काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासले अमेरिकी भिसाका लागि आवेदन दिने आवेदकहरूलाई आफ्नो सामाजिक सञ्जालको विवरण अनिवार्य रूपमा उपलब्ध गराउन आग्रह गरेको छ । एक सूचना जारी गर्दै दूतावासले भिसा आवेदनमा आफ्नो सामाजिक सञ्जालसम्बन्धी सही जानकारी नदिने वा लुकाउने व्यक्तिको भिसा अस्वीकृत हुन सक्ने र भविष्यका लागि समेत अयोग्य ठहरिन सक्ने चेतावनी दिएको छ ।

दूतावासले राष्ट्रिय सुरक्षा सुनिश्चित गर्नका लागि यो नियम लागु गरिएको स्पष्ट पारेको छ । “तपाईंको आवेदनमा सामाजिक सञ्जालसम्बन्धी जानकारी नदिएमा तपाईंको भिसा अस्वीकृत हुन सक्छ र भविष्यमा पनि अमेरिकाको भिसाका लागि तपाईं अयोग्य ठहरिन सक्नुहुनेछ,” सूचनामा भनिएको छ ।
अमेरिकी विदेश मन्त्रालयको कन्सुलर इलेक्ट्रोनिक एप्लिकेसन सेन्टरको आवेदन फाराममा आवेदकले विगत पाँच वर्षमा प्रयोग गरेका सामाजिक सञ्जाल प्लेटफर्महरू र त्यसमा प्रयोग भएको प्रयोगकर्ता नाम (युजरनेम), ह्यान्डल वा आईडी उल्लेख गर्नुपर्ने हुन्छ ।
यद्यपि, दूतावासले आवेदकहरूलाई आफ्नो सामाजिक सञ्जालको पासवर्ड भने कसैलाई पनि उपलब्ध नगराउन स्पष्ट पारेको छ । यदि कुनै आवेदकले विगत पाँच वर्षमा कुनै पनि सामाजिक सञ्जाल प्रयोग नगरेको भए फाराममा ‘कुनै पनि छैन’ (None) विकल्प छनोट गर्न सक्नेछन् ।

अमेरिकी सरकारले विश्वभरका भिसा आवेदकहरूको पृष्ठभूमि जाँचलाई थप सुदृढ बनाउन यो नीति ल्याएको हो । सामाजिक सञ्जालको गतिविधिमार्फत विशेषगरी अमेरिकामा हुनसक्ने सम्भावित सुरक्षा खतराहरू पहिचान गर्न यो नियम सहयोगी हुने अमेरिकी अधिकारीहरूको विश्वास छ ।
पछिल्लो अध्यावधिक: असार १८, २०८२ १२:२५
सामाग्री श्रोत :
टेक पाना