२०८२ असार २६ बिहीबार
२०८२ असार २६ बिहीबार

डिजिटल भिजिटिङ कार्ड तयार पारिदिने नेपाली स्टार्टअप- जेलिएन्ट

काठमाडौँ । मार्केटिङ एजेन्सी चलाउँदा रौनक भट्टराईको पर्स जहिल्यै भिजिटिङ कार्डले भरिएको हुन्थ्यो । हरेक व्यावसायिक भेटघाट र कार्यक्रममा कार्ड साटासाट गर्नु उनका लागि सामान्य भइसकेको थियो ।

उनी कार्ड लिन्थे पनि, दिन्थे पनि । तर, समय बित्दै जाँदा उनलाई यो प्रक्रिया झन्झटिलो, खर्चिलो र सबैभन्दा महत्त्वपूर्ण, अर्थहीन लाग्न थाल्यो । पर्समा थुप्रिएका सयौं कार्डमध्ये काम लाग्ने केही मात्र हुन्थे, बाँकी केवल कागजको थुप्रोमा परिणत हुन्थे । यो समस्याले उनलाई गहिरोसँग सोच्न बाध्य बनायो ।

“सबैसँग भेट हुँदा कार्ड आदानप्रदान त हुन्थ्यो । तर त्यो एउटा औपचारिकता जस्तो मात्रै भयो,” रौनक आफ्नो अनुभव सुनाउँछन्, “हतारमा लिएको कार्ड पर्सको कुनामा बस्थ्यो । पछि आवश्यक पर्दा खोज्यो, भेटिँदैनथ्यो । भेटिए पनि त्यसको नम्बर फोनमा सारेर सम्पर्क गर्दा फेरि सुरुबाटै आफ्नो परिचय दिनुपर्थ्यो । कार्ड दिएको त केवल देखाउनका लागि मात्रै रहेछ भन्ने महसुस भयो ।” यो उनको मात्र होइन व्यावसायिक वा पेसागत जीवनमा प्रवेश गरेका अधिकांशले यस्तै अवस्थाको अनुभव गरेका हुन्छन् । 

भिडभाडमा, हतारमा वा कुनै कार्यक्रममा दिइएका दर्जनौं कार्डमध्ये हाम्रो कार्डले कति प्राथमिकता पायो होला ? त्यसको विवरण कतिले आफ्नो फोनमा सुरक्षित गरे होलान् ? हुन त तपाईं उक्त व्यक्तिका कत्तिको महत्त्वपूर्ण हुनुहुन्छ भन्ने विषयले पनि फरक पार्छ । तर, औसत व्यक्तिका रूपमा गनिंदा यस्ता कैयौं प्रश्नहरू आउँछन् । यी प्रश्नले नै परम्परागत भिजिटिङ कार्ड कत्तिको प्रभावकारी होलान् त भन्ने रौनकको मनमा लागिरहेको हुन्थ्यो ।

यही समस्याको समाधान खोज्ने क्रममा एक दिन रौनकले सामाजिक सञ्जालमा एउटा विज्ञापन देखे, जसले उनको सोचलाई नै बदलिदियो । त्यो थियो- ‘एनएफसी’ (NFC – Near Field Communication) प्रविधिमा आधारित डिजिटल कार्डको विज्ञापन, जहाँ केवल ‘ट्याप’ गरेकै भरमा सम्पर्क विवरण आदानप्रदान गर्न सकिन्थ्यो । “त्यो देख्नेबित्तिकै मेरो पहिलेको आइडियाले इनर्जी पाएको जस्तो लाग्यो,” रौनक भन्छन्, “मैले सोचेँ नेपालमा त यस्तो कसैले व्यवस्थित रूपमा गरेकै छैन । यो आइडिया यहाँ एकदमै चल्न सक्छ ! यसले कागजको खपत घटाउँछ, नेटवर्किङलाई सहज बनाउँछ र मान्छेको समय बचाउँछ । त्यसमा पनि आधुनिक र प्रविधिलाई आत्मसात गर्ने बानीलाई बढावा दिनुका साथै ‘प्रिमियम’ अनुभव गराउँछ ।” 

बजारमा रहेका अन्य प्रतिस्पर्धीले उपलब्ध गराउने कार्डको गुणस्तर, वेब अनुभव, बिक्रीपछिको सेवा प्रभावकारी नभएको महसुस गरे । र, यी आवश्यकता मेटाएर व्यवसाय सञ्चालन गर्न सकिन्छ भन्ने ठाने ।

आइडिया जतिसुकै राम्रो भए पनि त्यसलाई मूर्तरूप दिन सही टिम चाहिन्छ । रौनक मार्केटिङ र व्यावसायिक रणनीतिमा अनुभवी थिए, तर प्राविधिक पक्षबारे केही अनविज्ञ थिए । उनले तुरुन्तै आफ्ना साथी अनुराग सुवेदीलाई सम्झिए । अनुराग एक डेभलपर थिए, जसलाई वेब सुरक्षा र सफ्टवेयर विकासका राम्रो अनुभव थियो ।

रौनकले उनलाई आफ्नो आइडिया सुनाए । “मैले उसलाई यस्तो कन्सेप्ट छ भन्दा उसलाई पनि निकै इन्ट्रेस्टिङ लाग्यो,” रौनक सम्झिन्छन्, “हामीले बजारमा यस्तो प्रयास कसैले गरेको छ कि भनेर अनुसन्धान गर्‍यौं । केहीले सुरु त गरेका रहेछन्, तर उनीहरूको उत्पादन अपरिपक्व जस्तो देखियो । र, हामीले यही ‘ग्याप’ मा काम गर्ने निर्णय गर्‍यौं ।”

परियोजनाको खाका तयार भयो, तर नाम के राख्ने भन्ने टुङ्गो थिएन । यही बीचमा रौनकलाई आफूले कुनै बेला सोचेको एउटा नाम याद आयो । उनले कुनै समय ‘जेलिएन्ट’ नामबाट कपडाको ब्रान्ड खोल्ने सपना देखेका थिए । तर, कपडा ब्रान्ड कहिले र कसरी खोल्ने भन्ने केही सोचेका थिएनन् । त्यसका लागि नाम मात्र साचेका थिए । उनलाई उक्त नाम खुबै मन परेको थियो । “जेलिएन्टको शाब्दिक अर्थ केही छैन,” रौनक हाँस्दै स्वीकार्छन्, “तर हामीले नै यसलाई एउटा अर्थ दिने निर्णय गर्‍यौं – प्रिमियम र विश्वसनीय । हाम्रो लक्ष्य नै ‘जेलिएन्ट’ भन्ने बित्तिकै मान्छेको दिमागमा गुणस्तरको छाप परोस् भन्ने हो ।” 

यसरी करिब एक वर्षअघि एउटा सानो कोठाबाट ‘जेलिएन्ट’ को यात्रा सुरु भयो । यस कम्पनीको लक्ष्य एउटा सामान्य समस्याको समाधानबाट व्यावसायिक नेटवर्किङको पुरानो शैलीलाई नै चुनौती दिनु थियो ।

जेलिएन्टको अवधारणा जति सरल र आकर्षक थियो यसलाई यथार्थमा उतार्ने प्रक्रिया त्यति नै चुनौतीपूर्ण थियो । सह-संस्थापक तथा प्राविधिक पक्षको जिम्मेवारी सम्हालेका अनुराग सुवेदी यसमा सबैभन्दा ठुलो निर्णय अनलाइन प्रणाली अपनाउनु भएको बताउँछन् । धेरैको जिज्ञासा हुन्थ्यो- के यो अफलाइन चल्दैन ? “एनएफसी चिपमा डेटा लेख्न मिल्ने ठाउँ (स्टोरेज) एकदमै सीमित हुन्छ,” अनुराग प्रस्ट्याउँछन्, “यदि हामीले सबै विवरण अफलाइन राख्ने प्रयास गर्‍यौं भने नाम, फोन नम्बर र ईमेलबाहेक केही पनि अटाउँदैनथ्यो ।”

