२०८२ असार २४ मंगलवार
२०८२ असार २४ मंगलवार

वर्ल्डलिंकमा अन्तर्राष्ट्रिय वित्त निगमको झन्डै ४ अर्ब लगानी, डिजिटल पूर्वाधार विस्तार गरिने

काठमाडौँ । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालसँगको साझेदारीमा नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स र यसको सहायक कम्पनी डेटा वर्ल्डमा दुई करोड ९० लाख अमेरिकी डलर (करिब तीन अर्ब ९८ करोड रुपैयाँ) लगानी गर्ने घोषणा गरेको छ ।

यो लगानी नेपालभर ब्रोडब्यान्ड कनेक्टिभिटी विस्तार गर्न, दिगो डेटा सेन्टरको पूर्वाधार विकास गर्न र डिजिटल पहुँच बढाएर आर्थिक वृद्धिमा सघाउन केन्द्रित हुने बताइएको छ । यो साझेदारीले नेपालका दुर्गम क्षेत्रहरूमा फाइबर अप्टिक नेटवर्क विस्तार गरी उच्च गतिको इन्टरनेट पहुँच पुर्‍याउने र डेटा भण्डारण तथा प्रशोधनको बढ्दो मागलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ ।

वर्ल्डलिंकका संस्थापक तथा अध्यक्ष दिलीप अग्रवालले आईएफसी र स्ट्यान्डर्ड चार्टर्ड बैंकसँगको यो रणनीतिक साझेदारीले नेपालभर कनेक्टिभिटीको पुललाई अझ बलियो बनाउने बताए । “यो सहकार्य डिजिटल रूपमा सशक्त समाज निर्माण गर्ने हाम्रो साझा प्रतिबद्धताको प्रमाण हो र सबै नेपालीको समृद्ध भविष्यको आधारस्तम्भ हो,” उनले भने ।

परियोजनाअन्तर्गत नेपालको पहिलो ईडीजीई (EDGE) प्रमाणित डेटा सेन्टरसहित देशभर अत्याधुनिक डेटा सेन्टरहरू स्थापना गरी दिगो र नवीन विकासका लागि नयाँ मापदण्ड तयार पारिनेछ । यसमार्फत हजारौँ रोजगारी सिर्जना गर्ने र वर्कफोर्स (कार्यबल)मा महिलाको प्रतिनिधित्व बढाउने लक्ष्यसमेत राखिएको छ ।

आईएफसीका दक्षिण एसियाका लागि क्षेत्रीय निर्देशक इमाद एन. फाखौरीका अनुसार यो लगानी नेपाल सरकारको १६औँ राष्ट्रिय योजना र डिजिटल नेपाल फ्रेमवर्कको दृष्टिकोणसँग मिल्दोजुल्दो छ । “विशेषगरी पिछडिएका क्षेत्रमा डिजिटल पहुँच बढाएर र गुणस्तरीय रोजगारी सिर्जना गरेर नेपालको डिजिटल रूपान्तरण, कनेक्टिभिटी र आर्थिक वृद्धिमा सहयोग गर्न पाउँदा आईएफसी गौरवान्वित छ,” उनले भने ।

यसैगरी, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका सीईओ गोरख राणाले यो सहकार्यलाई नेपालको डिजिटल पूर्वाधार बलियो बनाउने महत्त्वपूर्ण कदमको रूपमा व्याख्या गरे । उनले भने, “देशको डिजिटल पूर्वाधारमा लगानी गरेर हामी इन्टरनेटको पहुँचमा उल्लेखनीय सुधार ल्याउन र विश्वव्यापी अवसरहरू खोल्न चाहन्छौँ ।”

विश्व बैंक ग्रुपको सदस्य आईएफसी विकासशील देशहरूमा निजी क्षेत्रमा केन्द्रित सबैभन्दा ठुलो विश्वव्यापी विकास संस्था हो । यो लगानी नेपालका लागि विश्व बैंक ग्रुपको कन्ट्री पार्टनरशिप फ्रेमवर्क (२०२५-२०३१) सँग पनि जोडिएको छ, जसले सबैका लागि राम्रो अवसर सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।

 

पछिल्लो अध्यावधिक: असार २४, २०८२ ११:१४





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट