काठमाडौँ । विश्वकै सबैभन्दा ठुलो भिडिओ प्लेटफर्म युट्युबले ‘अप्रामाणिक’ (inauthentic) सामग्रीमाथि कडाइ गर्ने तयारी थालेको छ । आगामी १५ जुलाईदेखि युट्युबले आफ्नो युट्युब पार्टनर प्रोग्राम (वाईपीपी) मनिटाइजेसन नीति अपडेट गर्दैछ, जुन विशेषगरी ठुलो परिमाणमा उत्पादित (mass-produced) र दोहोरिने (repetitive) भिडिओहरूलाई लक्षित छ ।

यस किसिमका सामग्रीहरू आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको सहायताले सिर्जना गर्न अझै सजिलो भएकाले यस्तो कदम चालिएको हो । युट्युबले क्रियटरहरूलाई ‘मौलिक’ (original) र ‘प्रामाणिक’ (authentic) सामग्री अपलोड गर्नुपर्नेमा जोड दिँदै आएको छ ।
आगामी नयाँ नीतिले हालको परिप्रेक्ष्यमा ‘अप्रामाणिक’ सामग्री कस्ता देखिन्छन् भन्नेबारे क्रियटरहरूलाई अझ राम्रोसँग बुझ्न मद्दत गर्ने कम्पनीले जनाएको छ । यस नीतिको पछाडिको मुख्य कारण भनेको एआई प्रविधिको विकाससँगै युट्युबमा ‘एआई स्लोप’ अर्थात् जेनेरेटिभ एआई प्रविधि प्रयोग गरेर बनाइएका कम गुणस्तरका सामग्रीहरूको बाढी आउनु हो । पछिल्लो समय टेक्स्ट-टु-भिडियो (text-to-video) एआई टुलहरूको सहायताले एआई आवाजलाई फोटो, भिडिओ क्लिप वा अन्य पुन: प्रयोग गरिएका सामग्रीहरूमा ओभरले गरेर भिडिओ बनाउने प्रचलन बढेको छ ।
एआई सङ्गीत भरिएका केही च्यानलहरूमा लाखौँ सब्सक्राइबर छन् । डिडी ट्रायल जस्ता न्युज इभेन्टबारे नक्कली, एआई-उत्पादित भिडिओहरूले लाखौँ भ्युज पाइसकेका छन् ।

यस वर्षको सुरुतिर युट्युबमा भाइरल भएको एउटा सत्य दाबी गरिएको क्राइम मर्डर सिरिज पूर्ण रूपमा एआई-उत्पादित पाइएको थियो । युट्युबका सीईओ नील मोहनको नक्कली रूप प्रयोग गरेर एआई-उत्पादित फिशिङ स्क्याम समेत गरिएको थियो ।
युट्युबका एडिटोरियल तथा क्रियटर प्रमुख रेने रिची भिडिओ अपडेटमार्फत यो परिवर्तन युट्युबको पुरानो वाईपीपी नीतिमा ‘सामान्य अपडेट’ मात्र भएको र यसको उद्देश्य ठुलो मात्रामा उत्पादित वा दोहोरिने सामग्रीलाई अझ राम्रोसँग पहिचान गर्नु रहेको बताएका छन् । रिचीका अनुसार यस्ता सामग्रीहरू वर्षौँदेखि मनिटाइजेसनका लागि अयोग्य थिए, किनकि दर्शकहरूले तिनलाई प्रायः स्पाम मान्ने गर्छन् ।
उनले यो अपडेटले ‘रियाक्सन भिडिओ’ वा क्लिपहरू समावेश गरिएका भिडिओलाई मनिटाइजेसनमा सीमित नगर्ने पनि स्पष्ट पारेका छन् । तर, टेकक्रन्चले यसलाई ‘सामान्य अपडेट’ मात्र नभएको बताएको छ । एआई प्रविधिको आगमनसँगै यस्ता भिडिओ बनाउन धेरै सजिलो भएको छ, जुन रिचीले उल्लेख गरेका छैनन् ।
यस्ता सामग्रीलाई बढ्न दिनु र तिनका क्रियटरहरूलाई नाफा कमाउन दिनुले अन्ततः युट्युबको प्रतिष्ठा र मूल्यमा क्षति पुर्याउन सक्ने विश्लेषण छ । तसर्थ, कम्पनीले एआई स्लोप क्रियटरहरूलाई वाईपीपीबाट सामूहिक रूपमा प्रतिबन्ध लगाउन सक्ने स्पष्ट नीति चाहिएको हो ।
यो नीति लागु भएपछि युट्युबले आफ्नो प्लेटफर्ममा कन्टेन्टको गुणस्तर कायम राख्न थप सशक्त कदम चाल्ने अपेक्षा गरिएको छ ।
पछिल्लो अध्यावधिक: असार २६, २०८२ ११:०
सामाग्री श्रोत :
टेक पाना