काठमाडौं– त्रिभुवन विश्वविद्यालयमा ३४ दिनदेखि जारी तालाबन्दी खुलाउन सर्वोच्च अदालतले बुधबार अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्चले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रहरी वृत्त कीर्तिपुरको नाममा तालाबन्दी नगर्नु/नगराउनु, ताला लगाएको भए खोल्नु/खोलाउनु भनेर अन्तरिम आदेश जारी गरेको हो । न्यायाधीश नृपध्वज निरौलाको इजलासले आदेश दिएको हो ।
अधिवक्ता महेश भट्टराईलगायतले त्रिविको उपकुलपति, रेक्टर, रजिष्ट्रार, सेवा आयोगलगायत कार्यालयमा भएको तालाबन्दी खुलाउन माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
मंगलबार दर्ता भएको रिटमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, प्रहरी वृत्त कीर्तिपुर, उपकुलपति, रजिष्ट्रार कार्यालयलाई विपक्षी बनाइएको थियो ।

त्रिवि आंशिक प्राध्यापक केन्द्रीय समितिका अध्यक्ष गोकुल लेछवा लिम्बु, सहअध्यक्ष राजेन्द्र आचार्य, महासचिव बैकुण्ठ थापा र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी त्रिविका कार्यवाहक अध्यक्ष शिवराज भट्टसमेत विपक्षी थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