उनी अगाडि भन्छन्, “प्रोफाइल फोटो, सामाजिक सञ्जालका लिङ्क, वेबसाइट र सबैभन्दा महत्त्वपूर्ण पछि विवरण परिवर्तन गर्ने सुविधाबाट प्रयोगकर्ता वञ्चित हुन्थे ।” त्यसैले उनीहरूले एनएफसी चिप र क्यूआर कोडमा एउटा युनिक वेब लिङ्क राखे जसले आफ्नो सर्भरमा रहेको प्रयोगकर्ताको व्यक्तिगत प्रोफाइल खोल्छ । यसले प्रयोगकर्तालाई जतिबेला पनि आफ्नो विवरण आफैँं एडिट गर्ने सुविधा दियो ।

तर, अनलाइन प्रणालीसँगै आयो सबैभन्दा ठुलो चुनौती- डेटा सुरक्षा र विश्वास । डिजिटल उत्पादनमा प्रयोगकर्ताको सबैभन्दा ठुलो चिन्ता नै डेटा सुरक्षाको हुन्छ । अनुरागको पृष्ठभूमि नै वेब सुरक्षामा भएकाले पनि उनी यसमा कुनै सम्झौता गर्न तयार थिएनन् । प्रयोगकर्ताको डेटा सुरक्षाका लागि वेबसाइटलाई सुरक्षित राख्ने विभिन्न किसिमका टुल प्रयोग गरिएको र होस्टिङ प्रोभाइडर परिवर्तन गरेको उनी बताउँछन् । “सुरुमा हामीले केही नेपाली होस्टिङ प्रोभाइडरसँग काम गर्‍यौं, तर अनुभव राम्रो रहेन,” अनुराग तीतो अनुभव सुनाउँछन्, “त्यसपछि यसलाई थप सुरक्षित बनाउन विश्वसनिय होस्टिङ प्लेटफर्म रोजेँ ।” 

नेपाली होस्टिङ प्रोभाइडरबाट सेवा लिंदा उनीहरूले आफ्नो सी प्यानलदेखि डेटाबेससम्म बिना कुनै जानकारी पहुँच पाएको अनुरागले थाहा पाए । यसबाट प्रयोगकर्ताको डेटा दुरुपयोग हुने जोखिम देखेर उनले ‘होस्टिन्जर’मा जेलिएन्टको सिस्टम सारे । 

उनी भन्छन्, “होस्टिन्जर अन्तर्राष्ट्रिय कम्पनी भयो । लाखौं ग्राहक छन् । डेटाको क्षेत्रमा काम गर्ने प्रतिष्ठित कम्पनी होस्टिन्जरका ग्राहक छन् । सुरक्षाका अन्तर्राष्ट्रिय मापदण्ड पुरा गरेका छ । यी सबै पक्ष विश्लेषण गर्दा हामीलाई होस्टिन्जर उपयुक्त लाग्यो ।” 

प्रयोगकर्ताको डेटा तेस्रो पक्षलाई बिक्री गर्ने वा त्यसैलाई मार्केटिङमा प्रयोग गरी आम्दानीको माध्यम बनाउने प्रवृत्ति छ । अनुराग भने आफूहरूबाट यस्तो कहिल्यै नहुने आश्वासन दिन्छन् । “डेटा कसरी व्यवस्थापन हुन्छ अनि यो कत्तिको सुरक्षित हुन्छ भन्ने जिज्ञासा हुन सक्छ,” उनी थप्छन्, “हामीले यसलाई आफ्नो मुख्य व्यवसायको खुड्किलोका रूपमा ल्याउन खोजेका छौं । यसैबाट मुख्य ब्रान्ड स्थापित गरेर त्यहाँबाट भएको आम्दानीले नै यसलाई निरन्तरता दिने योजना छ । डेटा तेस्रो पक्षलाई बिक्री गर्ने वा प्रयोगकर्तालाई उनीहरूको सहमति बिना अनावश्यक सम्पर्क गर्ने वा ईमेल, एसएमएस पठाउने काम गर्दैनौं ।”

यदि कार्ड हराइहाल्यो भने के गर्ने ? यो पनि अर्को चिन्ताको विषय हो । खासगरी परम्परागत कार्डको तुलनामा बढी विवरण हुने भएकाले कार्ड हराउँदा दुरुपयोग हुने जोखिम झनै बढी हुन्छ । जेलिएन्टले यसको पनि समाधान निकालेको छ । “यदि तपाईंको कार्ड हरायो भने हामीलाई खबर गर्ने बित्तिकै हामी त्यो कार्डसँग जोडिएको लिङ्कलाई ब्लक गरिदिन्छौं । जसले गर्दा कार्ड अरू कसैले फेला पारे पनि तपाईंको विवरणसम्म पहुँच गर्न सक्दैन,” अनुराग बताउँछन्, “अहिले हामी यी र यस्तै फिचरमा काम गर्दैछौं । पछि प्रयोगकर्ता आफैँले एनएफसीमा आफ्नो प्रोफाइल लिङ्क वा अन्य कुनै लिङ्क राख्ने सुविधा दिन्छौं ।”

जेलिएन्टकै वेबसाइटमा पनि च्याट इन्टिग्रेट गरिएको छ । त्यसको उद्देश्य ग्राहकले आफ्ना समस्या र जिज्ञासा राख्न सकुन् भन्ने हो । तर, यो अझै पूर्ण रूपमा सम्पन्न नभइसकेको उनी सुनाउँछन् ।

यो यात्रामा उनीहरूले प्रविधि मात्र बनाएर हुँदैन ग्राहकको विश्वास जित्न र उत्कृष्ट सेवा दिनु पनि उत्तिकै महत्त्वपूर्ण छ भन्ने पाठ सिके । हरेक चुनौतीले उनीहरूलाई अझ परिपक्व र बलियो बनाउँदै लग्यो ।

घरको कोठाबाट सुरु भएको यात्रा अब एउटा व्यवस्थित कार्यालयसम्म आइपुगेको छ । दैनिक सयौं सोधपुछका म्यासेज आउँछन् जसलाई व्यवस्थापन गर्न एउटा डेडिकेटेड टिम तयार छ । रौनकका अनुसार एक वर्षको अवधिमा ११०० भन्दा बढी कार्ड बितरण भइसकेका छन् । यो दर मासिक १५ देखि २० प्रतिशतले बढिरहेको उनी सुनाउँछन् । “यस्तो कार्ड बिजनेस अनर, इन्फ्ल्युन्सर र स्टार्टअपले प्रयोग गरिरहेका छन्,” रौनक भन्छन्, “फिडब्याक पनि राम्रो आइरहेको छ । सरल डिजाइन र आफैँ कस्टुमाइज गर्न सकिने सुविधाको प्रशंसा गर्नेहरू हुनुहुन्छ ।”

तर, धेरैको मनमा एउटा प्रश्न अझै छ – एकपटक ८९९ रुपैयाँ (छुटसहित) तिरेपछि जीवनभर चल्ने कार्ड बेचेर मात्र कम्पनी कसरी दिगो हुन्छ ? 

‘८९९ रुपैयाँमा जीवनभर चल्ने कार्ड दिँदा कम्पनीको सञ्चालन खर्च कसरी धान्नुहुन्छ ? भविष्यमा ‘एड-अन’ फिचर ल्याउने योजना सुनाउनुभयो तर त्यसमा मात्रै भर पर्नु जोखिमपूर्ण छैन ?’ भन्ने टेकपानाको प्रश्न थियो ।  जवाफमा रौनक छन्छन्, “हाम्रो मुख्य उद्देश्य कार्ड बेचेर नाफा कमाउनु मात्र होइन । यो कार्ड हाम्रो लागि ‘ब्रान्ड’ मान्छेको हात-हातमा पुर्‍याउने सबैभन्दा सजिलो र प्रभावकारी माध्यम हो । जब मानिसले हाम्रो उत्पादन र सहज सेवा अनुभव गर्छन् तब ‘जेलिएन्ट’ ब्रान्डप्रति एउटा गहिरो विश्वास बन्छ भन्ने हाम्रो आशा छ ।” जेलिएन्ट ब्रान्डबाटै स्थापित हुने मार्केटप्लेसबाट यसको सम्पूर्ण खर्च धानिनेमा उनीहरू विश्वस्त छन् ।  

