२०८२ असार २२ आईतवार
LATEST NEWS
२०८२ असार २२ आईतवार

नेपालमा सुरक्षित आप्रवासन कार्यक्रम सफल भएको छः मन्त्री भण्डारी

काठमाडौं, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नेपालमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सफल रुपमा सञ्चालन भएको बताएका छन् । उनले तीनवटै तहका सरकारहरुको अपनत्वले यो कार्यक्रम सफल भएको बताए ।
सामी कार्यक्रमको तेस्रो चरण कार्यक्रम कार्यान्वयनबाट प्राप्त सिकाइ तथा अनुभव आदान–प्रदान कार्यक्रमको अवसरमा प्रमुख अतिथिका रुपमा बोल्दै मन्त्री भण्डारीले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र उपलव्धीमूलक बनाउन नेपाल सरकारलाई स्वीस सरकारले गरेको सहयोगका लागि धन्यवाद पनि दिए ।
मन्त्री भण्डारीले वैदेशिक रोजगार विभागमा हाल ३६ हजार ठगीसम्बन्धी मुद्दा रहेकाले ऐन संशोधन गरी ती मुद्दा छिटो फछ्र्यौट गर्न सक्ने व्यवस्था गर्न लागिएको जानकारी दिए । उनले भने, ‘अहिलेकै कानुनअनुसार अगाडी बढ्दा सबै मुद्दा टुङ्ग्याउन २५ वर्ष लाग्छ । त्यसैले ऐन संशोधनको तयारीमा छौँ । यसका लागि जिल्लामा नै प्रहरीमा उजुरी दिने र मुद्धा दायर जिल्ला अदालतमा नै गर्ने व्यवस्था गर्न लागिएको मन्त्री भण्डारीको भनाई थियो ।

सो अवसरमा मन्त्री भण्डारीले बाध्यात्मक वैदेशिक रोजगारीको विकल्प स्वरूप आन्तरिक रोजगारीको विकास र प्रवद्र्धन गर्नु सरकारको प्राथमिकता भएको बताए । उनले सुरक्षित वैदेशिक रोजगारीसँगै आन्तरिक रोजगारी प्रवद्र्धनका उत्तिकै जरुरी रहेको बताए । उनले भने, ‘पहिला मन्त्रालयको ध्यान वैदेशिक रोजगारमा मात्रै केन्द्रित थियो, अहिले आन्तरिक रोजगारीका लागि सीप विकास प्रतिष्ठानमार्फत कार्यक्रम अगाडी बढाइएको छ । वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरूलाई मुलुकको समृद्धिमा जोड्ने अभियान सामीमार्फत अगाडी बढाइनेछ ।’
सो अवसरमा बोल्दै श्रम सचिव डा. कृष्णहरि पुष्करले आगामी दिनमा पनि सामी कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडी बढाइने प्रतिवद्धता जनाए ।

कार्यक्रमा हेटौंडा उपमहानगरपालिका, इनरुवा नगरपालिका, हरिवन नगरपालिका, शारदा नगरपालिकाका प्रमूखहरुका साथै जानकी गाउँपालिकाका अध्यक्षले सामी कार्यक्रमले स्थानीय स्तरमा नागरिकको तहमा पारेको प्रभावको आधारमा कार्यक्रमलाई अझ प्रभावकारी कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए ।
सो अवसरमा नेपाल स्थित स्वीट्जरल्यान्ड राजदूतावासका प्रतिनिधि एन्टोनिया फ्लुकले तीनै तहका सरकारहरुले सामी कार्यक्रमको अपनत्व लिनुलाई स्वीट्जरल्यान्ड सरकारले सम्मानका साथ हेरेको बताइन् ।
वैदेशिक रोजगारीको क्षेत्रलाई सुरक्षित, मर्यादित, व्यवस्थित एवम् उपलब्धिमूलक बनाउने उद्देश्यले नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारबीच द्विपक्षीय सम्झौता भई २०६७ सालमा सुरु भएको सामी कार्यक्रम संघ, प्रदेश र स्थानीय सरकारको समन्वय, सहकार्य र साझेदारीमा सञ्चालनमा रहेको छ । नेपाली आप्रवासी श्रमिक र उनीहरूका परिवारलाई राज्य संयन्त्रबाट संरक्षण गरी सुरक्षित तथा मर्यादित कार्य वातावरणबाट लाभान्वित बनाउने लक्ष्यले सञ्चालित यो कार्यक्रमको गुणस्तरीयता तथा प्रभावकारिता अभिवृद्धिका निम्ति स्वीस सरकार विकास सहयोग एसडीसीको तर्फबाट हेल्भेटास नेपालले प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

सामी कार्यक्रम तेस्रो चरणको अवधिमा १,३३९,३७७ व्यक्ति (३,६६,७७१ महिला) ले आप्रवासी स्रोत केन्द्रबाट र समुदाय तहका कार्यक्रममार्फत ७,७१,३४४ (३,०८,९४६ महिला) ले सुरक्षित वैदेशिक रोजगारीबारे सूचना तथा परामर्श प्राप्त गरेका थिए । ३१, ८३५ व्यक्ति (२,७६१ महिला) ले न्यायमा पहुँचका लागि सहयोग र सहजीकरण प्राप्त गरेका थिए । त्यसैगरी, १४,१०६ (१,४३६ पुरुष) ले मनोसामाजिक परामर्श प्राप्त गरे भने, ८,७१२ (१,९९१ महिला) ले सीप तालिम प्राप्त गरेका थिए । जम्मा ६२,९९० रेमिट्यान्स प्राप्त गर्ने घरपरिवार सदस्य स्थानीयस्तरमा सञ्चालन हुने वित्तीय साक्षरता कक्षामार्फत लाभान्वित भएका थिए । कोभिड–१९ महामारीको समयमा समेत ३९,३०४ (१३,६६१ महिला) ले यस कार्यक्रम अन्तर्गत मनोसामाजिक परामर्श सेवा प्राप्त गरेका थिए ।
कार्यक्रममा सुरक्षित आप्रवासन कार्यक्रम तेस्रो चरण (२०७५–२०८१) सिकाइ श्रृंखला पुस्तिका तथा सिकाइ समेटिएको भिडियो सार्वजनिक गरिएको थियो । सामीको तेस्रो चरण सिकाइ तथा अनुभवको आधारमा कार्यक्रम अन्तर्गतका सेवाहरूलाई संस्थागत गर्नका लागि नीतिगत विकास र संरचनागत शुद्धिकरणलाई प्राथमिकतामा राख्दै यो कार्यक्रम हाल कार्यान्यवनको चौथो चरणमा प्रवेश गरेको छ ।

सामाग्री श्रोत :
deshparadesh

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट