काठमाडौँ । अटोमोटिभ टेक्नोलोजीमा विश्वकै चर्चित जर्मन कम्पनी बोश (BOSCH) ले नेपालमा आफ्नो नयाँ डिजिटल लोयल्टी कार्यक्रम सुरु गरेको छ । ‘हाम्रो बोश’ नामक उक्त कार्यक्रम बोशको नेपालका लागि आधिकारिक वितरक सत्यदिप इन्टरनेसनलसँगको सहकार्यमा सोमबार सार्वजनिक भएको हो।

यो विशेष कार्यक्रम काठमाडौँका स्थानीय मेकानिकहरूलाई लक्षित गरी ल्याइएको हो । यसले बोश ब्रान्डको स्पेयर पार्टसको बजार विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ । कार्यक्रममा स्थानीय वितरक, मेकानिक्स र बोश भारतका प्रतिनिधिसहित १५० जनाभन्दा बढीको सहभागिता रहेको थियो।
‘हाम्रो बोश’ कार्यक्रमको मुख्य उद्देश्य बोश प्लेटफर्ममा दर्ता भएका मेकानिकहरूलाई ओरिजिनल बोश पार्टपुर्जाको प्रयोग बढाउन प्रोत्साहन गर्नु हो । यसका लागि उनीहरूलाई आकर्षक अङ्क र प्रोत्साहन प्रदान गरिनेछ ।
यी अङ्कहरू मोबाइल एपमार्फत सजिलै ट्र्याक गर्न र रिडिम गर्न सकिने व्यवस्था मिलाइएको छ । यो एप नेपाली बजारकै लागि विशेष रूपले डिजाइन गरिएको हो ।

बोश मोबिलिटी आफ्टर मार्केट भारतकी क्षेत्रीय अध्यक्ष तथा सार्क प्रमुख रिथी सेठीले नेपाल अटोमोटिभ आफ्टर मार्केट क्षेत्रका लागि एक महत्त्वपूर्ण बजार रहेको बताइन् ।
बोश नेपालका कन्ट्री म्यानेजर सन्दीप कामतले नेपालमा एड्भान्स प्रोडक्ट र प्रविधिहरू भित्र्याउनमा बोश सधैँ अग्रणी रहेको उल्लेख गरे । उनले ‘हाम्रो बोश’ कार्यक्रमले नेपालमा रहेका आफ्ना ग्राहकसँग बोशले जोडेको सम्बन्ध र विश्वासको भावनालाई प्रतिविम्बित गर्ने धारणा राखे ।
सत्यदिप इन्टरनेसनलका प्रबन्ध निर्देशक दिपेन्द्र मिश्रले २० वर्षभन्दा बढी समयदेखि नेपाली बजारमा बोशसँग आबद्ध हुन पाउनु गर्वको विषय रहेको बताए । उनले अटोमोटिभ क्षेत्रको मुटु मानिने मेकानिक्सलाई लक्षित गरी यो डिजिटल पहल सुरु गर्न पाउँदा खुसी व्यक्त गरे । मिश्रले आफ्नो बलियो वितरण सञ्जालका कारण यस कार्यक्रमले बोशको बजार विस्तारमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
अटोमोटिभ क्षेत्रबाहेक बोशले विश्वभर पावर टुल्स, विल्डिङ टेक्नोलोजी र बोश होम अप्लायन्स जस्ता क्षेत्रमा पनि नवीनतम उत्पादनहरू बिक्री गर्दै आएको छ ।
पछिल्लो अध्यावधिक: असार २५, २०८२ १९:३
सामाग्री श्रोत :
टेक पाना