२०८२ असार २४ मंगलवार
LATEST NEWS
२०८२ असार २४ मंगलवार

फ्याक्टचेकः त्रिशूलीमा यात्रुसहितको बस खसेको भन्दै भाइरल भिडिओ एआई निर्मित

काठमाडौँ । त्रिशूली नदीमा यात्रुसहितको बस खसेको र मानिसहरू बेपत्ता भएको भन्दै भाइरल भइरहेको भिडिओ एआई (आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिबाट बनाएको पाइएको छ । अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्तालाई झुक्याउने उक्त भिडिओको फ्याक्टचेकका क्रममा टेकपानाले यस्तो निष्कर्ष निकालेको हो । 

भिडिओमा जङ्गलसँगै रहेको पक्की सडकबाट यात्रुबस खोलामा खसेको दृश्य देखिन्छ । बसको छतमा यात्रुहरू भरिभराउ देखिन्छन् र खोलामा आएको बाढीले बस पल्टिन लागिरहेको जस्तो लाग्छ । बाढीले बगाएका रुख तथा काठहरू पनि खोलामा थुप्रिएका छन् । सडक छेउमा उभिएको भिड रमिते जसरी उक्त दृश्य हेरिरहेको देखिन्छ ।

करिब पाँच सेकेन्ड लामो उक्त भिडिओलाई त्रिशूली नदीमा भएको दुर्घटनाको रूपमा दाबी गर्दै भाइरल बनाइएको छ । तर, टेकपानाले तथ्यजाँच गर्दा भिडिओ एआईबाट सिर्जना गरिएको पुष्टि भएको हो ।

दाबी 

“समिर प्रिन्स” नामक फेसबुक प्रयोगकर्ताले त्रिशूलीमा बस खसेर १५ जना बेपत्ता भएको र बाँकीको उद्दार हुँदैछ भन्ने दाबी सहितको उक्त भिडिओ सार्वजनिक गरे । २ जुलाईमा राति ७:५९ मा फेसबुक रिलमा सार्वजनिक उक्त भिडिओमा यो सामाग्री तयार पार्दासम्म ९ लाख ६५ हजार भन्दा धेरै भ्युज आइसकेको छ । जसमा ६ हजार बढी लाइक छन् । 

उक्त रिल्सको क्याप्सनमा लेखिएको छ,  “त्रिशूलीमा बस खसेर धेरै जना बेपत्ता भएका छन् ।” हेर्नुहोस् भिडिओ, अर्काइभ लिंक, अनि तलको फोटो । 

अनुसन्धान 

झट्ट हेर्दा सामाजिक सञ्जाल प्रयोगकर्तालाई सहजै झुक्याउने दाबी सहितको भिडिओ देखेपछि हामीले उक्त भिडिओबाट विभिन्न कि फ्रेम निकालेर गुगर रिभर्स इमेज सर्चमार्फत अन्य भिडिओहरू खोज्यौँ । यसै क्रममा सामाजिक सञ्जाल फेसबुकमै “आयुज अलिजेह फ्यान” नामक पेजमा समिर प्रिन्स भन्दा तीन दिन पहिला सार्वजनिक भएको सोही भिडिओ फेला पर्‍यो । 

१५ असार (२९ जुन) बिहान ११:५६ मा सार्वजनिक उक्त भिडिओ यो सामग्री तयार पार्दा सम्म २ लाख ४५ हजार पटक हेरिएको छ । भिडिओको क्याप्सन छ, “ठुलो बस नदीमा खस्नुभन्दा केही सेकेन्ड अगाडि ! तीव्र धाराले सवारी साधन र यात्रुहरूलाई तानेर लैजान्छ!” यद्यपि उक्त पेजमा भिडि‌ओ कहाँको हो भनेर दाबी गरिएको छैन । “आयुज अलिजेह फ्यान” नामक फेसबुकबाट सार्वजनिक  भिडिओ, अर्काइभ लिङ्क र अनि तल फोटो । 

