काठमाडौँ । चिनियाँ मोबाइल निर्माता कम्पनी वनप्लसले स्मार्टफोन सहितका विभिन्न नयाँ उत्पादन सार्वजनिक गरेको छ । कम्पनीले नोर्ड फाइभ फोन सिरिजका साथै स्मार्टवाच, ट्याब्लेट र इयरबड बजारमा ल्याएको हो ।

मिडरेन्जमा आएको नोर्ड ५ फोन ८ जीबी र्याम तथा २५६ जीबी स्टोरेज र १२ जीबी र्याम तथा ५१२ जीबी स्टोरेज गरी दुई भेरियन्टमा नेपाल आउनेछ । जसको मूल्य क्रमशः ६७ हजार ९९९ रुपैयाँ र ७५ हजार ४९९ रुपैयाँ रहेको छ ।
स्न्यापड्रागन ८ एस जेन ३ प्रोेसेसर रहेको यो फोनमा गेमिङमा केन्द्रित १४४ हर्ज ओलेड डिस्प्लेको साथमा ५० मेगापिक्सेलको सेल्फी क्यामेरा छ । यसमा ६.८३ इन्चको डिस्प्ले रहेको छ । जुन पातलो र हलुका भएकाले गह्रौँ लाग्दैन ।
यसमा कम्पनीको क्लासिक अलर्ट स्लाइडरको साटो नयाँ प्लस की छ, जुन पूर्ण रूपमा कस्टमाइज गर्न सकिन्छ । तर यसमा एआई फिचरलाई डिफल्ट रूपमा सेट गरिएको छ । यो फोनमा चार वर्षको अपरेटिङ सिस्टम (OS) अपडेट र ६ वर्षको सेक्युरिटी प्याच उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

वनप्लस नोर्ड सीई ५ र नोर्ड ५ स्मार्टफोनको एक्सक्लुसिभ प्रिबुकिङ दराजमा उपलब्ध भइसकेको छ । यी फोनहरू ११ जुलाई देखि बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
नोर्ड सीई ५ स्मार्टफोन
यसका साथै कम्पनीले वनप्लस नोर्ड सीई ५ फोन समेत नेपाल ल्याउनेछ । ८ जीबी र्याम तथा २५६ जीबी स्टोरेजको साथमा आउने यो फोनका लागि भने ४८ हजार ९९९ रुपैयाँ मूल्य तोकिएको छ ।
नोर्ड ५ फोनसँग मिल्दोजुल्दो देखिने फोनमा लगभग सबै हिसाबले केही कम्प्रोमाइज गरिएको छ । यसमा ६.७७ इन्चको स्क्रिन छ, जुन नोर्ड ५ भन्दा अलि सानो हो ।
यो मिडियाटेक डाइमेन्सिटी ८३५० एपेक्स चिपसेटमा चल्छ । जुन नोर्ड ५ भन्दा कम शक्तिशाली छ । स्क्रिनको रेजोलुसन, रिफ्रेश रेट, र पिक ब्राइटनेस पनि कम छ । क्यामेरा स्पेसिफिकेसनमा पनि केही सम्झौता गर्नैपर्ने हुन्छ ।
यद्यपि यसमा नोर्ड ५ कै जस्तो ५,२०० एमएएच ब्याट्री र ८० वाट चार्जिङ स्पिडका साथै चार वर्षको ओएस अपडेट पनि पाउन सकिनेछ ।
सस्तो ट्याब्लेट
कम्पनीले विश्व बजारमा वनप्लस प्याड लाइट ट्याब्लेट समेत सार्वजनिक गरेको छ । नेपाली बजारको उपलब्धता र मूल्य भने कम्पनीले खुलाएको छैन । यो वनप्लस ट्याब्लेट लाइन अपको सस्तो भर्सन हो ।
यसमा पुरानो प्याडको जस्तै गोलाकार क्यामेरा डिजाइन प्रयोग गरिएको छ । ११ इन्चको टुके (2K) डिस्प्ले रहेको यो ट्याब्लेटमा ९० हर्जको रिफ्रेश रेट छ । यसमा ९,३४० एमएएच क्षमताको ब्याट्री दिइएको छ । नेपाली बजारमा यसको मूल्य करिब ३२ हजार पर्न सक्ने अनुमान छ ।
वनप्लस वाच ३ (४३ एमएम)
यो वनप्लस वाच ३ स्मार्टवाच अघिल्लो ४७ एमएमको तुलनामा सानो र कम्प्याक्ट भर्सन हो ।
यसको डिजाइन अघिल्लो संस्करणमा रहेका एङ्गुलर एलिमेन्ट हटाइएको छ । जसलाई सरल, गोलाकार डिजाइनमा ल्याइएको छ ।
यो मूल वाच ३ भन्दा ७ प्रतिशत पातलो र २८ प्रतिशत हलुका छ । कम्प्याक्ट डिजाइनका कारण ब्याट्री लाइफमा केही कमी आएको छ । मूल भर्सनमा १२० घण्टाको ब्याट्री लाइफ रहेकोमा यो भर्सनमा भने मात्र ६० घण्टाको ब्याट्री लाइफ पाउन सकिनेछ । जसमा डिस्प्लेको ब्राइटनेस पनि २,२०० निट्सबाट घटाएर १,००० निट्समा झरेको छ ।
वेयर ओएसमा चल्ने यो स्मार्टवाचमा क्वालकमको स्न्यापड्रागन डब्लू ४ जेन १ चिपसेट राखिएको छ । साथै ब्याट्री लाइफमा मद्दत गर्न अर्को लो-पावर चिप पनि समावेश गरिएको छ ।
वनप्लस बड्स ४
नयाँ किफायती इयरबड्सको रूपमा आएको वनप्लस बड्स ४ हरियो र गाढा खैरो रङमा उपलब्ध छन् ।
जसले हाई-रेस र स्पासियल अडियो (spatial audio) दुवैलाई सपोर्ट गर्छ । प्रत्येक बडमा डुअल ११ एमएम र ६ एमएम ड्राइभरहरू समावेश छन् । यसमा कन्केभ टच कन्ट्रोल राखिएको छ, जसले स्वाइप र ट्याप गर्न सजिलो बनाउँछ ।
पछिल्लो अध्यावधिक: असार २५, २०८२ १४:२०
सामाग्री श्रोत :
टेक पाना