काठमाडौँ । अब हरेक बैंकमा खाता खोल्दा वा वित्तीय कारोबार गर्दा पटक-पटक ग्राहक पहिचान (केवाईसी) फारम भर्नुपर्ने झन्झटबाट मुक्ति पाइने भएको छ । शुक्रबार आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले एक बैंकमा केवाईसी विवरण भरेपछि सोही विवरण अन्य सबै बैंक तथा वित्तीय संस्थामा उपलब्ध हुने प्रणाली विकास गर्ने घोषणा गरेको हो ।

यो व्यवस्था कार्यान्वयनमा आएपछि ग्राहकहरूले एउटा बैंकमा आफ्नो विवरण अद्यावधिक गरेपछि अर्को बैंकमा नयाँ खाता खोल्न वा सेवा लिनका लागि पुनः सम्पूर्ण प्रक्रिया दोहोर्याउनु पर्ने छैन ।
गभर्नर प्राडा. विश्वनाथ पौडेलले प्रस्तुत गरेको मौद्रिक नीतिको ‘वित्तीय समावेशिता र ग्राहक हित संरक्षण’ सम्बन्धी व्यवस्थामा यो योजना समेटिएको छ ।
“बैंक तथा वित्तीय संस्था एवं अन्य वित्तीय सेवा प्रदायकको ग्राहक पहिचान (केवाईसी) विवरण राष्ट्रिय परिचयपत्रमार्फत प्राप्त गर्न सहजीकरण गरिनेछ,” यसलाई थप स्पष्ट पार्दै नीतिमा भनिएको छ, “ग्राहकले कुनै एक बैंकमा विवरण अद्यावधिक गरेपश्चात् आवश्यक पर्ने निकायले विद्युतीय माध्यमबाट प्राप्त गर्नसक्ने पूर्वाधारको विकासका लागि समेत सहजीकरण गरिनेछ ।”

यो प्रणालीलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गरिने भएकाले केवाईसी प्रक्रिया थप विश्वसनीय र छरितो हुने राष्ट्र बैंकको विश्वास छ । राष्ट्रिय परिचयपत्रलाई मुख्य आधार बनाएर एकपटक प्रणालीमा विवरण अद्यावधिक भएपछि अन्य वित्तीय संस्थाहरूले सुरक्षित विद्युतीय माध्यमबाट उक्त विवरण प्राप्त गर्न सक्नेछन् ।
पछिल्लो अध्यावधिक: असार २७, २०८२ १५:२८
सामाग्री श्रोत :
टेक पाना