२०८२ असार १८ बुधबार
LATEST NEWS
२०८२ असार १८ बुधबार

यस्ता काममा प्रयोग गर्नु हुँदैन च्याटजीपीटी

काठमाडौँ । च्याजटजीपीटी जस्ता एआई च्याटबटहरू प्रयोग बढ्दै जाँदा यस क्रममा हुन सक्ने जोखिम र अपनाउनु पर्ने सावधानीको समेत चर्चा हुन थालेको छ । च्याटजीपीटी धेरै कुरामा उपयोगी भए पनि केही विशेष अवस्थाहरूमा यसको प्रयोग ‘एकदमै जोखिमपूर्ण’ हुन सक्छ ।

यो च्याटबटले कहिलेकाहीँ गलत जानकारीलाई तथ्यको रूपमा प्रस्तुत गर्न सक्छ, जानकारी अद्यावधिक नहुन सक्छ र गलत कुरालाई पनि यसले अत्यन्तै विश्वस्त लाग्ने गरी प्रस्तुत गर्न सक्छ । कर, मेडिकल बिल, अदालतका मिति वा बैँक ब्यालेन्स जस्ता विषयहरूमा एआई प्रयोग गर्दा यसका कमजोरीहरू तपाईँलाई थप महँगो पर्न सक्छन् ।

यस्तोमा च्याटजीपीटी प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी बारे सीनेटले तयार पारेका केही सुझावहरू यहाँ उल्लेख गरिएका छन् ।

१. स्वास्थ्य समस्याहरूको निदान

च्याटजीपीटीलाई आफ्नो लक्षण बताउनु अत्यन्त खतरनाक हुन सक्छ । यसले क्यान्सर जस्ता गम्भीर रोगको सम्भावना देखाउन सक्छ, जबकि वास्तविक अवस्था सामान्य हुन सक्छ । एआईले भौतिक परीक्षण गर्न वा प्रयोगशाला परीक्षणको आदेश दिन सक्दैन । न त यसले दिएको कुनै त्रुटिपूर्ण जवाफका कारण हानी ब्यहोर्नुपरे त्यसको क्षतिपूर्ति नै मिल्छ । बरु, यसलाई डाक्टरका लागि प्रश्नहरू तयार गर्न वा चिकित्सा शब्दावली बुझ्ने कार्यमा प्रयोग गर्न सकिन्छ ।

२. मानसिक स्वास्थ्य व्यवस्थापन

च्याटजीपीटीले अत्यधिक भावनात्मक अवस्था वा आघातपूर्ण सम्झनालाई व्यवस्थापन गर्न सल्लाह दिन सक्छ । तर यसमा वास्तविक मानवीय सहानुभूति, व्यक्तिगत अनुभव वा शारीरिक हाउभाउ बुझ्ने क्षमताको अभाव हुन्छ । यसको सल्लाहको पछि लाग्दा गम्भीर लक्ष्यणलाई बेवास्ता गर्न सक्छ वा प्रशिक्षणका दौरान प्रयोग गरिएका डेटामा निहित पूर्वाग्रह राख्न सक्छ । त्यसैले गहन र व्यक्तिगत कामका लागि तालिमप्राप्त मानव चिकित्सककै सहारा लिनु पर्ने हुन्छ ।

३. तत्काल अपनाउनुपर्ने सुरक्षा सावधानी

कार्बन-मोनोक्साइड अलार्म बजेको वा ग्यास लिक भएको जस्ता आपत्कालीन अवस्थामा च्याटजीपीटीलाई सोध्नुको सट्टा तुरुन्तै बाहिर निस्केर आपत्कालीन सेवाहरूमा फोन गर्नु बुद्धिमानी हुन्छ । एआईले ग्यास सुँघ्न वा धुवाँ पत्ता लगाउन सक्दैन, न त यसले आपत्कालीन टोली पठाउन सक्छ ।

४. व्यक्तिगत आर्थिक वा कर योजना

च्याटजीपीटीले आधारभूत वित्तीय अवधारणाहरू बुझाउन मद्दत गर्न सक्छ, तर यसलाई व्यक्तिगत ऋण, आय, करको दर, वा दीर्घकालीन लक्ष्यहरू बारे थाहा हुँदैन । यसको प्रशिक्षणमा प्रयोग गरिएका डेटा वर्तमान समयका लागि अद्यावधिक नहुन सक्छ, जसले गर्दा यसको मार्गदर्शन बासी हुन सक्छ । एआई च्याटबटमा शेयर गरिएको कुनै पनि जानकारी (आय, सामाजिक सुरक्षा नम्बर, बैँक विवरण) यसको प्रशिक्षण डेटाको हिस्सा बन्न सक्छ, जसले गोपनीयताको जोखिम पनि बढाउँछ ।

५. गोप्य वा नियन्त्रित डेटाको प्रयोग

नन्-डिस्क्लोचर एग्रिमेन्ट (एनडीए) अर्थात् गोप्य सम्झौताहरू, ग्राहक सम्झौता, वा गोपनीयता सम्बन्धी कानुनले संरक्षण गरेका कुनै पनि जानकारी च्याटजीपीटीमा हाल्नु हुँदैन । एक पटक संवेदनशील जानकारी च्याटबटको प्रम्प्ट विन्डोमा गएपछि, त्यसलाई कहाँ भण्डारण गरिन्छ, कसले रिभ्यु गर्न सक्छ वा भविष्यका मोडेलहरूलाई तालिम दिन प्रयोग गर्छ कि गर्दैन भन्ने ग्यारेन्टी हुँदैन ।

६. कुनै पनि अवैध कार्य

च्याटजीपीटीलाई कुनै पनि अवैध गतिविधिहरूका लागि प्रयोग गर्नु हुँदैन ।

७. विद्यालयको गृहकार्यमा चिटिङ गर्न

च्याटजीपीटीलाई होमवर्क अर्थात् गृहकार्यमा ‘घोस्टराइटर’ को रूपमा प्रयोग गर्दा ‘टर्नइटइन’ (Turnitin) जस्ता एआई पत्ता लगाउने टुलहरूले यसलाई सजिलै पत्ता लगाउन सक्छन् । यसले निलम्बन, निष्कासन वा लाइसेन्स रद्द हुने जस्ता जोखिम निम्त्याउन सक्छ । बरु, यसलाई अध्ययन सहायकको रूपमा प्रयोग गर्दा राम्रो हुन्छ ।

८. अद्यावधिक जानकारी र ब्रेकिङ न्युज

च्याटजीपीटी सर्चले वेबपेज, शेयरको मूल्य, ग्यासको मूल्य, खेलकुदको स्कोर जस्ता वास्तविक-समयको जानकारी प्राप्त गर्न सक्ने भए पनि यसले निरन्तरका अपडेट दिँदैन । प्रत्येक अपडेटका लागि नयाँ प्रम्प्ट आवश्यक पर्छ । त्यसैले द्रुत जानकारीको लागि लाइभ डेटा फिड, आधिकारिक प्रेस विज्ञप्ति, अनलाइन न्युज पोर्टल र लाइभ स्ट्रिमिङ कभरेज अझ उत्तम विकल्प अपनाउनु होस् ।

९. जुवा खेल्न

च्याटजीपीटीले खेलाडीको विवरण, घाइते भएको विषयमा दिइएका चलत रिपोर्ट र जित-हारको रेकर्डको बारेमा गलत जानकारी प्रदान गरेको पाइएको छ । यसले भोलिको खेलको परिणाम थाहा पाउन सक्ने कुरै हुँदैन । त्यसैले यसमा मात्र भर परेर जुवा खेल्नु हुँदैन ।

१०. इच्छापत्र वा अन्य कानुनी रूपमा बाध्यकारी सम्झौताहरू तयार पार्न

च्याटजीपीटीले आधारभूत कानुनी अवधारणाहरू बुझाउन मद्दत गर्न सक्छ, तर वास्तविक कानुनी कागजातहरू तयार पार्न यसको प्रयोग गर्दा जोखिमपूर्ण हुन सक्छ । राज्य वा देशअनुसार फरक पर्ने नियमहरूका कारण यसले आवश्यक साक्षीको हस्ताक्षर वा नोटरी सम्बन्धी क्लज छुटाउन सक्छ । जसले गर्दा पूरै कागजात खारेज हुन सक्छ । कानुनी कामको लागि सधैँ वकीलसँग परामर्श गर्नु नै उत्तम हुन्छ ।

११. कला सिर्जना गर्न

च्याटबटलाई ब्रेनस्ट्रमिङ वा हेडलाइनमा सहयोगका लागि प्रयोग गर्न सकिन्छ । यसलाई कुनै चिजको प्रतिस्थापन भन्दा पनि पूरकको रूपमा उपयोग गर्न सकिन्छ ।

कला वा सिर्जनाका लागि च्याटजीपीटी प्रयोग गर्ने वा नगर्ने व्यक्तिगत विचार हुन सक्छ । तर त्यसलाई प्रयोग गरेर सिर्जना गरिएको कलालाई आफ्नै कृति भनेर प्रस्तुत गर्नु नैतिक कार्य होइन । 

पछिल्लो अध्यावधिक: असार १८, २०८२ १५:४६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट