काठमाडौँ । नेपाली चलचित्रको व्यावसायिक तथ्याङ्कमा दशकौंदेखि देखिँदै आएको अपारदर्शिता र विवादलाई अन्त्य गर्ने उद्देश्यले रियल टाइम बक्स अफिस प्रणालीमा आधारित मोबाइल एप सञ्चालनमा आएको छ । निर्माता तथा वितरकले आफ्नो चलचित्रको व्यापारको विवरण तत्कालै मोबाइल वा कम्प्युटरबाट हेर्न सक्नेगरी चलचित्र विकास बोर्डले ‘बक्स अफिस @ सिनेपा’ (Box Office @cinepa) यो एप ल्याएको हो ।

यो प्रणाली लागु भएसँगै चलचित्रको कमाइमा निर्माता, वितरक र प्रदर्शकबिच चल्दै आएको अविश्वासको अन्त्य हुने अपेक्षा गरिएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले एपबाट जहाँबाट, जतिखेर पनि चलचित्रको व्यापारिक रिपोर्ट हेर्न सक्ने जानकारी दिए ।
“अब वितरक, प्रदर्शक, निर्माता, दर्शक र सरकार समेत चलचित्रको वास्तविक कमाइबारे प्रस्ट हुनेछन् । सम्बन्धित व्यक्तिले ‘बक्स अफिस @ सिनेपाः’ मार्फत जहाँबाट, जतिखेर पनि आफ्नो चलचित्रको व्यापारिक रिपोर्ट हेर्न सक्नेछन्,” डीसीले सामाजिक सञ्जालमा लेखेका छन् ।
विगतमा चलचित्र घरमा टिकट बिक्री भएको लामो समयपछि मात्र त्यसको विवरण सर्भरमा देखिने हुँदा व्यापारमा हिनामिना हुने गरेको अड्कल गरिन्थ्यो । रियल टाइम प्रणालीअनुसार देशभरका चलचित्र घरमा टिकट काट्नासाथ त्यसको सम्पूर्ण विवरण र रकम तत्कालै बोर्डको केन्द्रीय सर्भरमा दर्ता हुने बताइएको छ ।

हाल देशभरका १६० भन्दा बढी चलचित्र घरहरू यो प्रणालीमा जोडिएका छन् ।
चलचित्र विकास बोर्डले हालै नेपाल चलचित्र संघ र चलचित्रघरहरूलाई सम्बोधन गरी पठाएको पत्रमा भनिएको छ, “वास्तविक-समय बक्स अफिस तथ्याङ्क पेश गर्न असफल भएमा कानुनको उल्लङ्घन मानिनेछ र प्रचलित नेपाल सरकारको चलचित्र नियमन र सम्बन्धित ऐनहरू अनुसार कारबाही गरिने व्यहोरा समेत अनुरोध छ ।”
सम्बन्धित चलचित्रका निर्माता वा अधिकार प्राप्त व्यक्तिलाई बोर्डले उपलब्ध गराउने गोप्य पासवर्डमार्फत उनीहरूले आफ्नो चलचित्रको व्यापारिक आँकडा तत्कालै हेर्न सक्नेछन् ।
एन्ड्रोइडमा यो लिङ्कमार्फत एप डाउनलोड गर्न सकिन्छ ।
पछिल्लो अध्यावधिक: असार २६, २०८२ १५:५६
सामाग्री श्रोत :
टेक पाना