२०८२ असार २० शुक्रबार
LATEST NEWS
२०८२ असार २० शुक्रबार

ताराको दुईपटक ‘मृत्यु’ ! वैज्ञानिकहरूले भेटे पहिलो प्रमाण

काठमाडौँ । वैज्ञानिकहरू लामो समयदेखि ताराहरू पनि मानिसझैं एकपटक मात्र मर्ने विश्वासमा थिए । तर, यो मान्यता बदल्ने नयाँ प्रमाण भेटिएको छ । युरोपियन स्पेस अब्जरभेटरी (ईएसओ) का वैज्ञानिकहरूले ताराको दोहोरो विस्फोट (डबल डेटोनेसन) भएको दृश्य प्रमाण पहिलोपटक फेला पारेका छन्, जसले ताराको दुईपटक ‘मृत्यु’ हुन सक्ने देखाएको छ ।

नयाँ अनुसन्धानले एक लाख ६० हजार प्रकाश वर्ष टाढा रहेको सुपरनोभा ‘SNR 0509-67.5’ को अवशेषमा दोहोरो विस्फोटको प्रमाण फेला पारेको हो । ३०० वर्षअघि बनेको विश्वास गरिएको उक्त अवशेषमा पूर्वताराको पहिलो र दोस्रो विस्फोटको स्पष्ट संकेत देखिएको वैज्ञानिकहरूको दाबी छ ।

“यो दोहोरो विस्फोटको ठोस प्रमाणले लामो समयदेखिको वैज्ञानिक रहस्य समाधान गर्न सहयोग गर्नुका साथै दृश्यरूपमा अद्भुत छ,” अनुसन्धान टोलीका प्रमुख तथा न्यू साउथ वेल्स विश्वविद्यालयका अनुसन्धानकर्ता प्रियम दासले भनेका छन् ।

वैज्ञानिकहरूले युरोपस्थित ‘भेरी लार्ज टेलिस्कोप’ (भीएलटी) र ‘मल्टिउनिट स्पेक्ट्रोस्कोपिक एक्सप्लोरर (एमयूएसई)’ को सहयोगमा यो अध्ययन गरेका थिए ।

यो खोजले ताराले सुपरनोभा बन्न चन्द्रशेखर सीमा (सूर्यको तुलनामा करिब १.४ गुणा बढी भार) नपुग्दै पनि विस्फोट गर्न सक्ने संकेत दिएको छ ।

यसअघि वैज्ञानिकहरूको साझा निष्कर्ष थियो कि ‘टाइप ल सुपरनोभा’ (Type Ia supernovas) दुई तारा प्रणालीमा हुने गर्छ, जहाँ एक मरेको तारा जीवित ताराबाट पदार्थ सोस्दै चन्द्रशेखर सीमा पार गरेपछि विस्फोट हुन्छ ।

तर, नयाँ प्रमाणले देखाएको छ कि केही अवस्थामा श्वेत वामन ताराले चन्द्रशेखर सीमा नपुगी नै दुईपटक विस्फोट गर्न सक्छ ।

यसक्रममा, पहिलो विस्फोट तारा बाहिरी सतहमा सञ्चित हिलियमको अस्थिरता कारण हुन्छ । यसले उत्पन्न गरेको कम्पन दोस्रो विस्फोटतर्फ डोर्‍याउँछ, जसले सुपरनोभा बनाउँछ ।

शोधकर्ताहरूका अनुसार यस्तो दोहोरो विस्फोटको ‘फिङ्गरप्रिन्ट’ वा अवशेष लामो समयसम्म बाँकी रहन्छ, जुन ‘SNR 0509-67.5’ मा पाइएको हो । SNR 0509-67.5 एक श्वेत वामन तारा भएको पुष्टि गरिएको छ । श्वेत वामनको ‘टाइप ल सुपरनोभा’ विस्फोटले एकै प्रकारको प्रकाश उत्सर्जन गर्ने भएकाले वैज्ञानिकहरूले यसलाई अन्तरिक्षीय दूरी मापनका लागि ‘स्ट्यान्डर्ड क्यान्डल’ भनेर चिन्ने गरेका छन् ।

तर, यो अध्ययनले ‘टाइप ल सुपरनोभा’ उत्पत्तिको प्रकृया अझै रहस्यपूर्ण रहेको र नयाँ मोडलहरू आवश्यक रहेको संकेत दिएको छ ।

यस खोजबाट टाढाको ब्रह्माण्डको अध्ययन, सुपरनोभा उत्पत्ति र ताराको जीवन चक्र सम्बन्धी बुझाइमा नयाँ दृष्टिकोण थपिएको वैज्ञानिकहरूको भनाइ छ ।

पछिल्लो अध्यावधिक: असार १९, २०८२ १०:२६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट