२०८२ असार १९ बिहीबार
LATEST NEWS
२०८२ असार १९ बिहीबार

नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ

स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै जनतालाई सर्वसुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने अग्रणी संस्थाका रुपमा परिचित नेपाल मेडिकल कलेज पछिल्लो चार वर्षदेखि नयाँ नेतृत्व र व्यवस्थापनमा छ। वीरगञ्जमा सफलतापूर्वक २५ वर्षदेखि नेशनल मेडिकल कलेज सञ्चालन गर्दै आएका प्रा.डा.जैनुद्धिन अन्सारीको नेतृत्वले कलेज लिएपछि चिकित्सा शिक्षासँगै स्वास्थ्य सेवामा निक्कै सुधार भएको कलेजकी प्रबन्ध निर्देशक डाक्टर सबिहा यासमिन बताउँछिन्। अहिले कलेजको समग्र व्यवस्थापनको जिम्मेवारी प्रबन्ध निर्देशक डा. सबिहाको काँधमा छ । 

हात्तिवनस्थित लिटिल एञ्जल्स स्कुलबाट प्लस टू तथा विरगञ्जको नेशनल मेडिकल कलेजबाट एमबीबीएस गरेकी सबिहाले एमडी दोस्रो वर्षको अध्ययन गर्दागर्दै नेशनल मेडिकल कलेजको एचआर प्रमुख र एकेडेमिक डाइरेक्टर भएर पाँच वर्ष काम गरिन् । पछिल्लो चार वर्षयता नेपाल मेडिकल कलेजको डाइरेक्टर हुँदै डेढ वर्षदेखि म्यानेजिङ डाइरेक्टरको रुपमा कार्यरत डा. सबिहा कुनैपनि विषयमा निर्णय गर्दा गहन अध्ययन गरेर मात्र निर्णय लिने बताउँछिन् । त्यसो त डा. सबिहाको कार्यकुशलतालाई मलजल गर्ने काम उनको पारिवारिक वातावरणले पनि सहयोग गरेको छ। मुस्लिम परिवारमा भएपनि उनका बुबा छोराछोरी दुवैलाई गुणस्तरीय शिक्षा दिनुपर्छ भन्ने पक्षका छन्। परिवार त्यसमाथि बुबाको सकारात्मक सोच र दृष्टिकोणका कारण आफ” अगाडी बढ्न सकेको बताउँछिन् डा. सबिहा । उनको परिवारलाई नै वीरगञ्जमा प्रेरणाको स्रोत मानेर छोरीहरुलाई विद्यालय पठाउनेको ठूलो जमात छ । उनीसँग नेपालको स्वास्थ्य क्षेत्र, चिकित्सा शिक्षाको बर्तमान अवस्था, चुनौति, संभावना र अवसरका विषयमा गरिएको कुराकानीः 

तपाईंले सानै उमेरमा प्रबन्ध निर्देशक जस्तो चुनौतीपूर्ण जिम्मेवारी निर्वाह गरिरहनुभएको छ। कत्तिको सहज/असहज अनुभव गरिरहनुभएको छ ? 

कुनैपनि संस्था सञ्चालन गर्न एउटा परिपक्व टीमको आवश्यक्ता पर्दछ । नेपाल मेडिकल कलेज भित्र फ्याकल्टी, नर्स, कर्मचारी तथा विद्यार्थी गरी झण्डै दुई हजार जनाको ठूलो परिवार छ । म प्रबन्ध निर्देशकको पदमा रहिरँदा मसँग रहनुहुने फ्याकल्टी, नर्स, कर्मचारीहरु सिस्टममा रहेर आफ्नो दायित्व निर्वाह गर्नुहुन्छ । कलेज सञ्चालक, प्रिन्सिपल, अस्पताल निर्देशक, विभागीय प्रमुखहरु, डाक्टर, नर्स तथा कर्मचारीहरुले मप्रति गर्नु भएको विश्वास र भरोसाले मलाई काम गर्न सहज भइरहेको छ ।

आफूभन्दा सिनियरहरुसँग काम गर्दै जाँदा उमेर र अनुभवका हिसाबले समस्या परेको छ कि छैन? 

अहिलेसम्म त्यस्तो महशुस भएको छैन । म कुनैपनि विषयमा काम गर्दा टीमवर्क प्रति विश्वास गर्छु । प्रत्येक विषय र समस्याहरुमा गहन अध्ययन र विश्लेषण गर्दछु । कलेजमा धेरै सिनियर व्यक्तित्वहरु भएपनि उहाँहरुले मलाई साथ, सहयोग र हौसला दिइरहनु भएको छ । तथापि, कहिलेबाहिँ काम गर्दै जाँदा चुनौी र समस्या नआउने भन्ने हुँदैन । त्यस्तो बेला म हतार नगरीकन सबैको राय, सुझाव लिएर निर्णय गर्दछु । काम गराईका हिसाबले आजको समयमा पुरुष भन्दा महिला बढी जिम्मेवार भएर प्रस्तुत भएको पाइन्छ। 

एक दशकदेखि नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवा बारेमा जानकार हुनुहुन्छ, नेपालको अवस्था कस्तो छ ? 

हाम्रो चिकित्सा शिक्षा गुणस्तरीय भएपनि सिमित विद्यार्थीहरुको पहुँचमा भयो । निजी क्षेत्रले चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा पुर्याएको योगदान सरकारी भन्दा प्रभावकारी छ। हाम्रा विद्यार्थीहरु सकेसम्म चिकित्सा शिक्षा नेपालमै पढ्न पाए हुन्थ्यो भन्नुहुन्छ तर, सीमित सिट संख्या भएकाले हरेक वर्ष लाखौं खर्च गरेर विद्यार्थीहरु चाइना, बंगलादेश, रसिया लगायतका देशहरुमा अध्ययनका लागि जान बाध्य हुनुहुन्छ । हामीसँग निजी, सरकारी गरी २५ वटा मेडिकल कलेजमा एमबीबीएसमा वार्षिक २१ सय बढी विद्यार्थी भर्ना भइरहँदा ५६० भन्दा बढी विदेशी विद्यार्थीहरु नेपालमा अध्ययन गर्न आइरहेका छन् । बीडीएसमा करिब ६ सयको हाराहारीमा सीट हुन्छ । विएस्सी नर्सिङमा लगभग १३ सय र एमडी÷एमएसमा करिब ३ देखि ४ सयको हाराहारीमा सिट छ । यस हिसाबले नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्रविन्दू बनाउन सकिन्छ । दक्ष प्राविधिक स्वास्थ्य जनशक्ति उत्पादन गर्ने सवालमा निजी क्षेत्रले ठूलो योगदान पुरयाई रहेको भएपनि सरकारी तवरबाट आशातित सहयोग र प्रोत्साहन छैन। 

स्वास्थ्य सेवाको कुरा गर्दा अझैपनि जनताका घरदैलोसम्म स्वास्थ्य सेवा पुर्याउन नसक्दा दूरदराजका जनताहरु गुणस्तरीय उपचार नपाएर बसेको अवस्था छ। हामी निजी मेडिकल कलेजहरुले देश र जनतालाई गर्नुपर्ने सहयोग र सहकार्य गरिरहेकै छौं। यदी निजी मेडिकल कलेजहरुले जनतालाई सर्वसुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा नदिने होभने हाम्रो स्वास्थ्य प्रणाली विकराल अवस्थामा पुगिसक्थ्यो । सरकारले सञ्चालन गरेका स्वास्थ्य बीमा कार्यक्रमसँगै गरिब, विपन्न नागरिकको उपचारमा निजी मेडिकल कलेजहरुले योगदान गरेका छन् । समग्रमा भन्नुपर्दा नेपालको मेडिकल शिक्षालाई अन्तराष्ट्रिय विद्यार्थीसँग जोड्दै स्वास्थ्य सेवालाई अझ सर्वसुलभ र गुणस्तरीय बनाउन सकिन्छ । तर, राज्यले पनि हामीलाई आवश्यक वातावरण बनाइदिनु पर्यो। 

निजी मेडिकल कलेज सञ्चालन गरिरहँदाका चुनौतिहरु के के छन् ? 

चुनौति त हरेक क्षेत्रमा हुन्छन् नै । तथापि, मेडिकल कलेज सञ्चालन गरिरहँदा स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवामा केही चुनौतिहरु छन् । एउटा नीतिगत चुनौति छ, अर्को लगानीको चुनौति, सँगसँगै स्वास्थ्य सेवासँग जोडिएर आउने सुरक्षा चुनौति पनि छ । नितीगत चुनौतिको कुरा गर्दा मेडिकल कलेज सञ्चालन गर्न हाम्रो ऐन, कानुन र निर्देशिका व्यवसायी मैत्री भएन, मेडिकल कलेज खोल्ने प्रारम्भिक चरण देखि नै सरकारी असहजताहरु व्यहोरिरहनु परेको छ । त्यसमाथि, हाम्रो नियम कानुनहरु प्रष्ट र व्यवसायीमैत्री भएनन्। 

लगानीतर्फ मेडिकल कलेज खोल्दा ठूलो लगानी गर्नुपर्दछ । सुरुमा लगानी जुटाउनै चुनौति, यदी लगानी जुटाएर खोलिहाले पनि त्यसको रिटर्न र सुरक्षणको ग्यारेण्टी छैन । कर्मचारीहरुको तलब बढिरहँदा विद्यार्थीबाट लिन पाउने शैक्षिक शुल्क समायानुकूल समायोजन नहुँदा हामी मारमा परेका छौं। 

अर्को स्वास्थ्य सेवा र पेशागत सुरक्षाको ठूलो चुनौति छ । मेडिकल कलेज सञ्चालक, डाक्टर, नर्सहरुमाथि दुव्र्यहार र कुटपिट हुने, भौतिक संरचना तोडफोड गर्ने घटनाहरु भइरहन्छन् । पछिल्लो समय दक्ष जनशक्ति विदेश पलायन भइरहँदा हामीलाई दक्ष जनशक्ति व्यवस्थापनको चुनौति पनि थपिँदै गएको छ। 


 

नेपाललाई कसरी अन्तराष्ट्रिय चिकित्सा शिक्षाको हव बनाउन सकिएला ?
नेपालमा अन्य विषय पढ्न खासै विदेशी विद्यार्थी आउँदैनन्, तर, चिकित्सा शिक्षामा विदेशी विद्यार्थीको राम्रो आकर्षण भएकोले हामीले त्यसलाई क्यास गर्न सक्नुपर्छ । त्यसका लागि अहिले एमबीबीएसमा दिइएको एक सय सिट संख्यालाई १५० बनाउँ । यसले नेपाली विद्यार्थीलाई दिइने छात्रबृत्तिको पनि सिट बढ्छ । पछिल्लो समय जतिपनि प्रतिष्ठानहरु खुलिरहेका छन् त्यहाँपनि विदेशी विद्यार्थीहरु पढ्न आउँछन्। 

त्यसैगरी, नेपालको मेडिकल शिक्षालाई अन्तर्राष्ट्रिय मान्यता र प्रमाणीकरणमा सरकार आफैं लागेर विश्वब्यापी बनाउन लाग्नुपर्छ । हामीबाट उत्पादन भएका एमबीबीएस र पीजी विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन सकियो भने नेपालकोलागि ठूलो सफलता प्राप्त हुने थियो । यसले प्रत्यक्षरुपमा हाम्रो चिकित्सा शिक्षालाई अन्तराष्ट्रियस्तरको बनाउनुका साथै मुलुकको अर्थतन्त्रलाई सुधार्न टेवा पुग्छ। 

सरकारले चिकित्सा शिक्षाको विस्तार र विकासमा काम गरेपनि निजी क्षेत्रबाट सहयोग भएन भन्छन् नि?

सरकारलाई निजी क्षेत्रले सहयोग गरेपनि हाम्रा समस्या हल गर्ने कोशिष भएन । राष्ट्रिय चिकित्सा ऐन २०७५ को दफा १८ (१) (क) मा “उपसङ्कलन, सञ्चालन लागत, मुद्रास्फिति, भू‑स्थिति, छात्रवृत्ति दर आदि आधारमा स्नातक तहका कार्यक्रमको शुल्क विश्वविद्यालय, प्रतिष्ठान तथा शिक्षण संस्थासँग परामर्श गरी आयोगले निर्धारण गर्नेछ ।” उल्लेख भएपनि शुुल्क समायोजन भएको छैन । जसरी कर्मचारीहरुको तलब, सुविधा बढ्छ त्यसरी नै शुल्क समायोजन गर्दा निजी क्षेत्रलाई मार पर्दैन। 

त्यस्तै, पछिल्लो समय राजनीतिक स्वार्थ सिद्धका लागि निजी मेडिकल कलेजहरु प्रयोग भए । सस्तो लोकप्रियताका लागि सत्य कुरा लुकाएर जनतालाई गुमराहमा राख्ने काम भयो । हाम्रा सकारात्मक विषयहरु ढाकछोप गरियो । निजी मेडिकल कलेजले दक्ष स्वास्थ्यकर्मी उत्पादनमा जसरी योगदान दिइरहेको छ, त्यसरी नै सर्वसुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेका छौं । यसले प्रत्यक्षरुपमा नेपाली जनतालाई नै फाइदा भइरहेको छ । भने, निजी मेडिकल कलेजहरुले रोजगारी सृजना गर्न पनि योगदान दिएको छ । हामीले स्थानीय सरकार देखि केन्द्र सरकारसँग सहकार्य गरिरहेका छौं । यी कुराहरुलाई सरकारले मुल्यांकन गरी नियम कानुनहरु व्यवसायी मैत्री बनाउन जरुरी छ। 

निजी मेडिकल कलेजहरुको सिट संख्या घटाउँदा प्रत्यक्षरुपमा नेपाली विद्यार्थीहरु नै मारमा परेका छन् । अहिले सरदर आठ हजारको संख्यामा विद्यार्थीले चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा पास गर्छन्, हामीसँग एमबीबीएस, विडिएस, विएस्सी नर्सिङ लगायतमा लगभग ३५ सयदेखि ४ हजार सिट होला । बाँकी सबै विद्यार्थीहरु करोडौं खर्च गरेर छिमेकी मुलुक भारत, बंगलादेश, चीन, रुस, लगायतका देश गए, यसले नेपाललाई नै वेफाइदा भयो नि!

विगतको परिवेशमा जसरी विरगञ्ज चीनी कारखाना, कार्पेट फ्याक्ट्री, भृकुटी कागज कारखानाहरु धरासायी बनाइयो त्यसरी नै चिकित्सा शिक्षालाई धरासायी बनाउने प्रयास भइरहेको छ । हाम्रो चिकित्सा शिक्षा असफल भयो भने मुलुकको विकास र समृद्धिका लागि ठूलो घाटा हुने भएकोले राज्यले सबै पक्षसँग सहकार्य गरेर जानु उपयुक्त हुन्छ।

निजी मेडिकल कलेजले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिइरहेका छैनन् भन्ने कुरालाई कसरी खण्डन गर्नुहुन्छ? 

हामीले दक्ष जनशक्ति उत्पादन गर्ने र जनतालाई सर्वसुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेका छौं । स्वास्थ्य जस्तो संवेदनशील विषयमा काम गर्ने जनशक्ति तयार गर्ने सवालमा कम्प्रोमाइज हुँदैन । हामीले गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षा दिए नदिएको हरेक वर्ष गरिने अनुगमनबाटै थाहा हुन्छ । चिकित्सा शिक्षा आयोग, विश्वविद्यालय, स्वास्थ्य मन्त्रालय लगायतको अनुगमन पछिमात्रै विद्यार्थीको सिट संख्या तोकिन्छ । त्यसो त नेपाल मेडिकल काउन्सिलले लिने परीक्षामा विदेशमा पढेर आएका विद्यार्थीको भन्दा हाम्रा विद्यार्थीको पास रेट राम्रो छ । नेपालमै पढेर विदेशमा सफलतापूर्वक काम गरिरहेका नेपालीको संख्या पनि धेरै भएकोले हामीले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको प्रमाणित हुन्छ । गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु हाम्रो पनि दायित्व हो। 


 

नेपाल मेडिकल कलेजले चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई कसरी सञ्चालन गरिरहेको छ? 

नेपाल मेडिकल कलेज विगत २६ वर्षदेखि अनवरत गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको प्रतिष्ठीत संस्था हो । हामीले सरकारले निर्धारण गरेका सबै मापदण्डहरु पुरा गरेका छौं । चिकित्सा शिक्षातर्फ एमबीबीएस, विडीएस÷एमडीएस, एमडी÷एमएस, विएस्सी, नर्सिङ, एमएस्सी नर्सिङ, विएस्सी एमआइटी, विएस्सी ल्याबमेड जस्ता कार्यक्रममा करिब एक हजार माथी विद्यार्थी अध्ययनरत छन् । जनशक्तिको कुरा गर्दा फ्याकल्टी, स्टाफ नर्स तथा कर्मचारी गरी एक हजारभन्दा बढी हुनुहुन्छ । हामीले गुणस्तरीय स्वास्थ्य शिक्षा प्रदान गरेकै कारण चिकित्सा शिक्षा आयोगले लिने प्रवेश परीक्षामा कलेज विद्यार्थीको पहिलो रोजाई बनेको छ । यसका अलावा विदेशी विद्यार्थीहरु समेतले हामीलाई पहिलो रोजाईमा राख्नु भएको चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षाको तथ्यांकले देखाउँछ। 

स्वास्थ्य सेवातर्फ कलेजले नविनतम स्वास्थ्य उपकरणसहित दक्ष तथा विशेषज्ञ डाक्टरद्वारा उपचार सेवा दिइरहेको छ । जनरल ओपिडीमा मात्रै दैनिक एक हजार देखि १२ सयको हाराहारीमा बिरामीहरु आइरहनु भएको छ । हामीसँग आइसियू, एनआइसियू, पिआईसियू, एचडियू, सिसियू, न्यूरो आइसियू जस्ता सघन उपचार सेवाहरु उपलब्ध छन् । २४ सै घण्टा विशेषज्ञ चिकित्सक सहितको इमरजेन्सी सेवा, अत्याधुनिक प्रयोगशालासहित ब्लड बैंक, जनरल शल्यक्रियादेखि दूरबिनबाट गरिने शल्यक्रिया उपलब्ध छ । ५ सय शैयाको अस्पतालमा जनरल वेड देखि क्याविन वेड उपलब्ध छ । अस्पतालमा १० प्रतिशत शैया विपन्न, असहाय नागरिकलाई छुट्याएका छौं । मिर्गौला रोगीहरुको उपचारका लागि हामीसँग ४४ वेडको अत्याधुनिक डायलाइसिस सेवा छ, जहाँ दैनिक एक सयको हाराहारीमा डायलाइसिस सेवा दिइरहेका छौं । जनरल ओपिडीमा स्वास्थ्य सेवा लिन नसक्नेहरुको लागि इएचएस अर्थात् पेयिङ सेवा समेत उपलब्ध छ।

डेण्टलतर्फ हामीले १२५ वेडको छुट्टै डेण्डल भवन निर्माण गरी सेवा दिइरहेका छौं । गत वर्षको फागुन १३ गते मात्रै कलेजको रजत जयन्तिका अवसरमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूबाट भवनको उद्घाटन गर्यौं जहाँ, पछिल्लो समयका अत्याधुनिक प्रविधि र उपकरणबाट दाँत तथा मुखको स्वास्थ्य सम्बन्धी सबै प्रकारका उपचार सेवा पाइन्छ । हामीसँग CBCT (Cone–Beam Computed Tomography) एक विशेष प्रकारको घम् एक्स–रे प्रविधि समेत रहेको छ । जुन दाँत र गिजा सम्बन्धी उपचारका लागि प्रयोग गरिन्छ । यो मेसिनले टाउको वरिपरि घुमेर धेरै कोणबाट एक्स–रे तस्बिर खिच्छ र त्यसलाई कम्प्युटरले घम् मा रूपान्तरण गर्छ।

निजी मेडिकल कलेजहरुले सामाजिक उत्तरदायित्व निर्वाह गरेनन् पैसामुखी भए भनिन्छ नि? 
नेपाल मेडिकल कलेजले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न स्वास्थ्य सेवाहरु दिइरहेको छ । गरिब, विपन्न, असहाय नागरिकलाई उपचार सेवामा छुट दिएका छौं । समय–समयमा निःशुल्क स्वास्थ्य शिविर, दन्त शिविरहरु चलाईरहेका छौं । स्थानीय तह गोकर्णेश्वर नगरपालिकासँग सहकार्य गरेर नगरबासीहरुलाई उपचार सेवामा सहुलियत दिएका छौं । स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोषको स्वास्थ्य बीमा कार्यक्रम सञ्चालित छ । हामी सर्वसुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रतिबद्ध छौं। 

कलेजको स्वास्थ्य सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउन के के भइरहेको छ ? 

स्वास्थ्य सेवा मेडिकल कलेजको मेरुदण्ड हो । स्वास्थ्य सेवालाई अझ बढी चुस्तदुरुस्त, प्रभावकारी बनाउन कलेज व्यवस्थापन सक्रिय छ । प्रत्येक विभागमा विशेषज्ञ चिकित्सकहरु उपलब्ध हुनुहुन्छ । चिकित्सकीय सेवा र ल्याब परीक्षणका सेवाहरुलाई डिजिटाइजेसन गरिरहेका छौं । स्वास्थ्य सेवालाई अझ गुणस्तर बनाउन १२८ स्लाइसको नयाँ सिटी स्क्यान तत्कालै जडान गर्दैछौं । दक्षिण एसियामै पहिलो पटक फिलिप्सको एआई कम्प्रेस सेन्सयुक्त, हेलियम फ्रि, ७० सिमी वाइड बोर्ड भएको एमआरआई जडान गर्न गइरहेका छौं । यसका अलावा नेपाल मेडिकल कलेजलाई विशिष्टीकृत स्वास्थ्य सेवाको केन्द्रविन्दू बनाउनका लागि मुटु रोगको उपचार थालनी गर्न क्याथ ल्याब स्थापनाको काम अगाडी बढिसकेको छ । क्यान्सर रोगको उपचारमा अहिले पनि विशेषज्ञ सहित किमोथेरापी सञ्चालनमा छ । निकट भविष्यमा अंकोलोजी सेन्टर बनाउने गृहकार्य भइरहेको छ । समग्रमा भन्नुपर्दा चिकित्सा सेवामा नविनतम प्रविधि भित्र्याउँदै जनतालाई सर्वसुलभ शुल्कमा अन्तराष्ट्रिय स्तरको स्वास्थ्य सेवा प्रदान गर्न हामी लागि परेका छौं। 

अन्त्यमा, आम नागरिक तथा सरोकारवालालाई के भन्न चाहनुहुन्छ? 

नेपाल मेडिकल कलेजलाई गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको आशा र भरोसाको केन्द्रविन्दू बनाउनु हाम्रो मूल उद्देश्य हो । मेडिकल कलेज सञ्चालन गर्नु निक्कै नै चुनौतिपूर्ण हो । तथापि, स्वास्थ्य सेवा र चिकित्सा शिक्षालाई व्यवसाय भन्दापनि सामाजिक सेवाको दृष्टिकोणले अगाडी बढाएका छौं। 

अर्को कुरा, पछिल्लो समय हामी युवाहरु बढी नै विदेशमुखी भइरहँदा युवाहरुलाई स्वदेशमै टिक्ने वातावरण तयार गर्नु अपरिहार्य भइसकेको छ । यसकालागि कतिपय अवस्थामा हाम्रा ऐन, कानुन र नितीहरु व्यवहारमैत्री छैनन् । चिकित्सा शिक्षा र स्वास्थ्य सेवाबाट नेपाललाई विश्वमाझ परिचित गराउँदै आर्थिक समृद्धि हासिल गर्न सकिन्छ । नेपाललाई विदेशी विद्यार्थीको आकर्षणको केन्द्र बनाउन सकिन्छ तर, त्यसका लागि हाम्रो नीति, नियमहरुमा व्यापक सुधार गर्नु जरुरी भइसक्यो । निजी क्षेत्र सरकारसँग मुलुकको स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवा सुधार्न हातेमालो गर्न तत्पर छ । विश्व एआई, मसिन लर्निङको युगमा प्रवेश गरिरहँदा हामी पुरानै सिस्टममा अल्झनु हुँदैन । नेपाल मेडिकल कलेजलाई समयानुकुल सुधार गर्न लागि परेकाले तपाई सरोकारवालाहरुको सकारात्मक सल्लाह सुझावको अपेक्षा गर्दछु। 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट