काठमाडौँ । सामाजिक सञ्जालमा चरित्रहत्या र अपाच्य कमेन्ट तथा मेसेजबाट पीडित गायिका एलिना चौहान गृहमन्त्री रमेश लेखकलाई भेट्न पुगेकी छिन् । सोमबार साइबर ब्युरोमा उजुरी दिएकी उनी पीडकहरूलाई आवश्यक कारबाही र न्यायका लागि गृहमन्त्री भेट्न पुगेकी हुन् ।

गृहमन्त्रीसँगको भेटपछि उनले आवश्यक सहयोग प्रदान गरेको भन्दै धन्यवाद समेत व्यक्त गरेकी छिन् । “तपाईँहरूको साथ र सम्भावनाले मलाई अझ अघि बढ्ने हिम्मत दिएको छ,” उनले भनेकी छिन् । व्यक्तिगत जीवनमा आँच पुर्याउने तहमा उत्रिएर गालीगलौज र चरित्रहत्या जस्ता कार्यहरू सह्य नहुने गायिका चौहानले स्पष्ट पारेकी छिन् ।
“आत्मसम्मानको रक्षा गर्न बाध्य भई मैले कानुनी प्रक्रिया अघि बढाएकी छु,” उनले भनिन्, “यो कुरा रिस वा घृणाले होइन, आफ्नो अस्तित्वको सुरक्षा गर्ने अधिकारले उठाइएको कदम हो ।”
गायिका चौहानले आफ्नो चरित्रहत्या गर्ने चार जना व्यक्तिविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा औपचारिक उजुरी दर्ता गराइसकेकी छिन् । ब्युरोमा उजुरी दिएपछि टेकपानासँग कुरा गर्दै गायिका चौहानले आफूले यसअघि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकै व्यक्तिमध्येबाट चार जनाविरुद्ध निवेदन दिएको जानकारी दिएकी छिन् ।

यसअघि चौहानले प्रहरीमा उजुरी दिए पनि कारबाही नै नहुने गुनासो गरेकी थिइन् । प्रहरीले कारबाही अगाडि नबढाएको विषयलाई लिएर नै उनी गृहमन्त्री लेखकसँग भेट्न पुगेकी हुन् ।
पछिल्लो अध्यावधिक: असार १७, २०८२ १२:५९
सामाग्री श्रोत :
टेक पाना