काठमाडौँ । शैक्षिक प्रयोजनका लागि उडेको ड्रोन नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा खसेको पाइएको छ । टेक्स्पायर कलेजका विद्यार्थीले बनाएको ड्रोन परीक्षणका क्रममा अनियन्त्रित भई संसद् भवनको छतमा खसेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार, उक्त ड्रोन टेक्स्पायरका विद्यार्थीहरूले ‘सेमेस्टर टास्क’ को रूपमा बनाएका थिए । असार २३ गते राति कलेज परिसरबाट ड्रोनको परीक्षण उडान गर्ने क्रममा जीपीएस सिग्नलले काम नगरेपछि त्यो नियन्त्रण बाहिर गएर हराएको थियो ।
हराएको ड्रोन २४ गते बिहान संसद् भवनको छतमा बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीको अनुसन्धान टोली कलेजमा पुग्दा प्रधानाध्यापक लक्ष्मण पोखरेलले कलेजका कोर्स कोअर्डिनेटर विजयबाबु रेग्मी र विद्यार्थीहरू समन महर्जन, सुजल काजी श्रेष्ठ, समिप खतिवडा र अफ्ताब रेजालाई ड्रोन निर्माण गरी परीक्षण गर्न ‘सेमेस्टर टास्क’ दिइएको जानकारी गराएका थिए ।

कलेज प्रशासनले घटना प्राविधिक त्रुटिका कारण भएको स्वीकार गर्दै प्रहरीलाई ड्रोन निर्माणका लागि खरिद गरिएका उपकरणको बिल र घटनाबारे जानकारीसहितको पत्र बुझाएको छ ।
प्रधानाध्यापक पोखरेलका अनुसार ड्रोनका लागि आवश्यक पार्टपुर्जा खरिद गरी कलेजमै एसेम्बल गरिएको थियो । सोही दिन राति ९:१० बजे ड्रोनको ‘थ्रस्ट टेस्ट’ गर्ने क्रममा जीपीएस सिग्नल गुमेपछि त्यो अनियन्त्रित भई हराएको थियो ।
प्रहरी वृत्त, नयाँ बानेश्वरले घटनाको प्राविधिक तथा अन्य पक्षबारे गहिरो अनुसन्धान भइरहेको जनाएको छ । ड्रोन खस्नुमा कुनै गलत नियत थियो वा यो केवल प्राविधिक त्रुटि मात्र हो भन्नेबारे अनुसन्धानपछि मात्रै यकिन हुने प्रहरीले बताएको छ ।
सम्बन्धित समाचार: नेपालको संसद्मा एउटा ठुलो ड्रोन आएर खसेको समाचार छः सांसद रामहरि खतिवडा
पछिल्लो अध्यावधिक: असार २६, २०८२ २१:६
सामाग्री श्रोत :
टेक पाना