काठमाडौँ । पछिल्लो एक महिनाको अवधिमा करिब ७० हजार ग्राहक थपिएपछि भायानेट प्रतिस्पर्धी कम्पनी सुबिसुभन्दा ठुलो ग्राहक आधार भएको इन्टरनेट कम्पनी बनेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार भायानेट सुबिसुलाई पछि पार्दै देशकै चौथो ठुलो आईएसपी (इन्टरनेट सेवा प्रदायक) कम्पनी बनेको हो ।

तथ्याङ्कमा जेठ महिनाको अवधिमा मात्रै कम्पनीले ६९ हजार ८२५ ग्राहक थप गरेको देखिन्छ । जुन २८ प्रतिशतभन्दा बढीको वृद्धि हो । जब कि नेपालका शीर्ष १० इन्टरनेट सेवाप्रदायक कम्पनीमध्ये यस अवधिमा दोस्रो धेरै नयाँ ग्राहक बनाएको डिशहोमको ६ हजार ३५९ मात्रै थपिएका छन् ।
ग्राहक वृद्धि अस्वाभाविक लागेपछि हामीले कम्पनीकी सीईओ सेवा पाठकसँग सम्पर्क गर्यौँ । उनले नियामकको गाइडलाइन अनुसार ग्राहक विवरण अद्यावधिक गर्दा पछिल्लो महिना धेरै देखिएको बताइन् । उनका अनुसार कम्पनीले यसअघिका महिनामा तत्कालीन अवस्थामा सक्रिय रूपमा इन्टरनेट सेवा प्रयोग गरिरहेका ग्राहकको विवरण मात्र प्राधिकरणलाई पठाउने गरेको थियो ।
तर यस पटक पछिल्लो ९० दिनमा एक्टिभ रहेका सबै ग्राहकको विवरण पठाइएको जानकारी उनले दिइन् । “अन्य सेवा प्रदायकले जस्तै गरी नियामकले गाइडलाइन अनुरूप डेटा पठाउन अनुरोध गरेपछि हामीले यसपालि सोही मापदण्ड अपनाएका हौँ,” पाठकले भनिन्, “त्यसो गर्दा पछिल्लो ९० दिनभित्र एक्टिभ भएका, ग्रेस पिरियडमा रहेका र लिज लाइन अन्तर्गत ब्याकअप लाइन लिएका सबै समेटिएका छन् ।”

भायानेटसँग पछि परेको सुबिसुले भने यस अवधिमा उल्टै ४ हजार ४५२ ग्राहक गुमाएको छ । यससँगै ३ लाख ५ हजार ८४२ ग्राहकमा सीमित सुबिसुभन्दा भायानेट ९ हजार ९२८ ग्राहकले अघि निस्किएको छ । पछिल्लो एक महिनामा धेरै नयाँ ग्राहक थप्ने तेस्रो कम्पनीमा वर्ल्डलिंक रहेको छ ।
३ हजार ८१३ नयाँ ग्राहक थपेको उक्त कम्पनीको कूल ग्राहक आधार १० लाख ७ हजार ७६२ पुगेको छ । त्यस्तै वाईफाई नेपालले ३ हजार २२३, क्लासिक टेकले १ हजार ८७५, नेपाल टेलिकमले ९३६ र सीजीले ८८५ नयाँ ग्राहक थपेका छन् । टेकमाइन्ड र वेब सर्फर भने सुबिसुसँगै ग्राहक गुमाउने कम्पनीको रूपमा देखिएका छन् ।
पछिल्लो अध्यावधिक: असार २५, २०८२ ७:५६
सामाग्री श्रोत :
टेक पाना