोगकर्ताले खल्तीको सम्भावित लोगो बाहिर ल्याएका हुन् ।

‘कस्तो लाग्यो खल्तीको नयाँ लोगो ?’ भन्दै उनले राखेको पोस्ट अनुसार नयाँ लोगोमा खल्तीको हालको पहिचान बनेको बैजनी रङ विस्थापित भएको देखिन्छ । परिमार्जित लोगोमा रातो रङलाई मुख्य ब्रान्ड कलर बनाइएको छ, जसको दायाँपट्टि माथिल्लो भागमा आइएमईको ब्रान्ड झल्काउने चङ्गा राखिएको छ । त्यसको तलपट्टि कालो अक्षरमा ‘by’ र रातो अक्षरमा ‘IME’ राखिएको छ ।
यद्यपि, यो लोगोले आधिकारिकता पाउने वा नपाउने विषयमा टुङ्गो लागेको छैन । कम्पनीभित्रै लोगोमा आइएमईको चङ्गा राख्ने वा खल्तीको पहिचान झल्काउने ‘पकेट’ को आइकन राख्ने भन्ने विषयमा छलफल चलिरहेको आन्तरिक स्रोत बताउँछ ।
यता, आइएमई पेका प्रयोगकर्ताले आफ्नो खाता र त्यसमा रहेको रकम खल्तीमा सार्न सक्ने सुविधा शुक्रबारदेखि सुरु भइसकेको छ । कम्पनीले आफ्ना प्रयोगकर्तालाई आइएमई पे एपमा सूचना पठाउँदै खाता मर्ज गर्न सूचित गरेको हो ।

खाता सार्नका लागि दुवै वालेटमा एउटै मोबाइल नम्बर प्रयोग भएको हुनुपर्नेछ । यदि नम्बर एउटै भए पनि नाम फरक परेमा स्वतः मर्ज नहुने र त्यसका लागि कम्पनीमा सम्पर्क गर्नुपर्ने कम्पनीका प्रतिनिधिले बताएका छन् ।
प्रयोगकर्ताले आइएमई पे खोलेर त्यहाँ देखिने प्रक्रिया पूरा गरेपछि आफ्नो सम्पूर्ण विवरण र रकम खल्तीमा स्थानान्तरण गर्न सक्नेछन् । आइएमई पेमा रहेको ब्याज पाइने सुविधालाई पनि खल्तीमा थप गर्ने तयारी भइरहेको छ ।
१ साउनदेखि यी दुई वालेट औपचारिक रुपमा एकीकृत हुँदैछन् ।
पछिल्लो अध्यावधिक: असार २७, २०८२ १९:८
सामाग्री श्रोत :
टेक पाना