अनुसन्धानका क्रममा पछिल्ला हप्ताहरूमा उक्त भिडिओ भारतका विभिन्न ठाउँको भन्दै दाबी गरिएका कयौँ युट्युब भिडिओ पनि फेला परे ।  

 

सबैभन्दा पुरानो भिडिओ खोज्दै जाने क्रममा ‘डिजास्टर स्ट्रक’ नामक इन्स्ट्राग्राम अकाउन्ट फेला पर्‍यो । जसमा २८ जुनको मितिमा उक्त भिडिओ राखिएको रहेछ । हामीले यसभन्दा पुरानो मितिमा यो भिडिओ सार्वजनिक भएको चाहिँ फेला पार्न सकेनौँ ।

 

 

भिडिओमा प्रयोग गरिएको आवाजको ‘ओरिजनल साउन्ड’ मा क्लिक गर्दा सोही भिडिओ फरक फरक अकाउन्टमा पनि राखिएको फेला पर्छ । जहाँ केही अकाउन्टले राखेको उक्त भिडिओमा “invideo” को मार्किङ देख्न सकिन्छ। इन्भिडिओ एउटा सफ्टवेयर हो, जसले स्क्रिप्ट दिएपछि एआई भिडिओ तयार पारिदिन्छ । 

 



 

त्यस बाहेक हामीले भिडिओलाई विभिन्न तार्किक आधारमा विश्लेषण गर्‍यौँ । त्रिशूली नदी आसपासको अधिकांश क्षेत्र पृथ्वी राजमार्ग अन्तर्गत पर्दछ । अचेल नेपाली राजमार्गमा छतमा यात्रु लिएर बस चलेको कुरा आफैँमा अस्वाभाविक हो । त्यस बाहेक भिडिओमा कयौँ मानिसहरू जम्मा भएपनि यात्रुहरूको मद्दत गरिरहेका देखिँदैनन् । विपद्को समयमा पनि चुपचाप खासै नआत्तिई बसेका देखिन्छन् । 

भिडिओबाट निकालिएका विभिन्न कि फ्रेमबाट तस्बिरलाई जुम गरेर हेर्दा उक्त भिडिओमा भएका असामान्य क्रियाकलापहरू खुल्छन् । यहाँ तल हामीले गरेका केही विश्लेषण हेरौँ:

 

यस्तै एआई भिडिओ डिटेक्सन टुल ‘हाइभ मोडेरेसन’ मार्फत उक्त भिडिओ एआई निर्मित हो वा होइन भनेर जाँच गर्दा ७५% एआईद्वारा निर्मित देखायो । 

 

दाबी 

त्रिशूलीमा बस खसेर १५ जना बेपत्ता भएको र बाँकीको उद्दार हुँदै भनेर भिडिओ सार्वजनिक ।  

दाबीकर्ता 

‘समिर प्रिन्स’ नामक फेसबुक अकाउन्ट लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ता । 

तथ्य

यात्रुसहित बसलाई बाढीले बगाएको भनेर भाइरल भइरहेको भिडिओ एआई निर्मित हो । 

निष्कर्ष

त्रिशूली नदीमा यात्रुसहितको बस खसेर १५ जना बेपत्ता भएको दाबी सहित सामाजिक सञ्जालमा भाइरल  भिडिओ वास्तविक नभई एआई निर्मित हो । यात्रु वाहक बसको छतमा यात्रुहरू देखिनु, भिडिओमा देखिएका व्यक्तिहरूको चालढाल सबै असामान्य छ । 

भिडिओका विभिन्न कि फ्रेम निकालेर विश्लेषण गर्दा यस अघि नै विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताले यही भिडिओ राखेको पाइयो । साथै एआई भिडिओ डिटेक्सन टुल ‘हाइभ मोडेरेसन’को परीक्षणमा समेत सो भिडिओ ७५% एआई निर्मित रहेको देखिएको छ । 

प्रतिक्रिया

तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।

 

पछिल्लो अध्यावधिक: असार २३, २०८२ १७:५





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट