काठमाडौं, प्रतिनिधिसभाकी सांसद रमा कोइरालाले गन्तव्य मुलुकमा रहेका नेपाली दूतावासहरुमा कर्मचारीको अभाव रहेको भन्दै दूतावासमा कर्मचारी बढाउन आग्रह गरेकी छन् । उनले कम्तीमा द्धिपक्षिय श्रम सम्झौता गरिएका मुलुकहरुमा अवस्थित नेपाली दूतावासमा एकजना डाक्टर र एकजना वकिल राख्न सके धेरै नेपाली श्रमिकले त्यसबाट लाभ पाउने धारणा राखिन् ।
प्रतिनिधिसभाको सोमवारको बैठकमा बोल्दै सांसद कोइरालाले भनिन्, “अर्थमन्त्री यहि हुनुहुन्छ, जति खर्च भएपनि त्यति गरौं । यसले दूतावासको कामलाई प्रभावारी बनाउँछ ।” उनले हालै आफू मलेसिया भ्रमणमा गएर फर्केको जानकारी गराउँदै हाल मलेसियास्थित नेपाली दूतावासमा २१ जना कर्मचारीहरु कार्यरत रहेको तर उनीहरुलाई वैधानिक रुपमा कार्यरत ४ लाख भन्दा बढी श्रमिक र अवैधानिक रुपमा बसिरहेका थप श्रमिकको समस्या सम्वोधन गर्न हम्मेहम्मे परिरहेको जानकारी गराइन् ।
उनले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा वैदेशिक रोजगारमा जाने श्रमिकले पैसा जम्मा गरेपनि गन्तव्य मुलुकका रोजगारदाताले भनें रकम जम्मा नगरिरहेको भन्दै यसका लागि श्रम मन्त्रालयले कुटनीतिक पहल गर्नुपर्ने धारणा राखिन् । उनले भनिन, “हाम्रा श्रमिकले त पैसा जम्मा गर्ने गरेका छन्, त्यहाँ (गन्तव्य मुलुक) को रोजगारदाताले त जम्मा गर्दैनन् । हामीले हाम्रो बार्गेनिङ पावर बढाउनु पर्दछ ।”
उनले स्वास्थ्य परीक्षणमा नेपालमा नै सिण्डीकेट रहेको भन्दै गन्तव्य मुलुकमा रोजगारी दिन नसकेपछि सप्लाई कम्पनीले पुनः स्वास्थ्य परीक्षण गराइ जानाजान फेल बनाएर फर्काइने गरेको दावी गरिन् । उनले राज्यको नीति फ्रि भिसा फ्रि टिकट रहेपनि रोजगारीका लागि मलेसिया जाने श्रमिकले ३ देखि ५ लाखसम्म तिर्नु परिरहेको भन्दै यसमा राज्यले अनुगमन कडा बनाउनु पर्ने माग राखिन् ।
मलेसियामा कार्यरत सुरक्षा गार्डहरुले महिनामा ३० दिन हरेक दिन १५ घण्टा उभिएर काम गर्नुपरिरहेको भन्दै उनले त्यसवापत उचित ज्याला नपाएको बताइन् । त्यति समय काम गर्दा ३३ सय रिंगिटसम्म तलव हुनुपर्ने भन्दै तर १५ सय देखि २ हजार रिंगिटमा काम गर्न उनीहरु बाध्य रहेको उनको भनाई थियो । सप्लाई कम्पनी मार्फत जानेहरुले दुःख पाइरहेको भन्दै उनले त्यसरी पठाउने काममा नेपालका मेनपावर (कम्पनी) हरु नै संलग्न रहेको र सो ठगिको जालोमा संलग्नहरुलाई राज्यले अनुगमन गरि नियन्त्रण गर्नुपर्ने धारणा राखिन् ।
संसदमा बोल्दै सांसद कोइरालाले भनिन्, “नेपालमा त मैले सुनेको थिएँ मिटर व्याजी छन् भनेर तर विदेशमा पनि मिटर व्याजीहरु रहेछन् । त्यसलाई कसरी नियन्त्रण गर्ने हो ? ति मिटर व्याजीबाट कसरी हाम्रा श्रमिकलाई जोगाउने हो संसदमा छलफल हुनु पर्दछ ।”
सामाग्री श्रोत :
deshparadesh