त्यसबाहेक जेलिएन्टको दिगोपनाको आधार भविष्यमा ल्याइने ‘एड-अन’ फिचर पनि हुन् । उनीहरूका अनुसार अहिलेको आधारभूत प्रोफाइल सधैँ निःशुल्क रहनेछ तर व्यावसायिक आवश्यकता अनुसार थप सुविधा चाहने प्रयोगकर्ताका लागि प्रिमियम फिचरहरू ल्याइनेछ । ति फिचरका लागि भने अतिरिक्त शुल्क लाग्नेछ ।

अनुराग यसलाई थप प्रस्ट्याउँदै भन्छन्, “हाम्रो योजना हरेक पेसा र व्यवसायलाई मिल्ने गरी विशेष टेम्प्लेट र फिचर बनाउने हो । जस्तै डाक्टर र कन्सल्टेन्टका लागि प्रोफाइलबाटै अपोइन्टमेन्ट बुक गर्न मिल्ने प्रणाली, रेस्टुरेन्ट र क्याफेका लागि डिजिटल मेनु र अर्डर लिने फिचर अनि कलाकार, लेखक र पत्रकारका लागि उनीहरूको काम स्वचालित रूपमा प्रोफाइलमा देखिने टाइमलाइन वा पोर्टफोलियो । यी फिचरले प्रयोगकर्तालाई प्लेटफर्ममा टिकाइराख्न र हामीलाई पनि दीगो बनाउन सघाउँछ ।”

तर, उनीहरूको सपना यतिमा मात्र सीमित छैन । उनीहरूको अन्तिम लक्ष्य भनेको जेलिएन्टको ब्रान्ड र यसले निर्माण गरेको प्रयोगकर्ता सञ्जालको जगमा एउटा ठुलो ‘डिजिटल मार्केटप्लेस प्लेटफर्म’ निर्माण गर्नु हो । उनीहरू अहिले यस्तो प्लेटफर्म बनाइरहेका छन् जहाँबाट मानिसले न्यूनतम मूल्यमा आफ्नो व्यवसायका लागि आफैँ डाइनामिक किसिमको वेबसाइट बनाउन सकुन् । “हामी अहिले डेभलपमेन्टकै फेजमा छौं,” रौनक भन्छन्, “हामी यस्तो प्लेटफर्म बनाउँदैछौं जहाँबाट मानिसले युनिक डिजाइन र स्टाइल भएको वेबसाइट बनाउन सक्छन् । प्रविधिमा रुचि राख्नेदेखि सामान्य प्रोग्रामिङ जानेको मान्छे हुँदै यसमा दख्खल व्यक्तिका लागि हामीले ल्याउने प्लेटफर्म उपयोगी हुनेछ ।” उक्त मार्केटप्लेसको नाम पनि जेलिएन्ट जोडेर नै राख्ने उनीहरूको योजना छ । 

कस्ता छन् बजारमा प्रतिस्पर्धी ?

नेपाली बजारमा एनएफसी सहितका कस्टुमाइज डिजिटल कार्ड उपलब्ध गराउने अन्य कम्पनी पनि छन् । ईभाज कार्ड, फ्ल्यापमो, आईटी कारखाना, एनएफसी नेपाल जस्ता कम्पनीले डिजिटल कार्डको सेवा दिइरहेका छन् । अन्य कम्पनीहरूले जेलिएन्टमा नभएका केही फिचर जस्तै: पोर्टफोलियोमा भिडिओ, म्याप र व्यक्तिगत सेवा राख्ने सुविधा पनि दिएका छन् । यीमध्ये एक कम्पनीले आफ्नो सम्पर्क विवरण गलत राखेको फेला पर्‍यो । फिचरबारे बुझ्न सम्पर्क गर्दा पनि केहीमा सफल हुन सकेन । त्यस्तै केही कम्पनीमा शुल्क अग्रिम भुक्तानी गरेपछि मात्र कार्ड अर्डर गर्न सकिने देखियो ।

