काठमाडौँ । चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढीस्थित मितेरी पुल हालैको बाढीपहिरोले क्षतिग्रस्त भएपछि नेपाल भित्रिने सवारीसाधनको आयात ठप्प भएको छ । नेपाल भित्रिने कुल सवारीसाधनमध्ये ६० प्रतिशतभन्दा बढी यही नाकाबाट आयात हुने हुँदा आगामी दशैं-तिहार जस्ता चाडपर्वको मुखमा बजारमा गाडीको गम्भीर अभाव सिर्जना हुने देखिएको छ ।

नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले एक विज्ञप्ति जारी गर्दै पुल भत्किएका कारण आपूर्ति प्रणालीमा ठूलो अवरोध सिर्जना भएको जनाएको छ । नाइमाका अनुसार चिनियाँ भन्सारबाट जाँचपास (क्लियर) भइसकेका गाडीहरू समेत पुल नहुँदा नेपाल प्रवेश गर्न सकेका छैनन् र सीमापारि नै अलपत्र परेका छन् ।
“नेपाल भित्रिने सवारीसाधनमध्ये ६० प्रतिशतभन्दा बढी उत्तरी नाकाबाट आउने हुँदा रसुवागढी नाकास्थित मितेरी पुल पूर्ण रूपमा भत्किनुले आपूर्ति प्रणालीमा ठूलो अवरोध सिर्जना भएको छ,” विज्ञप्तिमा भनिएको छ ।
विशेषगरी दशैं-तिहारको समयमा सवारीसाधनको माग उच्च हुने गर्दछ । यही समयमा आयात रोकिँदा यसले समग्र अटोमोबाइल बजारलाई नै गम्भीर असर पार्ने व्यवसायीहरूको चिन्ता छ । नाइमाले भनेको छ, “चाडपर्व नजिकिँदै गर्दा यस्तो अवस्था अझ गम्भीर बनेको छ ।”

एसोसिएसनले पुल भत्किएर सिर्जित अवस्थाले मानवीय क्षति मात्र नभई देशको आर्थिक प्रणालीमा पनि गम्भीर असर पारेको भन्दै सरकार र सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराएको छ । नाइमाले तत्काल पूर्वाधार पुनर्निर्माण गरी आपूर्ति प्रणालीलाई सहज बनाउन र विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई प्राथमिकता दिनसमेत सरकारसँग अनुरोध गरेको छ ।
पछिल्लो अध्यावधिक: असार २५, २०८२ १५:३
सामाग्री श्रोत :
टेक पाना