काठमाडौँ । डिशहोम देशकै दोस्रो ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी बन्न सफल भएको छ । प्रायः सबै जसो फिक्स्ड लाइन प्रविधि प्रयोग गर्ने सरकारी स्वामित्वको नेपाल टेलिकमलाई पछि पार्दै फाइबर इन्टरनेटकै भरमा डिशहोम दोस्रो स्थानमा आएको हो ।

नेपाल टेलिकमले एफटीटीएचसँगै केबुल तथा एडीएसएल र वायरलेस समेतका प्रविधिबाट फिक्स्ड लाइन इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ ।
नियामक नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार जेठ मसान्तसम्ममा डिशहोम समग्र फिक्स्ड लाइन इन्टरनेट बजारको दोस्रो ठुलो खेलाडीको रूपमा स्थापित भएको हो ।
यससँगै टेलिकम फिक्स्ड लाइन इन्टरनेटमा तेस्रो स्थानमा धकेलिएको छ । फाइबर इन्टरनेटमा भने डिशहोमले टेलिकमलाई माघ २०७९ मै पछारिसकेको थियो ।

२०८२ को जेठ मसान्तसम्म आइपुग्दा नेपाल टेलिकमको फाइबरमा तीन लाख २६ हजार ८४९, एडीएसएल तथा केबुलमा एक हजार २३५ र वायरलेसमा २४ हजार ७६४ गरी फिक्स्ड ब्रोडब्यान्डमा कूल तीन लाख ५२ हजार ८४८ ग्राहक रहेका छन् । जब कि फाइबर प्रविधिमा मात्र रहेको डिशहोमका इन्टरनेट ग्राहक आधार तीन लाख ५६ हजार ७६५ पुगेको छ ।
एक महिनाअघि वैशाखमा इन्टरनेट बजारमा टेलिकमका ग्राहक तीन लाख ५१ हजार ९१२ हुँदा डिशहोम तीन लाख ५० हजार ४०६ ग्राहकका साथ निकटतम प्रतिद्वन्द्वीको रूपमा पछ्याइरहेको थियो ।
देशकै दोस्रो ठुलो इन्टरनेट सेवा प्रदायक बनेसँगै डिशहोमसँग नेपालको फिक्स्ड लाइन इन्टरनेट बजारको हिस्सा ११.१२ प्रतिशत पुगेको छ । १० लाख ७ हजार ४३४ ग्राहक रहेको वर्ल्डलिंक ३१.४२ प्रतिशत बजार हिस्साका साथ सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायकको रूपमा कायम छ ।
नेपाल टेलिकमपछि क्रमशः ३ लाख १५ हजार ७७० ग्राहक भएको भायानेट चौथो, तीन लाख पाँच हजार ८२४ ग्राहकका साथ सुबिसु पाँचौ, एक लाख ८४ हजार १६२ ग्राहक भएको क्लासिक टेक छैटौँ स्थानमा छन् ।
यसबाहेक सातौँ स्थानको वेबसर्फरसँग १ लाख ७५ हजार ८८६, आठौँ नम्बरको टेकमाइन्डसँग ८५ हजार ५१, नवौं स्थानको सीजी कम्युनिकेसनसँग ८१ हजार ७३९ र १० औँ स्थानको वाईफाई नेपालसँग ७७ हजार २५२ ग्राहक छन् ।
पछिल्लो अध्यावधिक: असार २४, २०८२ १८:२६
सामाग्री श्रोत :
टेक पाना