साथै, केहीले क्यूआर कोड, एनएफसी लिङ्क र कार्डको डिजाइन समेत प्रयोगकर्ता आफैँँले गर्न मिल्ने सुविधा दिएको पाइयो । हुन त यो प्रयोगकर्तालाई उनीहरूकै डिजाइनमा कार्ड उपलब्ध गराउन सकिने सेवा हो । तर, पोर्टफोलियो लिङ्कदेखि अन्य विवरण राख्नमा भने यो उपयुक्त नहुने देखिन्छ । मूल्यका हिसाबले पनि अन्य प्लेटफर्ममा स्पष्ट मूल्य राखिएको देखिंदैन । केहीमा भने मासिक शुल्क तिर्ने किसिमको सब्क्रिप्सन प्लान राखिएको छ । यो सस्तो भए पनि भोलि प्रयोगकर्ताले रिन्यु गरेन भने कार्ड प्रयोगविहीन हुने देखिन्छ ।

सामान्यतः क्यूआर कोड अफलाइन स्क्यान गर्दा पनि व्यक्तिको विवरण देखिनुपर्छ । तर, जेलिएन्टले उपलब्ध गराउने क्यूआर कोडमा वेबसाइटको लिङ्क राखिएको हुनाले अनलाइन हुनु आवश्यक पर्छ । यद्यपि कार्डमा छापिएका आधारभूत विवरणले पनि यो काम चलाउन सक्छ तर यस्तो अवस्थामा यो परम्परागत कार्ड जस्तै हुन पुग्छ । किनभने अर्को व्यक्तिलाई ती विवरण फोटो खिच्न वा टिप्न झन्झटिलो हुन सक्छ । त्यसैले अन्य प्रतिस्पर्धी भने यसमा अगाडि देखिन्छन् ।

अर्डर गर्नुअघि नै कार्ड कस्तो बन्छ भनेर ‘प्रि-भ्यु’ हेर्न सकिने, सरल युजर इन्टरफेस, प्रयोगकर्ता आफैँँले कार्डको पछाडिको डिजाइन बनाएर पठाउन सक्ने, पोर्टफोलियोमा आफैँ जानकारी राख्न तथा अध्यावधिक गर्न सक्ने र त्यसको कार्डमा देखिने विवरणको आकार अनि स्थान मिलाउन सक्ने सुविधा जेलिएन्टका फरक विशेषता हुन् । त्यसैगरी एक पटकको खरिदमा सधैव सेवा दिने, ट्राफिक इन्साइट्स, अनलिमिटेड शेयरिङ जस्ता फिचरमा अतिरिक्त शुल्क नलिने पनि जेलिएन्टका आकर्षक विशेषता हुन् । तर, यी फिचर निःशुल्क सधैव उपलब्ध गराउने कम्पनीको विश्वासमाथि भने शंका गर्न सकिन्छ ।

कार्डको मूल्यलाई नै लिएर व्यावसायिकताको दीगोपनमाथि शंका गर्ने जेलिएन्टकै ग्राहक छन् । “मलाई कार्ड त एकदम मन पर्‍यो । क्वालिटी पनि राम्रो छ,” ग्रान्डी अस्पतालमा कार्यरत श्रवण विशेषज्ञ अम्ब्रिश तिवारी आफ्नो अनुभव सुनाउँछन्, “बिरामीलाई परम्परागत भिजिटङ कार्ड दिनुभन्दा डिजिटल कार्ड स्क्यान गराउँदा सहज हुन्छ । तर, सबैको फोनमा एनएफसी सपोर्ट गर्दैन । कतिपय फोन नभएका बिरामी आउनुहुन्छ । उहाँहरूलाई पुरानै कार्ड दिनुपर्छ ।”

सेवा आकर्षक लागे पनि ८९९ रुपैयाँमा उपलब्ध गराउनुले व्यवसायको दीगोपनमाथि शंका उठाएको उनी सुनाउँछन् । “कम्तिमा चार पाँच वर्ष त मान्छे कार्ड बोक्छ नै,” उनी भन्छन्, “एकपटकका लागि लिएको शुल्कले त्यतिबेला सम्म खर्च धान्छ कि धान्दैन भन्ने हो । तर, प्रयोगकर्ताका लागि त धेरै नै प्रभावकारी छ ।”

