काठमाडौँ । माइक्रोसफ्टले पाकिस्तानमा रहेको आफ्नो स्थानीय कार्यालय बन्द गर्ने घोषणा गरेको छ । यो निर्णयसँगै कम्पनीको पाकिस्तानमा २५ वर्ष लामो उपस्थिति समाप्त भएको छ ।

टेकक्रन्चलाई प्राप्त ईमेलमा कम्पनीले यसलाई आफ्नो विश्वव्यापी पुनर्संरचना र कर्मचारी कटौती कार्यक्रमको हिस्साको रूपमा उल्लेख गरेको छ । यससँगै माइक्रोसफ्टले अब पाकिस्तानमा आफ्ना ग्राहकलाई रिसेलर र नजिकै रहेका अन्य क्षेत्रीय कार्यालयमार्फत सेवा प्रदान गर्नेछ ।
माइक्रोसफ्टले जुन २००० देखि पाकिस्तानमा भौतिक कार्यालय सञ्चालन गर्दै आएको थियो । कम्पनीका अनुसार यस परिवर्तनले ग्राहकसँग सम्बन्धित कुनै पनि सेवामा असर पर्ने छैन । यद्यपि यस निर्णयबाट पाकिस्तानमा प्रत्यक्ष रूपमा कार्यरत पाँच जना कर्मचारी प्रभावित हुनेछन् ।
यी कर्मचारी कम्पनीका लागि अन्य इन्जिनियरिङ स्रोतका रूपमा भन्दा पनि उक्त कार्यालयबाट एज्युर र अफिस जस्ता प्रडक्ट बिक्री गर्ने काममा आवद्ध थिए ।

यसअघिदेखि नै माइक्रोसफ्टले पाकिस्तानबाट आफ्नो सेवा सार्ने तयारी थालेको थियो । त्यसका लागि कम्पनीले पाकिस्तानको लाइसेन्सिङ र व्यावसायिक सम्झौता व्यवस्थापन आयरल्यान्डमा सारिरहेको थियो ।
कम्पनीको यस कदमलाई उसको विश्वव्यापी कर्मचारी कटौती कार्यक्रमसँग जोडेर हेरिएको छ । यस अन्तर्गत हालै विश्वभरबाट नौ हजार बढी कर्मचारी घटाइएको छ ।
पाकिस्तानका लागि माइक्रोसफ्टका पूर्व प्रमुख जव्वाद रहमानले यसलाई देशको अस्थिर व्यावसायिक वातावरणको ‘गम्भीर सङ्केत’ भनेका छन् । उनले भने, “यसले हाम्रो देशले सिर्जना गरेको वातावरणलाई दर्शाउँछ, जहाँ माइक्रोसफ्ट जस्तो विश्वव्यापी कम्पनीलाई पनि टिक्न दिगो भएन ।”
केही दिनअघि मात्र पाकिस्तान सरकारले माइक्रोसफ्ट र गुगलसँगको सहकार्यमा पाँच लाख युवालाई आईटी तालिम दिने योजना सार्वजनिक गरेको थियो । गुगलले पाकिस्तानमा लगानी बढाइरहेको बेला माइक्रोसफ्टको यो कदमलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयले भने यो निर्णयलाई माइक्रोसफ्टको ‘विश्वव्यापी वर्कफोर्स-अप्टिमाइजेसन कार्यक्रम’को एक भाग भएको प्रतिक्रिया दिएको छ ।
पछिल्लो अध्यावधिक: असार २१, २०८२ ९:५१
सामाग्री श्रोत :
टेक पाना