काठमाडौं – नेपालको वैज्ञानिक तथा शैक्षिक समुदायका लागि ऐतिहासिक कदमका रूपमा शिमाड्जु एशिया प्यासिफिक, प्यासिफिक कमर्सियल कम्पनी र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एमबीयुएसटी)ले नेपालमा अनुसन्धान, नवप्रवर्तन र शैक्षिक उत्कृष्टता सुदृढ पार्न सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
समारोह काठमाडौँमा आयोजना गरिएको थियो, जहाँ तीनै संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो। मबीयुएसटीका अध्यक्ष प्रा राजेन्द्रध्वज जोशी, शिमाड्जु एशिया प्यासिफिकका कार्यकारी अधिकारी तथा सिनियर महाप्रबन्धक श्री डेभ चुवा र प्यासिफिक कमर्सियल कम्पनीका निर्देशक विजेन्द्र श्रेष्ठले शैक्षिक, अनुसन्धानकर्ता, नियामक अधिकारी, औषधि तथा आयुर्वेद उद्योगका प्रतिनिधि र सञ्चारकर्मीहरूको बीचमा औपचारिक रूपमा सम्झौतामा हस्ताक्षर गरे।
विज्ञान तथा प्रविधि सचिव श्री विश्व बाबु पौडासैनीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय र शिमाड्जुको पहललाई प्रशंसा गर्दै प्यासिफिक कमर्सियललाई यस सहकार्यको नेतृत्व गरेकोमा धन्यवाद दिए। उनले यस्ता सहकार्यहरूले नेपालमा अनुसन्धान, विज्ञान र प्रविधिको स्तर उकास्न सहयोग गर्नेमा आफू विश्वस्त रहेको बताए।
कार्यक्रममा डा. राजेन्द्रध्वज जोशीले विश्वविद्यालयको अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने प्रतिवद्धता व्यक्त गर्दै भने, ‘शिमाड्जु र प्यासिफिक कमर्सियल कम्पनीसँगको यो सहकार्यले नेपालको वैज्ञानिक उन्नतिमा महत्वपूर्ण मोड ल्याउनेछ, जसले विश्वस्तरीय पूर्वाधार र अन्तर्राष्ट्रिय सहकार्यका ढोका खोल्नेछ।’
समारोहमा शिमाड्जुको वर्ल्ड ल्याब नेटवर्ककोको प्रस्तुति समेत प्रस्तुत गरिएको थियो, जुन एशिया प्यासिफिक र दक्षिण एसियाभरका ३४ सहकार्य प्रयोगशालालाई जोड्ने विश्वव्यापी प्लेटफर्म हो र अब नेपाल ३५औं सदस्यका रूपमा यसमा समावेश भएको छ। कार्यक्रममा विश्वविद्यालयको दृष्टिकोण र उपलब्धिहरूको बारेमा भिडियो प्रस्तुति पनि गरिएको थियो।
१५० वर्षभन्दा लामो इतिहास बोकेको शिमाड्जु कर्पोरेसन विश्वकै अग्रणी वैज्ञानिक तथा विश्लेषणात्मक उपकरण निर्माता हो, जसले मानव स्वास्थ्य, खाद्य सुरक्षा र वातावरणीय दिगोपनमा योगदान पुर्याउँदै आएको छ। त्यसैगरी, शिमाड्जुको नेपालका लागि २५ वर्षभन्दा लामो समयदेखि विशेष वितरकको रूपमा रहेको प्यासिफिक कमर्सियल कम्पनीले नेपालमा अत्याधुनिक प्रविधि र समाधान ल्याउँदै आएको छ।
शिमाड्जु एशिया प्यासिफिकका प्रतिनिधि डेभ चुवाले भने, ‘हामी सहकार्यको शक्तिमाथि विश्वास गर्छौं। यस सम्झौता मार्फत नेपाललाई अनुसन्धान क्षमता वृद्धि गर्न र विश्व वैज्ञानिक समुदायसँग जोडिन सहयोग गर्न पाउँदा हामी उत्साहित छौं।’
त्यस्तै, प्यासिफिक कमर्सियल कम्पनीका श्री विजेन्द्र श्रेष्ठले सिफिकको रूपमा हामी केवल उपकरण आपूर्तिकर्ता होइन, एक सम्पूर्ण समाधान प्रदायक बन्न पाउँदा गर्व लाागेको उल्लेख गरे। ‘यो सहकार्यले नेपाललाई विश्व अनुसन्धान र नवप्रवर्तनको नक्सामा अझ माथि पुर्याउने हाम्रो प्रतिवद्धतालाई पुनः पुष्टि गरेको छ।” उनको सपना भनेको विज्ञानलाई व्यवसायिक बनाउँदै अनुसन्धानलाई अर्थपूर्ण र ठोस उत्पादनमा रूपान्तरण गर्नु हो,’ उनले भने।
यस अवसरमा औषधि प्रशासन विभाग (डीडीए)का प्रमुखनारायण ढकालले शैक्षिक–उद्योग सहकार्यको व्यापक महत्व रहेको बताए। उनले भने, ‘यस प्रकारको सहकार्यले नेपालको औषधि क्षेत्रको विकासमा टेवा पुर्याउनेछ। औषधि व्यवसायमा दक्ष र जानकार जनशक्ति विकास गर्न शैक्षिक र उद्योगबीचको सहकार्य अत्यावश्यक छ। यस्ता पहलहरूले हाम्रो जनशक्तिलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय चुनौतीहरू सामना गर्न तयार पार्छ।’
सामाग्री श्रोत :
swasthyakhabar