त्यस्तै स्ल्याश प्लसका प्रमुख सञ्चालक अधिकृत प्रमोश अधिकारी एनएफसी सहितको डिजिटल कार्डले प्रविधिलाई आत्मसात गर्दै कार्ड आदनप्रदान गर्ने प्रवृत्तिमा परिवर्तन ल्याइरहेको बताउँछन् । उनी भन्छन्, “प्रविधिमा रुचि भएका र त्यही क्षेत्रमा काम गरिरहेका व्यक्तिका लागि राम्रो छ । धेरै कार्ड बोक्नुपर्ने झन्झट पनि हुँदैन । सेवा पनि राम्रै दिनुभएको थियो ।”

कसरी प्रयोग गर्ने जेलिएन्ट, कस्तो हुन्छ डिजिटल कार्ड ?

जेलिएन्ट भौतिक कार्ड हो जसको बाहिरपट्टि व्यक्तिको नाम, पेसा, सम्पर्क नम्बर, ईमेल, वेबसाइट र क्यूआर कोड हुन्छ । त्यसको माथिपट्टिको भागमा एनएफसी जडान हुन्छ । यो क्यूआर कोड र एनएफसीमा लिङ्क हुन्छ । क्यूआर कोडमा पहिले जे लिङ्क राखेको छ सधैं त्यही लिङ्क नै हुन्छ । तर, एनएफसीमा भएको लिङ्क भने आवश्यकता अनुसार परिमार्जन गर्न सकिन्छ । स्मार्टफोनमा भएको एनएफसी सेन्सरले कार्डको एनएफसी रिड गर्छ र त्यसमा भएको विवरण फोनमा देखिन्छ ।

कार्ड कस्तो डिजाइनको बनाउने, अगाडि र पछाडिपट्टि कस्तो लोगो राख्ने ? क्यूआर कोड र त्यसमा भएका अन्य विवरण कुन ठाउँमा कुन आकारमा राख्ने भन्ने जेलिएन्टकै वेबसाइटबाट सेट गर्न सकिन्छ । अब कुनै डिभाइसले एनएफसी रिड गर्‍यो वा क्यूआर कोड स्क्यान गर्‍यो भने त्यहाँ राखिएको लिङ्क ब्राउज हुन्छ । लिङ्कभित्र व्यक्तिको पोर्टफोलियो हुन्छ । त्यहीबाट सोझै कन्ट्याक्टमा व्यक्तिको नम्बर र अन्य विवरण फोटो सहित सेभ गर्न सकिन्छ । साथै वेबसाइबटबाटै सोझै ह्वाट्सएपमा सम्पर्क गर्न सकिन्छ । त्यसबाहेक कति जनाले कुन समयमा कार्ड स्क्यान गरे भन्ने पनि हेर्न सकिन्छ ।

कार्ड कसरी बनाउने ?

  • त्यसपछि नाम, ईमेल अनि पासवर्ड राख्नुपर्छ । त्यही ईमेल र पासवर्ड राखेर पछि ड्याशबोर्डमा जान सकिन्छ ।

  • यति भइसकेपछि जेलिएन्टको वेबसाइट खुल्छ । त्यहाँ रहेको कार्डको अप्सनमा ट्याप गरेर कस्टमाइजको अप्सन छान्नुपर्छ । त्यसपछि त्यहाँ जे विवरण राख्यो, त्यही विवरण कार्डमा देखिन्छ । 

  • अगाडि र पछाडिपट्टि लोगो राख्ने र आवश्यकता अनुसार लोगोको आकार र स्थान परिवर्तन गर्न सकिन्छ । 

  • इन्फरमेसनको सेक्सनमा सबै विवरण राखिसकेपछि त्यसैमा रहेको स्टाइलिङको सेक्सनमा जानुहोस् ।

  • उक्त सेक्सनबाट कार्डको कलर कस्तो बनाउने, नामको साइज कत्रो राख्ने, सम्पर्क विवरण कसरी मिलाउने भन्ने सेटअप गर्न सकिन्छ ।

  • यति गरेपछि भर्चुअल कार्ड तयार हुन्छ । अब यसलाई ‘नेक्स्ट स्टेप’को बटनमा ट्याप गरेर कार्डका लागि अर्डर गर्न सकिन्छ । 

रौनकका अनुसार यसरी अनलाइन अर्डर गरिसकेपछि त्यहाँ भएका सम्पूर्ण विवरण प्रमाणित गर्न जेलिएन्टबाट कल जान्छ । सबै विवरण प्रमाणित भएपछि कार्ड प्रिन्टका लागि जान्छ । र, केही दिनमा कार्ड अर्डर गर्ने व्यक्तिले भनेको ठाउँमा पुग्छ ।

अनलाइन पोर्टलबाटै कार्ड अर्डर गर्न सकिने सुविधा भए पनि ६० प्रतिशतले ह्वाट्सएपमा आफ्बनो विवरण बनाएर कार्डका लागि अर्डर गर्ने गरेको रौनक सुनाउँछन् । ‘यतिका अर्डर ह्वाट्सएपबाट आउनुले तपाईंको वेबसाइटको युजर एक्सपिरियन्स कमजोर छ कि भन्ने सङ्केत गर्दैन ?’ भन्ने प्रश्नको जवाफमा रौनक सहजताको प्रसंग जोड्छन् । “एउटा त झन्झट किन गर्ने भन्ने पनि भयो होला । अर्को कार्ड कस्टमाइज गर्दा केही बिग्रिने हो कि भन्ने डर पनि होला,” रौनक भन्छन्, “त्यसैले पनि हामीलाई धेरै अर्डर ह्वाट्सएपमै आउँछ । हाम्रा लागि सजिलो र कम खर्चिलो चाहिं वेबसाइट नै हो । यूएक्सले गर्दा ह्वाट्सएपमा बढी क्वेरी र अर्डर आएको हो जस्तो लाग्दैन ।” 

सुरुवाती समयमा कार्डको शुल्क १५९९ रुपैयाँ तोकिएको थियो । पछि त्यसैलाई इकोसिस्टममा परिमार्जन गर्ने योजना बनाएपछि उनीहरूले कार्डको शुल्क घटाए । र, ८९९ रुपैयाँ कायम गरे । रौनकका अनुसार यो शुल्कमा कार्ड बनेर नेपालभर डेलिभर हुन्छ ।

तर, यसमा उनीहरूका लागि चुनौती पनि उत्तिकै छन् । डिजिटल कार्डमा देखिने विवरण र क्यूआर कोड सजिलै नमेटिने बनाउन गुणस्तरीय प्रिन्टर चाहिन्छ । यसको खर्च लाखौं पर्ने भएकाले उनीहरूले तेस्रो पक्षसँग मिलेर प्रिन्टिङको काम गरिरहेका छन् । तेस्रो पक्षसँग मिलेर काम गरेको भए पनि डेटा सुरक्षा र गोपनीयताको प्रश्न उठिरहेको हुन्छ । यसमा भने कहिल्यै सम्झौता नगर्ने अनुराग स्पष्ट पार्छन् । कार्ड प्रिन्ट गरिसकेपछि केही ग्राहकले विवरण आफैँले फरक राखेकाले सच्याउनु पर्‍यो भन्ने गुनासो राख्छन् । यस्तोमा कार्ड पुनः प्रिन्ट गर्नुपर्ने हुन्छ ।

खर्च ग्राहककै हुने भए पनि उनीहरूको अनुभव खल्लो हुन सक्छ । त्यस्तै थोरै केही कार्डमा सिस्टम इरोर हुँदा फरक डिजाइन पर्ने समस्या पनि देखिए । यद्यपि यस्ता समस्या भने अहिले नभएको रौनक सुनाउँछन् । “कार्ड अर्डरका लागि आइसकेपछि हामी विस्तृतमा कुरा राख्छौं । सबै डेटा भेरिफाई गर्छौं । कन्फर्म भइसकेपछि प्रिन्टमा पठाउँछौं,” उनी भन्छन्, “तर, कहिलेकाहीं भने मानवीय त्रुटिले समस्या आउन सक्छ ।”

पछिल्लो अध्यावधिक: असार २५, २०८२ १८:४





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट