काठमाडौँ — विदेशमा रहेका नेपालीले पठाउने रकम विप्रेषण (रेमिट्यान्स)ले जेठ महिनामा नयाँ रेकर्ड कायम गरेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार गएको जेठ महिनामा १ खर्ब ७६ अर्ब ३० करोड रुपैयाँ विप्रेषणका रुपमा नेपाल भित्रिएको हो । यसअगाडी गत वैशाख महिनामा पनि १ खर्ब ६५ अर्ब ३० करोड रकम भित्रिएको थियो । सो रकम यस अगाडी एकै महिनामा भित्रिएको मध्ये सबैभन्दा धेरै रकम थियो । यसैगरी गत फागुनमा १ खर्ब ५१ अर्ब र गत असोजमा १ खर्ब ४४ अर्ब रुपैयाँ विप्रषणका रुपमा नेपाल भित्रिएको थियो ।
गत ११ महिनामा (साउनदेखि जेठसम्म) रेमिट्यान्समार्फत १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ नेपाल भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १५.५ प्रतिशत बढी हो । गत आर्थिक वर्षको जेठ महिनासम्ममा १३ खर्ब २७ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो ।
अमेरिकी डलरमा गत जेठ महिनामा रेमिट्यान्स आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो । जापान, युरोप लगायतका मुलुकहरुबाट आउने रकम बढेसँगै नेपाल आउने विप्रेषणको रकम बढेको हो ।
गत ११ महिनामा वैदेशिक रोजगारीका लागि ४ लाख ५२ हजार ३ सय २४ जनाले अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) र ३ लाख ८ हजार ६७ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । गत वर्षको तुलनामा यो धेरै हो । गत आर्थिक वर्षको ११ महिनामा ४ लाख २१ हजार ३ सय ५६ जनाले अन्तिम श्रम स्वीकृति र २ लाख ६१ हजार २ सय १० जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।
सामाग्री श्रोत :
deshparadesh

