काठमाडौँ । स्मार्टफोन निर्माता नथिङले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ‘नथिङ फोन थ्री’ सार्वजनिक गरेको छ । सन् २०२२ मा बजारमा प्रवेश गरेको कम्पनीले लण्डनमा आयोजना गरेको कार्यक्रममार्फत यो मोडेल सार्वजनिक गरेको हो ।

नथिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कार्ल पेईका अनुसार यो फोनमा प्रिमियम मटेरियल, हाई पर्फर्मेन्स र स्तरीय सफ्टवेयर प्रयोग गरिएको छ । कम्पनीले फोन थ्रीलाई सामसङलगायत अन्य प्रमुख एन्ड्रोइड ब्रान्डसँग प्रतिस्पर्धा गर्न सक्ने गरी तयार पारेको दाबी गरेको छ ।
यस पटक नथिङले फोनको पछाडि ‘ग्लिफ इन्टरफेस’ हटाएर नयाँ ‘ग्लिफ म्याट्रिक्स’ राखेको छ । यो म्याट्रिक्स फोनको पछिल्लो भागमा रहेको सानो माइक्रो-एलईडी स्क्रिन हो । कम्पनीका अनुसार यसले स्क्रिन टाइम घटाउन मद्दत गर्नेछ । प्रयोगकर्ताले फोनको मुख्य डिस्प्ले नखोली नै एप नोटिफिकेसन, सम्पर्कको जानकारी र रियल-टाइम प्रगति हेर्न सक्नेछन् ।
ग्लिफ म्याट्रिक्ससँगै ‘ग्लिफ टोइज’ नामक सफ्टवेयर फिचर पनि ल्याइएको छ । यसले डिजिटल घडी, स्टपवाच, ब्याट्री सूचकका रूपमा काम गर्छ ।

पछाडिको बटनको सहायताले सानो गेम पनि खेल्न सकिन्छ । नथिङले पब्लिक एसडीके उपलब्ध गराउँदै प्रयोगकर्ताले आफैंले नयाँ विजेट र गेम बनाउन सक्ने सुविधा दिएको छ । कम्पनीले छिट्टै कल गर्दा नम्बर वा नाम देखिने ‘कलर आईडी’ फिचर पनि ल्याउने जनाएको छ ।
फोनको मुख्य डिस्प्ले ६.६७ इन्चको एमोलेड हो, जसमा १.५के रेजोलुसन र ४,५०० निट्ससम्मको पिक ब्राइटनेस छ । यो नथिङको अहिलेसम्मकै सबैभन्दा उज्यालो र शार्प (तेज) स्क्रिन भएको कम्पनीले जनाएको छ । डिस्प्लेमा १२० हर्जको एडाप्टिभ रिफ्रेस रेट पनि उपलब्ध छ ।
फोटोग्राफीका लागि फोन थ्रीमा ट्रिपल रियर क्यामेरा र एक फ्रन्ट क्यामेरा छ । सबै क्यामेरा ५० मेगापिक्सेल सेन्सरसहित छन् । मुख्य र पेरिस्कोप क्यामेरामा अप्टिकल इमेज स्टेबलाइजेसन (ओआईएस) छ । भिडिओका लागि सबै लेन्सबाट फोरके र ६० एफपिएसमा रेकर्डिङ गर्न सकिन्छ ।
फोनमा स्न्यापड्रागन ८एस जेन ४ चिपसेट प्रयोग गरिएको छ, जसको प्रोसेसर ३.२१ गीगाहर्जको क्लक स्पिडमा चल्छ । यो प्रोसेसर अघिल्लो फोन टुको स्न्यापड्रागन ८+ जेन १ भन्दा ३६ प्रतिशत छिटो भएको बताइन्छ । जीपीयू प्रदर्शनमा पनि ८८ प्रतिशत सुधार भएको दाबी गरिएको छ ।
फोन १२ जीबी र्याम र २५६ जीबी स्टोरेज तथा १६ जीबी र्याम र ५१२ जीबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ । फोनमा ५,१५० एमएएच ब्याट्री छ, जसले ६५ वाट वायर्ड र १५ वाट वायरलेस चार्जिङ सपोर्ट गर्छ । कम्पनीले ब्याट्री एक पटक फुल चार्ज गर्दा ८० घण्टासम्म टिक्ने दाबी गरेको छ ।
फोनमा ‘एसेन्सियल की’ (Essential Key) नामक बटन राखिएको छ । यसबाट कम्पनीको ‘एसेन्सियल स्पेस’ एप खोल्न सकिन्छ । यसमा नयाँ ‘फ्लिप टु रेकर्ड’ फिचर पनि छ । यो फिचर प्रयोग गर्दा फोन उल्ट्याएर एसेन्सियल की थिचेपछि रेकर्ड सुरु हुन्छ र पछि त्यसको समरी (सारांश) ट्रान्सक्राइब भएर उपलब्ध हुन्छ ।
फोन थ्रीमा एन्ड्रोइड १५ अपरेटिङ सिस्टम प्रयोग गरिएको छ । कम्पनीले पाँच वर्षसम्म प्लेटफर्म अपडेट र सात वर्षसम्म सेक्युरिटी अपडेट दिने जनाएको छ ।
फोन ३ को प्रि-अर्डर ४ जुलाईदेखि सुरु हुनेछ भने विश्व बजारमा १५ जुलाईदेखि उपलब्ध हुनेछ । १२ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य ७९९ डलर (करिब एक लाख १० हजार रुपैयाँ) र १६ जीबी र्यामसहितको ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य ८९९ डलर (करिब एक लाख २३ हजार रुपैयाँ) तोकिएको छ । यो मूल्य सामसङ ग्यालेक्सी एस२५ को मूल्य बराबर हो ।
पछिल्लो अध्यावधिक: असार १८, २०८२ ६:२०
सामाग्री श्रोत :
टेक पाना