२०८२ असार २५ बुधबार
२०८२ असार २५ बुधबार

अमेरिकी टिकटक प्रयोगकर्ताका लागि नयाँ एप आउँदै, पुरानो बन्द हुने

काठमाडौँ । टिकटकको मातृ कम्पनी बाइटडान्सले अमेरिकी प्रयोगकर्ताका लागि मात्र एउटा छुट्टै नयाँ एप ल्याउने भएको छ । शर्ट भिडिओ प्लेटफर्मको अमेरिकी स्वामित्त्व बिक्री गर्ने वा प्रतिबन्धको सामना गर्नुपर्ने बाध्यतामा रहेको बाइटडान्सले नयाँ रणनीति अपनाउन लागेको हो । 

द इन्फरमेसनको रिपोर्ट अनुसार बाइटडान्सले ५ सेप्टेम्बरमा नयाँ एप सार्वजनिक गर्ने योजना बनाएको छ । अमेरिकामा टिकटक चलाइरहनका लागि प्रयोगकर्ताहरूले यो नयाँ एपमा सर्नुपर्ने बताइएको छ । यसलाई कम्पनीभित्र ‘एमटु’ कोड नेम दिइएको छ ।

एप सार्वजनिक हुनासाथ बाइटडान्सले हाल चलिरहेको पुरानो टिकटक एप (जसलाई ‘एम’ भनिन्छ) लाई अमेरिकी एप स्टोरहरूबाट हटाउनेछ । हालको भर्सनको एप आगामी मार्च महिनासम्ममा अमेरिकामा चल्न बन्द हुने अपेक्षा गरिएको छ । यद्यपि यो समयसीमा परिवर्तन हुन सक्ने सम्भावना उच्च छ ।

अमेरिकामा टिकटकको भविष्यबारे लामो समयदेखि चल्दै आएको विवादमा यो पछिल्लो अपडेट हो । तत्कालीन राष्ट्रपति जो बाइडेनले गत वर्ष हस्ताक्षर गरेको एक कानुनले बाइटडान्सलाई १९ जनवरीसम्ममा आफ्नो अमेरिकी टिकटक व्यवसाय बेच्न वा प्रतिबन्धको सामना गर्न समय दिएको थियो ।

तर, २० जनवरीमा पदभार ग्रहण गरेलगत्तै राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त कानुनको कार्यान्वयनलाई रोकेका थिए र त्यसपछि पनि दुई पटक म्याद थप गरिएको थियो । हालको अवस्था अनुसार टिकटकको अमेरिकी व्यवसाय बिक्री नगरे १६ सेप्टेम्बरदेखि प्रतिबन्ध लागु हुनेछ । जुनको अन्त्यतिर ट्रम्पले टिकटकको अमेरिकी सञ्चालनका लागि एक खरिदकर्ता तयार रहेको बताएका थिए ।

त्यतिबेला ट्रम्पले ‘अत्यन्त धनी व्यक्तिको समूह’ ले एप किन्न लागेको दाबी गरेका थिए । यद्यपि बाइटडान्स चिनियाँ कम्पनी भएकाले यो सम्झौताका लागि चिनियाँ सरकारको स्वीकृति आवश्यक पर्ने ट्रम्पले स्वीकारेका थिए । पछि उनले यसमा चिनियाँ सरकारको स्वीकृति पाउनेमा आफू ‘विश्वस्त नभएको’ बताएका थिए । 

अमेरिकाका लागि मात्र बन्ने टिकटको नयाँ एप कस्तो हुन्छ भन्ने जानकारी बाहिरिएको छैन । त्यस्तै टिकटकका अमेरिकी प्रयोगकर्ता सबै अर्को मार्चसम्म नयाँ एपमा सरिसक्नुपर्ने बताइएको छ । तर, युजर अकाउन्ट, त्यसमा भएका भिडिओ र फलोअरको अवस्था के हुन्छ भन्ने अझै स्पष्ट छैन ।

पछिल्लो अध्यावधिक: असार २४, २०८२ ८:२५





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट