काठमाडौँ । शैक्षिक प्रविधि (एड-टेक) कम्पनी ‘वेद’ले टेलिभिजन रियालिटी शो शार्क ट्याङ्क नेपालबाट छ करोड रुपैयाँको लगानी सुरक्षित गरेको छ । बिहीबार प्रसारित कार्यक्रममा कम्पनीले लगानीकर्ता (शार्क) हेमराज ढकालबाट उक्त लगानी जुटाउन सफल भएको हो, जुन कार्यक्रमको हालसम्मकै ठूला लगानी सम्झौता हो ।

कम्पनीका सह-संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) निर्देश दवाले प्रस्तुत गरेको व्यावसायिक योजना र कम्पनीको प्रगतिबाट प्रभावित हुँदै शार्क ढकालले लगानी गर्ने निर्णय गरेका हुन् । ‘वेद’ हाल नेपालसहित ब्रुनाई, म्यानमार र जापान गरी चार देशका १३ सयभन्दा बढी विद्यालयमा प्रयोग भइरहेको छ ।
करिब ३० लाख प्रयोगकर्ता रहेको यो सफ्टवेयरले विद्यार्थी भर्ना, शुल्क व्यवस्थापन, आर्थिक हिसाबकिताब र अभिभावकसँगको सञ्चार जस्ता विद्यालय व्यवस्थापनका सम्पूर्ण पक्षलाई एउटै प्रणालीबाट सञ्चालन गर्न सहयोग गर्छ ।
सीईओ दवाले कार्यक्रममा आफ्नो प्रस्तुतिमा कम्पनीको ६० करोड रुपैयाँको मूल्याङ्कन गर्दै १० प्रतिशत इक्विटीका लागि छ करोड रुपैयाँ लगानीको प्रस्ताव गरेका थिए । उनले गत आर्थिक वर्षमा कम्पनीले साढे छ करोडको कारोबार गरी ८० लाख रुपैयाँ नाफा कमाएको र ग्राहक नवीकरण दर ९७ प्रतिशतभन्दा माथि रहेको जानकारी दिए ।

लामो छलफल र वार्ताका क्रममा शार्कहरूले ३० करोडको मूल्याङ्कनमा २० प्रतिशत इक्विटीका लागि ६ करोडको संयुक्त प्रस्ताव राखेका थिए । अन्ततः सीईओ दवाले कम्पनीको कार्यसम्पादन सूचक (केपीआई) सँग लगानीलाई जोड्ने प्रस्ताव गरेपछि शार्क ढकालसँग सम्झौता भएको हो ।
सम्झौता अनुसार, कम्पनीले भविष्यमा निश्चित व्यावसायिक लक्ष्यहरू पूरा गरेपछि मात्रै प्रस्तावित मूल्याङ्कन कायम हुने शर्तमा २० प्रतिशत इक्विटीका लागि छ करोड रुपैयाँको लगानी सुरक्षित भएको हो । प्राप्त लगानीलाई कम्पनीले आक्रामक बजार विस्तार गर्दै नेपालका करिब १० हजार विद्यालयसम्म पुग्ने, अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति बलियो बनाउने र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी प्राविधिक विकास गर्ने योजनामा उपयोग गर्ने जनाएको छ ।
पछिल्लो अध्यावधिक: असार २७, २०८२ १७:४६
सामाग्री श्रोत :
टेक पाना