काठमाडौँ । नेपालको अटोमोबाइल र हेभी इक्विपमेन्ट उद्योगमा एउटा स्थापित नाम हो ऋतुसिंह वैद्य । वैद्यज् अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउस (VOITH) की प्रबन्ध निर्देशकको रूपमा उनको दैनिकी सामान्यतया बिहानैदेखि सुरु हुन्छ ।

उनले आफ्नो कार्यालय आफैँले डिजाइन गरेकी हुन् । जहाँ न्यूनतम, हल्का खैरो र सेतो रङ्गलाई प्राथमिकतामा राखिएको देख्न सकिन्छ । जसले दिनभर सहज अनुभव प्रदान गर्ने उनको अनुभव छ । व्यक्तिगत अनुशासन र समय व्यवस्थापन उनले सैन्य क्षेत्रबाट सिकेकी हुन्, जुन उनको व्यक्तित्वको अभिन्न अङ्ग बनेको छ ।

कार्यस्थल व्यवस्थापन र व्यावसायिकता
ऋतुसिंह वैद्य आफ्नो कार्यस्थललाई सधैँ स्वच्छ र व्यवस्थित राख्न रुचाउँछिन् । उनको टेबलमा कागजपत्रहरू लामो समयसम्म रहँदैनन् र तत्काल वा भोलिपल्टै गर्नुपर्ने कामहरू मात्र त्यहाँ देखिन्छन् । उनी कामहरूलाई थाती राख्न मन पराउँदिनन् ।
आज गर्नुपर्ने काम आजै सक्ने विश्वास राख्छिन् । व्यावसायिक रूपमा उनलाई ब्ल्याक एन्ड ह्वाइट व्यक्तित्वको रूपमा चिनिन्छ, जसले व्यवसायमा निर्णय लिन र आफ्नो शक्ति तथा कमजोरीहरू पहिचान गर्न मद्दत गर्छ ।
वैद्यज् अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसले टोयोटा गाडीहरूको लागि शोरुम सञ्चालन गर्दछ । जहाँ हालै टोयोटाको नयाँ दिशानिर्देशअनुसार शोरुमलाई नयाँ स्वरूप दिने काम भइरहेको छ । पहिले रातो र खैरो रङ्गमा देखिने टोयोटाका शोरुम अब बेज र सेतो रङ्गले रङ्गिनेछन् ।
गाडीहरूको व्यापारका साथै ऋतुसिंह वैद्य कम्पनीको हेभी इक्विपमेन्ट डिभिजनको पनि नेतृत्व सम्हाल्छिन् । यो डिभिजनले सडक निर्माण, उत्खनन र फाउन्डेसन मसिनरी जस्ता हेभी इक्विपमेन्टको कारोबार गर्दछ । यसमा हालै ‘रोड हेड’’ नामक एउटा रोचक परियोजनामा काम भइरहेको छ, जसले सुरुङहरूलाई सुरक्षित र प्रभावकारी रूपमा ड्रिल गर्दछ । यो पहिले गरिने ब्लास्टिङ अर्थात् बिस्फोटभन्दा उन्नत प्रविधि हो ।
उनका अनुसार यी मसिनहरू सडक, सुरुङ, पुल र भवनहरू निर्माण गर्ने काममा उपयोग हुन्छन्, जसले नेपालको पूर्वाधार विकासमा महत्त्वपूर्ण भूमिका खेल्नेछन् । यो बजार निकै प्रतिस्पर्धी भए पनि पूर्वाधार विकासमा अघि बढिरहेको नेपालका लागि यसको माग उच्च छ ।
शार्क ट्यांक नेपालको अनुभव
शार्क ट्यांक नेपालको अनुभवलाई ऋतुसिंह वैद्यले अद्भुत ठानेकी छिन् । १७ वर्षदेखि सिनियर उमेरसम्मका युवाहरूले के सोचिरहेका छन् र कस्तो काम गरिरहेका छन् भनेर हेर्न पाएकोमा उनी खुसी देखिन्छिन् । उनी जिज्ञासुपन र सफल हुने चाहनालाई उद्यमीको साझा विशेषता ठान्छिन् ।
उनका लागि शार्क ट्यांकमा लगानी गर्नुको मुख्य उद्देश्य युवाहरूलाई देशमै रोक्नु हो । उनी भन्छिन्, “म पैसा लगानी गर्न चाहन्छु, ताकि उनीहरू विदेश नजाऊन् ।” ऋतु विचार (Idea) भन्दा त्यसलाई कार्यान्वयन गर्ने व्यक्तिलाई बढी महत्त्व दिन्छिन् ।
उनका अनुसार, शार्क ट्यांकमा आउने धेरैजसो उद्यमीहरू आफ्नै कम्पनीमा एक-दुई वर्षदेखि काम गरिरहेका हुन्छन् । जसले गर्दा उनीहरूमा उद्यमशीलताको चाहना स्पष्ट देखिन्छ । यदि सहयोग, मार्गदर्शन र आर्थिक सहयोग प्रदान गरियो भने एक उद्यमीले सयौँलाई देशमा रोक्न सक्ने उनको विश्वास छ । यो एक चेन इफेक्टको रूपमा सिर्जना होस् भन्ने चाहन्छिन्, उनी ।
अटो क्षेत्रको नयाँ संस्था
उनका अनुसार नेपालको अटोमोबाइल क्षेत्रको मेरूदण्ड मानिने नाडा जस्तो ठुलो संस्थाले सबैलाई समेट्न नसकेकोले नेपाल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को अवधारणा विगत चार-पाँच वर्षदेखि रहेको थियो ।
यसको मुख्य उद्देश्य आयातकर्ता र निर्माताहरूका लागि पोलिसी कमिटी, कस्टमर अवेरनेस, नवप्रवर्तन, दक्ष जनशक्तिको तालिम र अभिवृद्धिमा ध्यान केन्द्रित गर्नु हो । यो संस्थाले ग्रे मार्केटलाई नियन्त्रण गर्न र स्पेयर पार्ट्सको व्यवस्थापनमा पनि मद्दत गर्ने ऋतु बताउँछिन् ।
स्टार्टअपमा सूर्यन्स वैद्य
ऋतुसिंह वैद्यका छोरा सूर्यन्स वैद्यले पिट स्टप नामक एक स्टार्टअप सुरु गरेका छन् । जुन यही समूहकै हिस्सा हो । ‘पिट स्टप’ एक बुटीक वर्कशप हो, जहाँ ग्राहकहरूले आफ्नो गाडीमा कुनै पनि प्रकारको मोडिफिकेसन र डिटेलिङ गराउन सक्छन् ।
ऋतुसिँह वैद्यलाई आफ्नो छोराको स्टार्टअपमा गर्व छ, विशेष गरी त्यहाँको ल्याबमा, जहाँ गाडीहरूको कायापलट हुन्छ । सूर्यन्स मोबिलिटीसँग सम्बन्धित कुनै पनि सेवामा ग्राहकहरूलाई असीमित विकल्प प्रदान गर्नुलाई आफ्नो लक्ष्य ठान्छन् ।
व्यक्तिगत जीवन र कलाप्रतिको मोह
मिस इन्डिया र मोडलिङ पृष्ठभूमिबाट आएको भए पनि ऋतुसिंह वैद्य आफू अब त्यो क्षेत्रबाट धेरै टाढा पुगिसकेको बताउँछिन् ।
उनी एक कलाप्रेमी पनि हुन्, र पहिले चित्रकला पनि गर्थिन् । उनलाई कला हेर्न र बुझ्न मनपर्छ । कम्पनीमा हरेक बिहीबार कर्मचारीहरूले नेपाली पोसाक लगाउने परम्परा छ, जुन उनको ससुराले सुरु गरेका थिए । उनी सारी लगाउन मन पराउँछिन् र नेपाली पोसाकको परम्परालाई जीवित राख्न आवश्यक रहेको बताउँछिन् ।
शार्क ट्यांक र अन्य नयाँ जिम्मेवारीका कारण अहिले उनको व्यस्तता झन् बढेको छ । सामाजिक सञ्जालमा हुन सक्ने सम्भावित ट्रोलिङप्रति उनी सहज छिन् । उनको विश्वास छ, “आफूले आफ्नो सक्दो राम्रो गर्नुपर्छ र नियत शुद्ध हुनुपर्छ । यदि मानिसहरूले यसलाई गलत तरिकाले लिन्छन् भने, त्यो उनीहरूको कुरा हो ।”
ऋतुसिंह वैद्यको जीवन र कामले नेपालको व्यावसायिक क्षेत्रमा एउटा महत्त्वपूर्ण उदाहरण प्रस्तुत गर्दछ । उनको नेतृत्व, दूरदृष्टि र युवा उद्यमीहरूलाई सहयोग गर्ने प्रतिबद्धताले देशको आर्थिक विकासमा सहयोग पुर्याउनेछ ।
पछिल्लो अध्यावधिक: असार १९, २०८२ १९:४६
सामाग्री श्रोत :
टेक पाना