काठमाडौं । वैदेशिक रोजगारको विषयलाई राजनीतिक दृष्टिकोणबाट बहस र छलफल चलाउन तथा अभियानहरु सञ्चालनको उद्धेश्य सहित नयाँ सञ्जाल आप्रवासन महिला सञ्जाल (मञ्जरी)को सुरुवात गरिएको छ । सो सञ्जालले महिलावादी दृष्टिकोणबाट आप्रवासी महिलाको अधिकार र नेतृत्व सुनिश्चितताका लागि राष्ट्रिय, क्षेत्रीय तथा अन्तराष्ट्रिय स्तरमा पैरवी गर्ने लक्ष्य राखिएको छ ।
महिला पुनस्र्थापना केन्द्र (ओरेक) को अगुवाईमा सुरु गरिएको सो सञ्जालले आप्रवासनको राजनीतिक विश्लेषण गर्दै आप्रवासनमा जोडिएका महिलाहरुको सामाजिक, आर्थिक, राजनीतिक अधिकार सुनिश्चितताका लागि पैरवी र बहस निर्माण गर्ने साझा मञ्च रहेको अधिकारकर्मी डा. रेणु अधिकारीले बताइन् । उनले वैदेशिक रोजगारको सन्दर्भमा राजनीतिक ढंगले विश्लेषण नै नहुने गरेको भन्दै महिलालाई विचराको दृष्टिकोणबाट हेर्ने गरिएको तर समस्याको जरोमा छलफल नै नभइरहेको हुँदा मञ्जरीले त्यसलाई चिर्ने बताइन् । उनले हाल मञ्जरीमा ८ वटा संस्थाहरु सदस्य रहेको भन्दै यसमा आगामी दिनमा महिला आप्रवासी श्रमिकहरु, महिलावादी अभियन्ताहरु, अधिकारकर्मीहरु र आप्रवासनको विषयमा अध्ययन अनुसन्धान गर्ने अनुसन्धानकर्ताहरु, शैक्षिक क्षेत्रका व्यक्ति तथा विषयविज्ञहरु सदस्य बन्न सक्ने बताइन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच वैदेशिक रोजगारीबाट फर्किएका तीनजना महिला र डा. अधिकारीले मञ्जरीको औपचारिक शुभारम्भ गरे । मञ्जरीले महिला आप्रवासी श्रमिकहरुमाथि हुने शोषण, लाञ्छना र वहिष्करणको मृद्धालाई साझा रुपमा उठान गरी नीतिगत समाधानको लागि खवरदारी गर्ने लक्ष्य राखेको छ ।
सो अवसरमा बोल्दै आप्रवासन विषयकी अध्येता डा. मीना पौडेलले राज्यले सहजिकरण गर्नुपर्ने ठाउँमा घरेलु श्रम गर्न विदेश जान चाहनेहरुलाई बन्देज लगाएर अपराधिकरण गरेको बताइन् । संसदिय समितिले ७ बुँदे शर्तको नाममा तेस्र्याएको अवरोधले समस्या अझ थपेको उनको भनाई थियो । आफ्नै मुलुकले गर्नुपर्ने काम नगर्ने तर गन्तव्य मुलुकसँग शर्त राख्ने काम जायज नरहेको डा. पौडेलले धारणा राखिन् ।
डा. पौडेलले आर्थिक, सामाजिक रुपमा पछाडी पारिएका व्यक्तिहरुलाई रोजगारीका लागि विदेश पठाएर नेपालले अर्थतन्त्र धानिरहेको र पश्चिम एसियाका मुलुकहरुले पनि सस्ता श्रमिक लगेर उनीहरुलाई शोषण गरेर समृद्धि हासिल गरेको बताइन् । राज्य संरक्षित वैदेशिक रोजगार व्यवसायीहरुबाट श्रमिक मारमा परिरहेको अध्येता पौडेलको भनाई थियो ।
सोही अवसरमा बोल्दै ब्रुनेल युनिभर्सिटी, लण्डनका ‘पोलिटिकल जियोग्राफी’का लेक्चरर डा. आयुषमान भगतले आप्रवासनमा रंगभेद चर्को समस्या रहेको बताए । उनले गोरो छाला भएकाहरु र गहुँगोरो वा कालो छाला भएकाहरु प्रति गरिने विभेदको दृष्टान्त प्रस्तुत गर्दै अन्य मुलुकबाट युरोपका मुलुकहरु वा अमेरिका गएकाहरुले सो मुलुकको नागरिक सरह व्यवहार प्राप्त गर्न नसक्ने बताए । उनले खाडीका मुलुकहरुमा काम गर्न जाने न्यून दक्ष श्रमिकहरु मात्र नभई बेलायतमा काम गर्न गएका नर्सहरुले पनि उस्तै विभेद भोगिरहेको भन्दै यसका बारेमा छलफल हुनुपर्ने धारणा राखे । आप्रवासनको राजनीतिक दृष्टिकोणबाट पर्याप्त छलफल नभइरहेको अवस्थामा मञ्जरी उपयुक्त मञ्च हुन सक्ने उनको भनाई थियो ।
सो अवसरमा बोल्दै त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. पद्म प्रसाद खतिवडाले जनसांख्यिक रुपमा नेपालमा विश्वको प्रवृत्ति भन्दा फरक अवस्था रहेको भन्दै किन यस्तो भइरहेको छ भनेर अध्ययन हुनुपर्ने बताए । नेपालमा आप्रवासनको विषयमा गहन अध्ययन आवश्यक छ भन्ने निश्कर्षका साथ त्रिभुवन विश्वविद्यालयमा माईग्रेसन स्टडीजको अध्ययन सुरु गरिएको उनको भनाई थियो ।
संविधानसभाका सदस्य समेत रहेका अधिकारकर्मी सुनिल बाबु पन्तले सबैभन्दा धेरै आप्रवासन विवाह मार्फत हुने गरेको भन्दै यो विषयमा पर्याप्त ध्यान नदिइएको बताए । उनले फरक लैंगिक पहिचान भएका व्यक्तिहरु गाउँमा बस्न नसकेर शहर पस्नु पर्ने बाध्यतामा रहेको र शहरमा पनि टिक्न उनीहरुलाई मुस्किल पर्ने गरेको जानकारी दिए । नेपालमा बस्न नसकेर वैदेशिक रोजगारमा जाँदा त्यहाँ अझ समस्यामा पर्ने गरेको भन्दै उनीहरुलाई सचेत बनाउने तर्फ प्रस्थानपूर्वको अभिमुखिकरणमा पनि विषयवस्तु नसमेटिएको पन्तको भनाई थियो ।
यसैगरी टिडिएचकी आप्रवासन कार्यक्रमकी क्षेत्रीय कार्यक्रम संयोजक सन्ध्या सिटौलाले नेपालको आप्रवासन सम्वन्धी विद्यमान नीति, कानुनहरुले युवा र महिलाको विषयलाई समेट्न नसकेको धारणा राखिन् । उनले जतिसुकै राम्रा द्धिपक्षिय श्रम सम्झौताहरु गरिएपनि तिनको व्यवहारिक कार्यान्वयन कमजोर रहेको भन्दै यसका दृष्टिकोण देखि नै स्पष्ट हुन जरुरी रहेको औंल्याइन् ।
सो अवसरमा बोल्दै सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष चिरञ्जीवि बरालले नीतिगत पैरवी, क्षमता विकास लगायतका विषयमा सञ्जालले काम गरिरहेको जानकारी दिंदै यसले असुरक्षाको अवस्थालाई कम गर्न मद्धत पुर्याएको धारणा राखे । उनले नयाँ नयाँ आयामहरु आउने भन्दै हाल युरोप आप्रवासनको रुपमा ठगि, शोषण बढेको धारणा राखे । उनले सञ्जालका तर्फबाट गरिएको काममा मञ्जरीले थप क्षेत्रहरुमा नविन ढंगले काम गर्ने अपेक्षा गर्दै शुभेच्छा प्रकट गरे ।
कार्यक्रममा ओरेककी कार्यकारी निर्देशक सुनिता मैनालीले आप्रवासन र महिलाका मृद्धाहरु, नीतिगत रुपमा देखिएका चुनौति, मञ्जरीको आवश्यकता बोध लगायतका विषयमा जानकारी गराएकी थिइन् । सो अवसरमा वैदेशिक रोजगारीबाट फर्किएका महिलाहरुले आफ्नो अनुभव पनि आदानप्रदान गरेका थिए ।
सामाग्री श्रोत :
deshparadesh

