काठमाडौँ । सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन् । गायिका एलिना चौहानले दिएको उजुरीका आधारमा चितवनका गुञ्जन राईलाई ललितपुरबाट बुधबार साँझ पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए ।

चौहानले सोमबार साइबर ब्युरोमा चार जनाविरुद्ध उजुरी दर्ता गराएकी थिइन् । पक्राउ परेका राई सोही उजुरीमा समावेश व्यक्तिहरूमध्ये एक हुन् । उनीमाथि सामाजिक सञ्जालमार्फत नकारात्मक टिप्पणी र चरित्रहत्या गर्ने सामग्री फैलाएको आरोप छ ।
सामाजिक सञ्जालमा बढ्दै गएका नकारात्मक कमेन्टहरूप्रति चौहानले कडा प्रतिक्रिया जनाउँदै आएकी छन् । यसै क्रममा उनले आफ्नो फेसबुकमार्फत केही व्यक्तिहरूको नाम, तस्बिरसहित सार्वजनिक गर्दै उजुरीसमेत दर्ता गरेकी हुन् ।
चौहानले मंगलबार गृहमन्त्री रमेश लेखकसँग समेत भेट गरेकी थिइन् । साथै, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सामाजिक सञ्जालमा महिला कलाकारप्रति हुने दुर्व्यवहारविरुद्ध चौहानले उठाएको आवाजको समर्थन गरेका छन् ।

पछिल्लो अध्यावधिक: असार १९, २०८२ १५:१८
सामाग्री श्रोत :
टेक पाना