काठमाडौँ । प्रविधि परामर्शदाता कम्पनी जेनेस सलुसन अमेजन वेब सर्भिस (एडब्लूएस) को ‘प्रिमियर टियर सर्भिस पार्टनर’ मा सूचीकृत हुन सफल भएको छ । कम्पनीले विश्वभरका १ लाख ४० हजारभन्दा बढी एडब्लूएस पार्टनरहरू मध्ये शीर्ष १ प्रतिशतमा स्थान सुरक्षित गरेको हो ।

यससँगै एडब्लूएसको प्रिमियर टियर सर्भिस पार्टनर बन्ने नेपालको पहिलो र एकमात्र कम्पनी बनेको दाबी छ । जेनेस सलुसनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले यसलाई कम्पनीको मात्र नभई देशका लागि गौरवको क्षण भएको बताए । “हामी अब डिजिटल रूपान्तरणको यात्रामा सहायक मात्र होइन, नेतृत्वदायी भूमिकामा छौँ, नवप्रवर्तनको अगुवाइ गर्दैछौँ र विश्वव्यापी मञ्चमा चिनिदै छौँ,” फुयाँलले भने ।
जेनेसले अमेरिकादेखि नाइजेरियासम्म तथा बैङ्किङ, शिक्षा र सरकारी क्षेत्रमा सुरक्षित, मापनयोग्य र भविष्य-उन्मुख प्रविधि उपलब्ध गराउन प्रयत्नशील रहेको उल्लेख गरेको छ ।
यो ‘प्रिमियर टियर’ स्टाटसले जेनेसका ग्राहक तथा साझेदारहरूलाई एडब्लूएसका उच्चतम विशेषज्ञता र स्रोत साधनमा पहुँच, एडब्लूएस एक्सपर्टसँग तत्काल प्रत्यक्ष सहयोग र एडब्लूएस रोडम्याप तथा बेटा कार्यक्रममा संलग्नता जस्ता लाभहरू पुर्याउने कम्पनीले बताएको छ । यसले ग्राहकहरूलाई जेनेरेटिभ एआई र साइबर सुरक्षा जस्ता नवीनतम एडब्लूएस इनोभेसनहरूमा सुरुवातमै पहुँच प्रदान गर्दछ ।

जेनेसका प्रमुख प्राविधिक अधिकृत निरञ्जन कुँवरले यो उपलब्धिले आफूहरू ठुलो लक्ष्य बोकेको र नवप्रवर्तन प्रतिको जोशसहितको संस्था भएको देखाउने बताए ।
पछिल्लो अध्यावधिक: असार २७, २०८२ १२:१५
सामाग्री श्रोत :
टेक पाना